काठमाडौं— आफू चर्चको पास्टर भएको बताउँदै अमेरिका पठाइदिन्छु भनेर पासपोर्टमा अमेरिकाको नक्कली भिसा लगाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर उपमहानगरपालिका–१६ निवासी प्रवेक डंगोल (पावेल) लाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।उनले दोलखा मालिगा–१ स्थायी ठेगाना भएका आङछिरिङ शेर्पासहित ७ जनाबाट आफू चर्चको पास्टर रहेको भन्दै प्रतिव्यक्रि २५ लाख रुपैयाँ दिएमा अमेरिका पठाइदिने भनेर ४७ लाख ५० हजार रुपैयाँ बुझेका थिए। चर्चबाट अमेरिका पठाइदिने भन्दै पैसा संकलन गरेका उनी नक्कली भिषा र टिकट समेत उपलब्ध गराइदिएपछि फरार भएका थिए।
शेर्पा र अन्य पीडितले आफू ठगिएको थाहा पाएपछि प्रहरीमा उजुरी गरेपछि उनी प्रहरी खोजीमा रहेका थिए। बुधबार महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरीले जडिबुटीबाट डंगोललाई पक्राउ गरेको हो। थप अनुसन्धान तथा कानुनी कारवाहीका लागि उनलाई महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ।
प्रकाशित: १९ कार्तिक २०७२ ०५:१२ बिहीबार