'हजुर रिसाउनु नै हुन्न नि त हामीसित। झिँज्जिनुहुन्न, जे सोधे नि मुसुक्क हाँसेर भन्नुहुन्छ। मलाई हजुर अंकल सारै मन पर्छ।' उसले लाडिँदै यति भन्दा लगभग म उसको फ्यान भइसक्या रहेछु।
घरबाट धेरै टाढा कोही आत्मीय व्यक्ति साथ नभएका हामीहरू दिनरात काममै खट्नुपर्थ्यो। उपचार, अनुसन्धान, कक्षा, प्रिजेन्टेसन, बिरामीको मोनिटर... यसैमा घुम्थ्यो दैनन्दिनी। कहिले छत्तीस घन्टा हुन्थ्यो नसुतेको। घरमा फोनमा ढुक्क कुरा गर्न हप्तै कुर्नुपर्ने। व्यस्त दौडधूप। त्यहाँ कसैले अलिकति प्यारो बोल्यो या कसैले अलिकति 'केयर' गरे पनि हृदय गद्गद् हुन्थ्यो। त्यो सानो बच्चाले त्यति भन्दा मलाई मुलुकै जितेझैं भो।
काखतिर तान्दै 'कति बाठो है निभान! चकलेट खानलाई पट्याएको होला मलाई?' भन्दा उसको मुहार पाकोझैं देखिन्थ्यो। टाँस्सिएरै बोल्यो, 'होइन डाक्टर अंकल, मैले चकलेट खान त छोडेँ 'माँ'ले भनेर। कति मन पर्थ्यो तर माँले भनेपछि खान्न नि! मैले माँलाई दुखै त दिन्न!'
हेर्दा मोटी, उमेरले पचपन्न साठीकी बडी–दी साह्रै कोमल मनकी; अनाथ हेर्ने स्नेह–गृहकी सुसारे थिइन्। निभानले बडी–दीलाई 'माँ' भन्थ्यो। निभानका आमाबाउ को हुन्, थाहा नै कसलाई थियो र! मैले अस्पतालमा हिस्ट्री लिने क्रममा बडी–दी भन्थिन्, 'ग्याह्र बजेतिर धुम्मिएको दीवालीको रात स्नेह–गृहबाहिर चिचिलाको आवाज आयो। कल्ले गेटमा फालेर गएछन्, ल्याइयो भित्र। बढेर यत्रो भो। के थाहा भो र जन्म त? छ साल भएछन्। सानैदेखि मेरा काखमा हुर्कियो। यो नभए शून्य हुन्छ मलाई। यसको आमा नि मै! गुरुआमा नि मै! माँ भन्छ मलाई!'
'चकलेट नचाहिए के मागेको त मेरो प्यारो पुड्कु?' मैले काम गर्नै छोडेर गफिन थालेँ।
'बडी! बि–यु–डी–डी–वाई— बडी,' फक्रिँदो गुलाबजस्तो मुहार अनि बालसुलभ हाउभाउसित उसले भन्दै गयो, 'बडी मागेको। नरिसाउनेलाई मात्रै गडले माया गर्नुहुन्छ। हजुर मेरो बडी बन्न फिट। मेरो बडी बन्नुहुन्छ त अंकल?' हात मिलाउन उसले दायाँ हात पसार्योल। म मन्त्रमुग्ध भएँ उसको चमक, चेतना र बोलीको जादुले।
'ओके! ल अबदेखि हामी बडी' भन्दै काखमा लिएर टाँसे। ऊ मक्ख देखिन्थ्यो। म भावुक हुन पुगेछु। धेरै दिनदेखि कसैले नसोधेको हाम्रो जीवन, कसैले नकोट्याएको हृदय जागेझैैं भो। आँखा बग्न थालेछन्। ऊचाहिँ खुर्र दगुर्दै गएर आफ्नो भर्ना–बेडको सिरानबाट बडी–दीले ल्याएको गुरद्वारा (शिख मन्दिर) को प्रसाद 'हलुवा' ल्याएर अलिकति मलाई दिदै भन्यो, 'ल खानुस् अंकल। माँले ल्याउनुभ'को यो गडको प्रसाद त हो नि।' हलुवा मुखमा निल्नै बिर्सेर म आफंैआफंै हराएँछु। त्यो प्रकृतिको गजब शैशव नमुना देखेर छक्क थिएँ। आँखा रसाएकै थिए। उसले नदेख्दै झटपट पुछेँ। उसले काखमा बस्दाबस्दै जोससित सोध्यो, 'गडलाई कसरी भेटिन्छ अंकल? 'बडी' भएपछि मलाई सिकाउनैपर्छ।' रोइरहेको म अवाक् भएँ। उसको अक्षुण्ण अनवरत निस्वार्थ निकटताले म एकोहोरिएको थिएँ।
मेरो एकतमासको मन देखेरै होला उसले तानेर सुनसान उपचार रुममा लगेर नचाउन थाल्यो। उसको उमेरको लेखी ऊ गजब नाच्थ्यो। 'बाबु, मलाई नाच्न आउन्न' भन्दा पनि 'नाच्न त नआए'नि नाच्नपर्छ के अंकल। अनि त खुसी भइन्छ। माँले नि त्यै भन्नुहुन्छ। माँले त सिकाउनुभाको हो नाच्न' भन्दै घुमाउँथ्यो। म नजाने नि घुम्न थालेँ उसकै निर्देशनमा। साँच्चिकै मेरो मन बहलिन थाल्यो। उसको हातसित रिंग्दै गर्दा मेरो मनमा हुन्डरी खेल्यो— एउटा अनाथ, अनि उसलाई छोरासरि हुर्काउने ठूलो मन भएकी बडी–दी; दुवैको जीवनमा केही छैन अरू। न उनीहरूलाई केही इच्छा नै छ। छ त केवल माया। हामीहरू इच्छाले निलेकाहरू— जति नै प्राप्तिपछि पनि अझै असन्तुष्ट हुन्छौं। गौतम बुद्धको मार्गदर्शनको वास्तविक सुखको चित्र देख्थेँ म ती दुईको सम्बन्धमा।
त्यही सुखको तरंग चल्दाचल्दै बडी–दी र निभानको अनान्दातिरेकमा ‰याप्प बादल लायो। थुप्रो दिनको ज्वरो, राति दुखेर रुने, बिस्तारै पेट फुल्ने, रगत सिद्दिएझंै फुस्रो इत्यादि भएर बडी–दीले निभानलाई अस्पताल ल्याएकी। त्यो दिन उसको रोग पक्का गर्न परिक्षण दोहोर्या्इएको थिएँ।
महिनादेखि समस्याबाट पीडित भए पनि निभानको आफ्नै ध्याउन्ना हुन्थ्यो। हरेक दिनको निर्दिस्ट कार्ययोजना। बच्चाको क्यान्सर वार्डको हरेक कुनालाई हुनेगरी टिभी राखिएको थियो। उसको बेडपट्टिको एसी र टिभीको रिमोट हरबखत उसकै हातमा हुन्थ्यो। कसैले च्यानल बदल्न खोजे दिन्नथ्यो। च्यानल बदल्नै परे आफ्नै हातले बदल्थ्यो। वरिपरिका अरू बिरामी बच्चासित हात मिलाउँदै 'साथी' भन्दै केके पढाउँथ्यो। कहिले डाक्टरले झैं हातमा दल्ने 'स्यानिटाइजर' दलेर वरपर बेडको बिरामीको नाकको अक्सिजन प्रोंग मिलाइदिन्थ्यो। आफूजत्रै बच्चालाई मसार्दै 'अलिकति मात्रै दुक्छ नरोऊ है' भन्थ्यो हामीले रगत तान्दा। हामीहरू तेस्रो फ्लोरतिर जान लागे टुप्लुक्क आइपुग्थ्यो— देब्रे हातको कान्छी औंला समात्न। अनि चिटिक्कका चप्पल प्याट्प्याट् पार्दै ज्ञानी बालकझैं स्टलसम्म लान्थ्यो। अनुहारमा हेरेर मुसुक्क मुस्काउँथ्यो। बुझिहालिन्थ्यो— उसको माग के हो। उसको मिठाइको फर्माइस पूरा गरेपछि सधैं मिठाइको अलिकति भाग किन्दिनेलाई नै ख्वाउँथ्यो। कैले रेसिडेन्टहरूसित लुकामारीझैं गर्थ्यो। कहिले ‰यालबाट बाहिरको रंगमञ्च त कहिले तारा देखाउन लान्थ्यो तानेर। रंगीबिरंगी पेन्सिलले हाम्रो उमेर सुहाउँदो चित्र कोर्दै 'ल हेर्नु डाक्टर हजुर' भन्दै देखाउन आउँथ्यो। थरीथरी पोज दिएर सबका मोबाइलमा फोटो खिचाउँथ्यो। उसको फोटो नभएको सायद कसैको मोबाइल थिएन। जस्तै मूड बिग्रेकाको पनि मुड सद्दे बनाउँथ्यो ऊ। पूरा वार्डको प्यारो निभान! पूरा वार्डको मुस्कान।
केही अघिसम्म मेरो लागि 'एक बिरामी निभान' त्यति बेला 'बडी' बनेर मेरो काखमा टाँसिएकै थियो। म पनि उसप्रति भावुक हुदै थिएँ। प्याथोलोजीबाट रिपोर्ट आयो। 'कन्फर्मेसन'लाई गरिएका निभानका सारा टेस्टले ल्युकेमिया भन्ने रक्तक्यान्सर देखाए। बडी–दी काँप्दै मेरोसामु उभिइन्। 'त्यही नै छ दिदी। ल्युकेमिया!' मैले अवरुद्ध गलासितै भनेँ। घँुक्कघुँक्क सारीको सप्काले आँसु पुछ्दै बडी–दी बेडतिर लागिन्। निभानले अनुमान लगायो कि क्यान्सर भएको पक्का भो। तर रोएन। बडी–दी रोएको ठाममा गएर टाँस्सियो। सुस्त भन्यो, 'मलाई किन भएको होला है क्यान्सर, माँ?' उत्तर त उनीसित पनि थिएन। सम्झाउँदै भनिन्, 'यो तिम्रो गल्तीले होइन बाबा! सब भगवानको कन्ट्रोलमा छ। हामीलाई थाहा हुन्न।'
कुन्नि के सोचेर उसले सुरुसुरु गएर सिरानबाट सधैं आफैं राख्ने रिमोट झिकेर ल्याएर टिभीसामु राख्दियो, 'कन्ट्रोलमा राखेको नजाती हुँदो रै'छ! म अबदेखि कहिल्यै रिमोट कन्ट्रोल लिन्नँ।' म उसको उच्च बल–चेतनासामु मूक बनेर हेरिरहेँ। मलाई नरोएको उसको सामु आफ्नै आँसु लुकाउन हम्मे परेको थियो। म निरुत्तर निसहायझैं लुरुलुरु निभानतिर गएँ।
निभान बडी–दीलाई सोध्दैथ्यो, 'किन होला है माँ, ममात्रै गडको कन्ट्रोलमा?' आँसुमा डुबेकी बडी–दी बोल्न सकिरहेकी थिइनन्। अर्को कुनाको छारेरोग भएको बच्चालाई देखाउँदै मैले भनेँ, 'हेर त ऊ त्यो तिम्रो दाइलाई। उसलाई नि सानैदेखि क्यान्सर साथै शरीर काँपेर बेहोस भई ढल्ने रोग छ। उसलाई थाहा नि हुन्न कति बेला ऊ अचानक ढल्छ भनेर। कसको जिउ कन्ट्रोलमा कहाँ छ र बाबा?' फेरि मेरो मुखबाट मेरो आत्मीय शब्द 'बाबा' निस्क्यो। टुक्रुक्क खाटमा बसेको म अर्कातिर फर्कंदा तप्प आँसु आइसकेछन्। निभान अब मेरो गहिरो साथी भइसकेको थियो।
त्यो साँझ मैले बिरामीहरूको राउन्ड लिँदा ऊ म सँगसँगै हिँडिरह्यो। हरेक बेडपछि 'उसलाई के भा'छ' र 'बचाउन सक्छौ कि सक्दैनौ' सोध्न भुल्दैनथ्यो। मैले बच्चाले बु‰नेगरी मिल्नेजति भनिदिन्थेँ। हरेक बेडमा ऊ पर्यवेक्षकझैं पुग्थ्यो। आफैंलाई ल्युकेमिया भए पनि जम्मैलाई 'औषधि खानपर्छ नि बाबै' भन्दै हिँड्थ्यो ऊ।
'म कति बाँच्छु त नि!' अचानक उसले मलाई सोध्यो। मेरो छाती ढक्क फुल्यो। र पनि भनेँ, 'तिम्लाई हामी औषधि चलाउँछौं। तिमी पूरै ठिक हुन्छौ।' केमो उपचार चलाए पनि साठी प्रतिशतमात्रै बाँच्ने कुरा उसलाई मैले भनिनँ। अनि उपचारका क्रममा थुप्रै जटिलता आएर हुने मृत्यु पनि मैले भनिनँ।
ऊ ममाथि ठूलो विश्वास गर्दै लाडियो, 'माँ नि भन्नुहुन्थ्यो हँसिलो स्मार्ट डाक्टरले त्यसै ठिक पार्दिन्छन्, बिमार। आई लभ यु अंकल।'
'लभ यु टू!' मैले मोनिटर हेर्दै उत्तर फर्काएँ। निभानलाई म खै किन यति पर्फेक्ट लागेँ। तर ऊचाहिँ यस्तो बच्चा थियो— जसले एक वाक्यमा सबको मन लोभ्याउँछ।
सरकार र स्नेह–गृहको सहयोगमा बडी–दीले स्याहार गर्नेगरी पर्सिपल्टबाट सुरु गरियो निभानको केमो–उपचार। उपचारले गलाउँदै गए पनि बोल्न उसलाई रोकेर सकिन्नथ्यो। म पनि उसको दैनिक जीवनको अभिन्न पाटो भइसकेको थिएँ। मलाई बडी–दीले ग्लासभरि दूध नखुवाएसम्म आफूले बेलुकाको खाना खान्नथ्यो। पातलो तौलिया ढाडमा बाँधेर नाच्थ्यो बेडमा। गल्दै गएपछि भन्थ्यो, 'अब पछि ठिक भएपछि नाच्ने है, अंकल! नाच्यो भने कसैको कन्ट्रोलमा हुन्न। आफ्नो कन्ट्रोलमा मात्रै।' हुन पनि हो। हामी आफ्नै मनले कति पो बाच्छौं र? कति पो निर्धक्क आफ्नै दुनियाँमा उड्छौं र? 'अरूले के भन्ला' कै चिन्ता हुन्छ हामीलाई।
वार्डको व्यस्त कामले हरदम तनावमा रहने मेरो मन त्यो प्यारो साथी देखेर बहलाउँथ्यो। हामी सद्दे शरीर भएकाहरू असन्तुष्टिले झोक्राएका बेला क्यान्सर भा'को निभान बेफिक्री थरीथरीका पोज दिएर फोटोको लागि टक्रिन्थ्यो। मुर्छा पर्नेगरी हाँस्थ्यो। बेडमाथि सुईले छेडेका हात हल्लाउँदै नाच्थ्यो। वार्ड कोरिडोरमा भाग्दै कतिलाई बोलेर लठ्याउँथ्यो। यस्तो लाग्थ्यो कि ऊ भनिरहेछ— जीवन जिउन कहीँ जान पर्दैन। स्वतन्त्र उडान यहीँ गर्न सक्छौं; उड। मन परेको पल आजै सिर्जना गरी आजै जिऊ। पाकोको कृत्रिम जीवन होइन प्राकृतिक एक बच्चा भएर जिऊ!
उपचारको पहिलो भाग सकिने बेलातिर निभान तंग्रिन थाल्यो। पहिलेझैं बुरुकबुरुक उफ्रिने भयो। लाडिन आउने भयो। यो र त्यो सोधेर हैरान बनाउने भयो। आएर टाँस्सिएर आफ्नै दर्शनशास्त्र पढाउने भइसक्यो। अस्पतालबाट टाढा रहँदा संक्रमण भएमा खतरा हुने हुँदा नजिक धर्मशालामा बस्थे पहिलो भाग उपचार सकिएकाहरू। म समय मिलाएर भेट्न जान्थेँ। अलि दिन भएमा ऊ रुन्थ्यो— यत्तिका दिन किन नआ'को भन्दै। हरेकचोटि माँ छिर्नासाथ पिलन्धरे भएको शरीरसितै सकेको दौडिँदै मँसग टाँसिन्थ्यो। अनि हात समाएर नचाउँथ्यो। दिनभरको दुःख भुल्थेँ म त्यस बेला। मैले लगेका हरेक चिज उसका स्पेसल हुन्थे। कन्तुरमा राख्थ्यो जतनसित।
जुलाईपछि मेरो पोस्टिङ क्षेत्र बदलियो। म क्यान्सर वार्डभन्दा धेरैपर अर्को बिल्डिङ पुगेँ। निभान डे–केयरमा आउँदा नि भेट्न पाउन छोडेँ। म अतालिन थालेँ असेटले। व्यस्त कार्यतालिकाले गर्दा बेलामा खान सुत्न नि पाइन्ननथ्यो। एक दिन धर्मशालाबाट बोलावट छ भन्ने खबर पाएँ। भोलिपल्टसम्म भ्याउनुपर्ने थुप्रै काम थिए। तैपनि धर्मशाला भन्नेबित्तिकै निभान र बडी–दी को यादले तान्यो। तुफान गतिमा पुगेँ त्यहाँ। केमोले खाएको पिलन्धरे जिउसित निभान काखमा आयो र 'ह्याप्पी बर्थडे अंकल!' भन्दै एउटा कार्ड दियो। जन्मदिन कहिले आयो गयो, ख्यालसमेत नहुने मजस्तालाई यस्तो सरप्राइज अनमोल लाग्यो। घरबाट टाढा पनि छुट्टै विशेष घर पाएझंै भो। कार्ड खोलेर हेरेँ— निभान आफैंले बनाएको अति सुन्दर पेन्सिल चित्र; बडी–दी र मेरो बीचमा निभान। अनि बीचमा एक जल्दो मैनबत्ती! तल उसकै हस्ताक्षरमा एक लाइन 'अरूलाई उज्यालो दिन आफंै जल्नुपर्छ!'
मेरा आँखा रुझेर आँसु गिरे त्यही फोटोमा। त्यो मेरो बहुमुल्य र एकमात्र बर्थडे उपहार थियो। मेरो 'बडी'ले आफू गलेर पनि मलाई जीवन सिकाएको थियो।
पानी झन् बर्सिंदै थियो। त्यो दिन निभान पानीमा रुझ्न खुब रहर गर्यो्। 'बिरामी भइन्छ बाबु,' बडी–दीले सम्झाइन्।
'ल माँ, म मरेँ भने को रुझ्छ फेरि पानीमा? हजुर रुझ्न नछोड्नु है पानीमा। म खुसी हुन्छु। अहिलेचाहिँ म हेर्छु मात्र,' यसो भन्दै टुलुटुलु झ्यालबाट बाहिर हेर्न थाल्यो उसले। उसलाई 'त्यस्तो भन्ने होइन बाबु, तँलाई सन्चो हुन्छ अनि रुझ्लास् है' भने पनि मनमनै 'पानीले होइन आँसुले त रुझेका छौं नि बाबु हामी' भनेको भान हुन्थ्यो बडी–दीको चेहराबाट। मलाई भने कताकता निभानलाई लिएर रुझ्न मन लागेको थियो। किन हो कुन्नि, उसका सारा इच्छा पूरा गर्दिऊ झैं हुन्थ्यो। रुझ्न नपाएपछि उसले बर्थडे उत्सवस्वरूप गुरद्वारा लगिदेऊ भन्यो। उसको इच्छा काट्न नसकेर बडी–दी र मैले गुरद्वारा पुर्यापयौं। निभान पाको मान्छेजस्तै धेरै बेर जम्लाहात गरेर पूजामा बस्यो। सधैंझैँ के माग्यौ भन्दा उसको उत्तर थियो— 'खुसी।'
बीचमा 'ज्वरोसितको न्युट्रोपेनिया' लिएर थुप्रैपटक भर्ना भो निभान। म पोस्टिङ परिवर्तन, बढ्दो कार्यभार, प्रिजेन्टेसनहरूको कारण धेरै समय वार्डमा सँगै हुन पाइनँ। तर रोग र औषधिले गलेको उसको ज्यानमा इच्छाशक्ति सधैं उत्तिकै दुरुस्त हुन्थ्यो। निभानले व्यस्तताबीच पनि हाँस्न सिकाउँथ्यो।
निभानको असली जन्मदिन थाहा थिएन तर बडी–दीले स्नेह–गृहमा भेट्दाको दिनको नाइटो हेरेर अनुमानले दिवाली तीन दिनअघि अक्टोबर दुईका दिनलाई जन्मदिन बनाएकी थिइन्। मैले ठूलै तयारी गरेको थिएँ चुपचाप। सरप्राइज सोचेर मोबाइल स्वीचअफ राखेँ। उपहार पसलेले सोध्दैथ्यो, 'छोरालाई हो?' मैले आफ्नै सुरमा भनँे, 'हजुर, अपूर्व छोरालाई!' राति बाह्र बजेको उत्सवलाई सामान अनि गुरद्वाराको निभानको प्रिय प्रसाद हलुवा लिएर म अबेर राति धर्मशाला पुगेँ। ताला मारेको रहेछ कोठामा। मेरो हातखुट्टा गलिहाल्यो। स्वीचअफ गर्ने आफ्नै अक्कललाई धिक्कार्दै रिक्सा लिएर क्यान्सर वार्ड पुगेँ। लड्ने सेता रक्तकोष कम भएर ज्वरो र अनियन्त्रित पखालाका कारण निभान आइसियुमा पुर्यााइएको रहेछ। सासको नलीमा पाइप हालेको अचेत निभान। मेरो सानो बडी।
मलाई देख्नासाथ बडी–दी घुँकघुँक्ती थालिन्। गहभरि आँसु पार्दै भनिन्, 'होस रहुन्जेल धेरै फोन गर्योभ बाबु।' मेरो आँसु रोकिएन। चकमन्नतामा भेन्टिलेटरको टुइँटुइँबीच मेरो निभान जाँदै थियो— जकडिएको जिन्दगीदेखि। निभानले आँखा खोल्ने कुनै संकेत थिएन। अचेत पहुँन मात्र अडिएको निधार, हत्केलामा छोएँ। नाडी मन्द थियो। मेरो बडी, मेरो दार्शनिक पुड्कु, मेरो जीवनद्रटाको अन्तिम समय साथ हुन पाइनँ। होस् छँदै हात समातेर 'बाबा' भन्न पाइनँ। मैले धेरै चाहेँ— कमसेकम उसलाई एक जन्मदिन मनाएर खुसी दिऊँ। कमसेकम उसलाई मन पर्ने एउटा दिवाली झिलिमिली पारूँ। तर प्रकृतिलाई त्यो सह्य रहेनछ। निभानको फेबरेट गुरद्वाराको प्रसाद खल्तीमै थियो, मेरो प्यारो 'बडी' ठिक मध्यरातमा यो दुनियाँ छोडेर बिदा भयो। सायद जुन दिन जन्मेथ्यो— भगवान्ले त्यही दिन छिने त्यो आत्मा धर्तीबाट। एक अपूर्व आत्मा!
बडी–दी तीन दिनपछि स्नेह–गृह गइन्। जसलाई छोरोझैं पालिन्, उसले छोडेर गयो।
बडी–दीलाई सम्झाएर पठाए पनि धेरै दिन मेरो आफ्नै मन ठेगानमा रहेन। खान, हिँड्न, पढ्न केही गर्न मन हुँदैनथ्यो। हरबखत मलाई उसको बर्थडेका उपहार अनि आइसियुमा देखेको उसको अन्तिम अचेत सासहरूले ऐँठन गराइरहे। अचानक तन्द्रामा निभानले मुस्कुराउँदै बोलेझैं भो, 'ओ बडी! तिमी त कसैसित रिसाउन्नौ! गडसित किन रिसा'को? उठ। तिमी मुस्कानसितको डाक्टर। मस्त वर्षामा फील गरेर रुझ। झ्यालबाट तारा हेर। वार्डमा थुप्रै निभानको 'बडी' बन!'
म अचानक उठेँ। सारा उपहार सामान धर्मशालाका अरू बच्चालाई बाँडे। एक शिशु साथीले हर चेतनमा अहिले पनि जीवन सिकाइरहन्छ। फेरि पनि 'औषधि खानुपर्छ है' भन्दै अस्पतालको बेड–बेड मुस्कुराउँदै हिड्ने 'मेरो प्यारो बडी' खोज्न पुग्छु वरपर। सिरानबाट उसले बनाएको 'पेन्सिल चित्र' निकाल्छु, टोलाउछु। आँखा रसाउँदा अनायास बोल्न पुग्छु, 'आई मिस यु बडी। बी–यु–डी–डी–वाई— बडी!'
प्रकाशित: २२ आश्विन २०७२ २२:१८ शुक्रबार





