जब देशमा संकट पर्छ, विकल्पको खोजी हुन्छ। भारतले अघोषित नाकाबन्दी गरिरहेका बेला यहाँ वैकल्पिक इन्धनबारे चर्चा भइरहेको छ। अभावमा केही समय चर्चा हुन्छ, पछि सेलाउँछ– यो पुरानै नियति हो नेपालको।
वार्षिक ७ लाख किलोलिटर पेट्रोलियम पदार्थ भारतबाट आउँछ। भारतनिर्भर छ इन्धनमा नेपाल।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकुलपति जीवराज पोखरेल नेपालीहरूलाई भुलक्कड विद्यार्थीसँग तुलना गर्छन्। '२०४५ सालमा भारतले नाकाबन्दी लगाएपछि प्रधानमन्त्री मरिचमान सिंहकै पालामा जैविक इन्धनको विषय उठेको थियो,' उनी भन्छन्, 'त्यो कुरा कता पुग्यो, घोकन्ते विद्यार्थीजस्तो एकछिनमै बिर्सिहाल्ने हाम्रो बानी छ।'
त्यसबेला अनुसन्धानका लागि उठेको कुरा १३ महिनाको नाकाबन्दी खुलेपछि हरायो। जैविक इन्धन उत्पादनमाथि भने नास्टले चार वर्षदेखि अनुसन्धान गरिरहेको छ। वरिष्ठ वैज्ञानिक रविन्द्रप्रसाद ढकालका अनुसार नेपालमा जैविक इन्धनको सम्भावना उच्च छ। 'कुनै पनि बीउबाट तेल निकाल्न सकिन्छ,' उनी भन्छन्, 'डिजेल बनाउन सकिने कच्चा पदार्थको पनि यहाँ अभाव छैन।'
कसरी बन्छ जैविक इन्धन
युरोप–अमेरिकामा धेरैअघि नै सजिवनको तेलबाट डिजेल उत्पादन गरिसकिएको भए पनि नेपालमा नास्टले चार वर्षदेखि यसको उत्पादन र परीक्षण गरिसकेको दाबी गरेको छ। प्रयोग भइसकेको तेल (रोटी, माछा, मासु तारेको) अर्थात् सजिवन र अडिरको तेलमा अल्कोहल, चट्टानको मिश्रण हुन्छ। मिश्रणबाट बायोडिजेल बनाउन सकिने वैज्ञानिकहरू बताउँछन्।
उत्पादित बायोइन्धन २० प्रतिशत, ८० प्रतिशत पेट्रोलमा मिसाएर गाडी चलाउन सकिन्छ। गाडीको इन्धन परिवर्तन नगरी २० प्रतिशत बायोइन्धन राखेर गाडी चलाउन सकिने नास्टका वैज्ञानिक रविन्द्रप्रसाद ढकाल बताउँछन्। चार वर्षदेखि नास्टले यो प्रयोग गरिरहेको छ। उनका अनुसार यसले वातावरणीय पक्षमा कुनै असर पुर्यादउँदैन।
विज्ञानलाई आधार मान्दा कार्बन र हाइड्रोजन मिलेर डिजेल बन्छ। जैविक तेलमा अक्सिजन, कार्बन र हाइड्रोजनको संयोजनले जैविक इन्धन उत्पादन गर्न सकिन्छ। आफैंमा अक्सिजन भएकाले यसले कार्बनडाइअक्साइड फाल्छ। तर, वातावरणमा कुनै असर नपार्ने ढकाल दाबी गर्छन्। स्थानीय वातावरणमा हुर्केका बिरुवाबाट निस्केको तेलबाट बन्ने भएकाले पनि वातावरणलाई सघाउने भएकाले यसको उत्पादन गर्न उनी सुझाउँछन्।
जैविक इन्धन उत्पादन गर्न सके स्थानीय किसानद्वारा उत्पादित बीउ देशमै खपत हुन्छ। रोजगारीको अवसर बढ्छ। पेट्रोलियम पदार्थ खरिदमा बाहिरिने रेमिट्यान्सको बचत हुन्छ। इन्धन संकलन गर्न सकिन्छ।
पकाउँदा खेर जाने २ लाख टन तेल देशमै वार्षिक रूपमा संकलन गर्न सकिने ढकालले गरेको एक अध्ययनले देखाउँछ। 'देशमा १९ लाख हेक्टर जमिन बाँझो छ। त्यसमा हामी सजिवन खेती गर्न सक्छौं,' उनी आशावादी छन्, 'मलेसियाले युरोपलाई बायो डिजेल बेचेजस्तै राम्रो गर्न सक्यौं भने हामी पनि डिजेल बेच्न सक्ने अवस्थामा पुग्छौं।'
सजिवनको बिरुवा रोपेको ६ महिनादेखि कम्तीमा २ वर्षसम्ममा दाना फल्न थाल्छ। १५ सय मिटरसम्मको भौगोलिक उचाइमा यो फस्टाउँछ। १ हेक्टर जमिनमा २ टन सजिवन उत्पादन गर्न सकिने ढकाल अनुमान गर्छन्। राम्रोसँग खेती गर्न सकेमा ७/८ वर्षभित्रमै १० लाख टन खपत गर्न सकिने सम्भावना देखाउँछन् उनी।
सजिवनमात्र होइन, चिउरी, रिठाजस्ता तेलहन पदार्थबाट निस्कने जुनसुकै तेल कच्चा पदार्थको रूपमा प्रयोग गर्न सकिन्छ। यसलाई सस्तो बनाउन सकेमा पेट्रोल, डिजेलको भाउसँग प्रतिस्पर्धा गर्न सकिने वैज्ञानिक ढकालको भनाइ छ। 'नास्टले प्रयोग गर्ने जेनेरेटर यहीँ उत्पादित बायोडिजेल मिसाएरै चलिरहेको छ,' उनी दाबी गर्छन्, 'हामीकहाँ भएको उपकरण र कच्चा पदार्थबाट दैनिक ३० लिटर बायोडिजेल उत्पादन गर्न सकिन्छ।'
स्थानीय उत्पादनबाटै बायोडिजेल निकाल्न सकिने भए पनि राज्य अग्रसर नहुँदा प्रगति गर्न नसकिएको गुनासो गर्छन्, नास्टका उपकुलपति जीवराज पोखरेल। 'हामीसँग विकल्प, स्रोतसाधन, उपकरण हुँदाहुँदै पनि राज्यले बेवास्ता गरिरहेको छ,' उनले तितो पोखे, 'लामो समयदेखि यही क्षेत्रमा काम गरिरहेका विज्ञहरू नेतृत्व तहमा पुग्न सक्दैनन्, पुगेकाहरूमा वैज्ञानिक चेत छैन।'
प्लास्टिकबाट डिजेल
फालिएका प्लास्टिकबाट पनि डिजेल निकाल्न सकिन्छ। यो पुरानो प्रविधि हो। बागमती नदी सफाइका क्रममा निस्केका प्लास्टिकलाई पुनर्प्रयोग गर्ने बहस चलिरहँदा नास्टले यसको विकल्प सारेको थियो। वैज्ञानिक ढकाल भन्छन्, 'प्लास्टिकबाट डिजेल निकाल्न उपकरणको लागि टेन्डर भइरहेको छ।'
अन्य देशमा प्लास्टिक बाहिर फाल्नुपरेको छैन। प्लाष्टिकमा प्रतिबन्ध लगाइएको पाइँदैन। काठमाडौंमा बेलाबेला प्लास्टिक झोला प्रतिबन्ध लगाउने चर्चा भइरहन्छ। यस्तो बेला दूध, चाउचाउका पोका प्रतिबन्ध लगाउन सम्भव हुन्न। 'प्लास्टिकलाई पुनर्प्रयोग गर्न सकिन्छ तर सरकारी तवरबाटै पहल हुन सकेको छैन,' ढकालले भने, '१ किलो प्लास्टिकबाट ७ सय एमएल डिजेल निकाल्न सकिने सम्भावन हुँदाहुँदै किन चासो दिइन्न?'
प्रकाशित: १५ आश्विन २०७२ २०:२७ शुक्रबार





