२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

‘एमालेको प्रतिस्पर्धी नै छैन, झापाका पाँचै सिट जितेर ‘क्लिन स्विप’ गर्छौं’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीको कुनै मुख्य प्रतिस्पर्धी नरहेको दाबी गरेका छन्।

उनले झापा जिल्लाका सबै निर्वाचन क्षेत्रमा एमालेले जित निकाल्दै ‘क्लिन स्विप’ गर्ने उद्घोष समेत गरे।

मंगलबार झापा निर्वाचन क्षेत्र नम्बर-५ मा उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले एमालेको जित सुनिश्चित रहेको बताए।

झापामा एमालेको नतिजा कस्तो हुन्छ भनी संचारकर्मीले सोधेको प्रश्नमा उनले ब्यङ्ग्यात्मक शैलीमा भने, ‘झापामा चाहिँ हामी पाँचवटा क्षेत्र मात्रै जित्छौं, ६ वटा जित्दैनौं। किनभने यहाँ पाँचवटा मात्रै क्षेत्र छन्।’

विपक्षी दलहरूसँगको प्रतिस्पर्धाबारेको जिज्ञासामा अध्यक्ष ओलीले एमालेको वास्तविक प्रतिस्पर्धी नै नरहेको जिकिर गरे। ‘एमालेको प्रतिस्पर्धी म देख्दिनँ, खास प्रतिस्पर्धी नै छैन,’ ओलीले भने, ‘हल्ला हुनु बेग्लै कुरा हो, तर चुनावी नतिजा एमालेकै पक्षमा हुनेछ।’

उनले नेपाली कांग्रेस वा अन्य गठबन्धनलाई आफूले बलियो प्रतिस्पर्धीका रूपमा नलिएको स्पष्ट पारे। अघिल्लो निर्वाचनमा प्रतिस्पर्धीभन्दा दोब्बर मतले जितेको स्मरण गराउँदै उनले यसपटक मतान्तर अझ फराकिलो हुने दाबी गरे।

‘पहिले साढे २८ हजार मतान्तरले जितेका थियौं, यसपटक त्योभन्दा बढी मत र फराकिलो अन्तरले जित्छौँ,’ उनले विश्वास व्यक्त गरे।

प्रकाशित: ६ माघ २०८२ १७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App