'मलाई त पहाडी र थारू उत्तिकै समान लाग्छन्,' मीनाले भनिन्, 'मन र भावना मिलेमा कोही पनि बिरानो हुँदैन।' वर्षौंदेखि दुःख–सुख बाँडेर सँगसँगै बसेका थारू र पहाडी समुदायबीतको सम्बन्ध टाढा हुन नसक्ने उनी बताउँछिन्।
३७ वर्षीय चिरन जोशी पनि दुर्गौली–३ स्थित थारू बस्तीमा रहेका ससुराली घर गइरहन्छन्। हरेक दिनजसो ससुरा भद्रवीर चौधरीसँग उनको भलाकुसारी भइराख्छ। 'हामी फोनमा पनि कुरा गर्छौं,' चिरनले भने, 'घरव्यवहार, दुःख–सुखबारे चासो लिएर सोध्नुहुन्छ। मलाई त आफू अलग समुदायको हुँ जस्तो महसुस नै हुँदैन।'
वर्षौंदेखि एकै समाजमा सँगसँगै बसिरहेका थारू र पहाडी समुदायबीचको सम्बन्ध कति गहिरो र अन्तर्घुलित छ भन्ने उदाहरणको प्रतिनिधि पात्र हुन्— चिरन र मीना।
विवाह गर्दा पनि यो जोडीले समस्या झेल्नुपरेन। दुवै पक्षका अभिभावकले बिहेका लागि मन्जुरी दिएपछि खुसीसाथ विवाह सम्पन्न भयो। 'मन मिलेपछि जात र समुदायले फरक पार्दैन। सबैलाई बोलाएर खुसीसाथ छोरी अन्माएको हुँ,' दुर्गौली गाविसका पूर्व उपाध्यक्षसमेत रहेका मीनाका बुवा भद्रवीर भन्छन्, 'अहिले छोरी पनि खुसी छे, हामी झन् खुसी छौं।'
ठाउँठाउँमा छुट्टै प्रदेशको माग गर्दै आन्दोलन चर्किरहे पनि मर्दापर्दा एक–अर्कालाई साथ दिँदै आएको पहाडी र थारू समुदायम गहिरो सम्बन्धकै कारण सामाजिक सद्भाव खलबलिएको देखिँदैन। 'हामी दुई समुदायबीच नराम्रो छैन,' दुगौली– १ का बुद्धिजीवी मोहन उपाध्याय भन्छन्, 'समुदायमा एक–आपसमा वर्षौंदेखिको नाता–सम्बन्ध छ। त्यो सद्भाव अहिलेसम्म कायमै छ।'
नेतृत्वमा रहेका केही व्यक्तिले आफ्नो राजनीतिक स्वार्थ पूरा गराउन समुदायबीच फाटो ल्याउने काम गरिरहेको उपाध्याय र भद्रवीर चौधरीको बुझाइ छ।
थारू र पहाडी समुदायबीचको सम्बन्धमा ठूलो पर्खाल र समाजिक दुरी रहेको भनेर हल्ला गरिए पनि वैवाहिक सम्बन्ध लगायतका सामाजिक कार्यमा उनीहरू सँगसँगै छन्। यसैको उदाहरण हो– पशुपति बिनाडी र कुवेर चौधरीको विवाह।
जोशीपुर–६ का बाहुनकी छोरी पशुपति बिनाडी र थारूका छोरा कुवेर कुस्मी चौधरीको विवाह धुमधामका साथ भयो। ती दुई समुदाय अहिले मिलेरै बसेका छन्। 'मैले चौधरीसँग बिहे गरेँ, म त खुसी छु,' पशुपतिले भनिन्, 'जातमा के राखेको छ र, मान्छे सबै एउटै त हो।'
कैलालीमा घरपरिवारकै स्विकृति लिएर वैवाहिक बन्धनमा गाँसिएका यस्ता जोडी कैयौं छन्। नाता र सम्बन्ध गाँस्न मितेरी नाता लगाएर नजिक हुनेहरूको संख्या पनि कम छैन। अहिलेको जमानामा जातजाति भनेर आपसमा मतभेद र द्वेष सिर्जना गर्नु राम्रो नहुने कुवेरको भनाइ छ। 'हामी सबै भगवान्का सन्तान हौं, जात छ भने महिला र पुरुषमात्र दुईथरी छ,' उनी भन्छन्, 'कोही चौधरी, मधेसी र कोही पहाडी भनेर छुट्याउनुभन्दा पनि हामी सबै एकै दाजुभाइ हौं भन्ने सोच राख्नुपर्छ।'
टीकापुर नगरपालिका–६ शंकरपुरका युवा दिनेश खत्री पनि कुवेरको जस्तै भनाइ राख्छन्। 'हिजोसम्म हामी आफ्नै दाजुभाइझैं मिलेर बसेका थियौं,' उनले भने, 'उनीहरूको दुःखमा हामीले साथ दिनुपर्छ, हाम्रो समस्यामा उनीहरू आइपुग्छन्। योभन्दा ठूलो सद्भाव के होला र।'
थरुहट प्रदेश माग गर्दै आन्दोलन चलिरहेका बेला चिरन जोशीले त आफ्नो आँगनमै विरोधसभा गर्न लगाएछन्। 'सामाजिक सद्भावको राम्रो सन्देश जाओस् भनेरै यसो गरेको हुँ,' उनले भने, 'पहाडीको आगनमा थरुहटको विरोध सभा हुनुले पनि समुदायका बासिन्दाबीच समस्या छैन भन्ने देखाउँछ।'
धनगढी नगरपालिका–६ जालीको गोलघोरमा भेटिएका हरिप्रसाद चौधरी र गणेश श्रेष्ठले हिजोका दिनजस्तै समुदायमा सम्बन्ध र अत्मीयता उस्तै रहेको बताए। 'हाम्रो वडामा करिब ४ सय परिवारमा सय बढी पहाडी समुदायका छन्, दुवै समुदायबीच पुरानै सम्बन्ध र व्यवहार छ,' उनीहरू भन्छन्,'हामी त मिलेर बसेका छौं, केही असर परेको छैन।'
जातीय सद्भाव बिगारेर राजनीतिक निहित स्वार्थ चाहनेबाट सद्भाव बिग्रन सक्ने खतरा रहेको केही विश्लेषकहरू बताइरहेका छन्। थारू समुदायको नेतृत्व यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेताहरूबाट नभई मधेस केन्द्रित दलको हातमा गएपछि स्थिति बिग्रन थालेको उनीहरूको भनाइ छ। 'समुदाय स्तरमा दुवै पक्ष मिलेर बस्न चाहेका छन्, थारूका नेता पनि सद्भाव नबिग्रियोस भनेर सचेत छन्,' स्थानीय बुद्धिजीवी प्रमोद पाठक भन्छन्, 'यिनीहरूको नेतृत्व गरिरहेका मधेसी दलका कारण थप समस्या आउने हो कि भन्ने खतराचाहिँ छ।'
थारू नागरिक समाजका सदस्य रामदास चौधरी भने सद्भाव बिग्रन नदिन राज्यस्तरबाटै ध्यान दिनुपर्ने बताउँछन्। 'सद्भाव बिग्रिसकेको छैन, तर यो खलबलियो भने परिणाम भयानक हुन सक्छ,' दुर्गौलीका जगतबहादुर चौधरी भन्छन्, 'यो अवस्था आउन नदिन दुवै पक्षका नेताहरूले स्वार्थ त्यागेर जिम्मेवार बन्नुपर्छ।'
स्थानीयवासीको सुझावलाई ध्यान दिने हो भने नागरिक समाजका अगुवाहरू यति बेला सद्भावको सन्देश बोकेर बस्ती–बस्ती जानुपर्छ। कतिपय भन्छन्, 'सद्भाव बिगार्न खोज्नेहरू पैसाको बिटो बोकेरै सक्रिय रूपमा लागेका छन्।'
नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा समाजिक अगुवा गोपाल हमालले पनि यस्तो सुइँको पाएका रहेछन्। 'आन्दोलन गर्नका लागि मोटो रकम आएको छ, केही संस्थामार्फत त्यो सञ्चालित छ,' उनले भने, 'त्यो तत्काल रोक्नेतिर हामी लाग्नु जरुरी छ।' घरव्यवहार चलाउन मात्र नभई जातीय सद्भावको डोरी चुँडिए व्यापार, व्यवसाय र उद्योगधन्दामै ठूलो नोक्सानी हुने उनी बताउँछन्।
सुदुुरपश्चिम विश्वविद्यालयका रजिष्टार डा. हेमराज पन्त विश्वमै जातीय द्वन्द्व सबैभन्दा खतरनाक हुने भएकाले त्यतातिर उन्मुख हुन नदिन सचेत प्रयास हुनु आवश्यक रहेकोमा जोड दिन्छन्। 'समाजमा वर्षौंदेखि मिलेर बसेका थारू र पहाडी आपसमा सम्बन्ध झन प्रगाढ बनाउन चाहन्छन्,' उनको बुझाइ छ, 'बाहिरबाट आएका नेतृत्व वर्गले भने यो सम्बन्धमा भाँजो हाल्न उक्साइरहेका छन्।'
तथ्यांक कार्यालय दिपायलका अनुसार सुदूरपश्चिमको २५ लाख ५२ हजार ५१७ जनसंख्यामध्ये थारूको संख्या ४ लाख ३४ हजार ३०४ छ। यो पूरै जनसंख्याको करिब १७ प्रतिशत हो।
थरुहट/थारूवान संयुक्त संघर्ष समिति कैलालीका संयोजक लाहुराम चौधरी पनि आफूहरूको आन्दोलन कुनै समुदायविरोधी नभएको प्रस्ट्याउँछन्। 'थरुहट आन्दोलन राजनीतिक अधिकारका लागि राज्यसँग गरिएको लडाइँ हो,' उनी विश्वस्त छन्, 'सामाजिक सद्भाव बिग्रन नदिन हामी सचेत छौं। भोलि जुनै प्रदेशमा रहे पनि सबै मिलेर बस्नुको विकल्प छैन।'
प्रकाशित: २५ भाद्र २०७२ २२:१२ शुक्रबार





