रास्वपाका नेता कुलमान घिसिङले समानुपातिक उम्मेदवार सिफारिसमा आफ्ना आफन्त राखेको आरोपलाई खण्डन गरेका छन्। सामाजिक सञ्जालमार्फत जारी गरेको बयानमा कुलमानले यस्ता हल्ला असत्य, भ्रामक र नियोजित भएको दाबी गर्दै आफ्नो इमानदार छविलाई बदनाम गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्।
घिसिङले बयानमा भनेका छन्, ‘समाचार तथा चर्चामा ‘भान्जा’भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन्। त्यसैगरी, समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु। समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा होइन, पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको हो।’
उनले यी आरोपहरूले आफ्नो राजनीतिक यात्रालाई कमजोर पार्ने उद्देश्यले फैलाइएको बताउँदै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध आफू सधैं उभिएको उल्लेख गरेका छन्।
प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएका उम्मेदवारहरूको सूची पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको घिसिङको दाबी छ।
‘म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको छु। त्यही इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइने यस्ता नियोजित हल्ला र आरोपहरू दुःखद छन्। राजनीतिमा असहमति हुन सक्छ, तर झूट र भ्रम फैलाएर कसैको बदनाम गराउने प्रयास आपत्तिजनक छ,’ उनले लेखेका छन्।
उनले राजनीतिमा असहमति हुन सक्ने तर झूट र भ्रम फैलाएर कसैको बदनाम गराउने प्रयास आपत्तिजनक भएको बताएका छन्। बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
हेर्नुस् उनको खण्डन
प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएका केही उम्मेदवारलाई मसँग जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइँदै आएका असत्य, भ्रामक र नियोजित टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन्।
त्यसैगरी, समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु। समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा होइन, पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको हो। म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको छु। त्यही इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइने यस्ता नियोजित हल्ला र आरोपहरू दुःखद छन्।
राजनीतिमा असहमति हुन सक्छ, तर झूट र भ्रम फैलाएर कसैको बदनाम गराउने प्रयास आपत्तिजनक छ। साथै, बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता समेत व्यक्त गर्दछु। म आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा दृढ छु। त्यसैले यस्ता भ्रामक समाचार र टिकाटिप्पणीको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु।
प्रकाशित: १६ पुस २०८२ १४:३४ बुधबार





