कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी(उनेपा) र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बिच एकता भएको तीन दिन भइसकेको छ। तर, त्यसपछि उज्यालो पार्टी पक्षमा चलेको असन्तुष्टिको स्वर अझै मत्थर भइसकेको छैन।
सोमबार राति नै कुलमानको उपस्थितिमा बालेन्द्र साहलाई साक्षी राखेर रास्वपा सभापति रवि लामिछाने र उनेपा अध्यक्ष अनुपकुमार उपाध्यायले एकताको सम्झौता गरेका थिए। सात बुँदामा गरिएको सम्झौतामा कुलमानलाई पहिलो वरियताको उपसभापति बनाउने बाहेक उज्यालो पक्षलाई सम्बोधन गर्ने गरी अन्य कुनै बुँदा उल्लेख छैनन्।
जसले पहिचानवादी मुद्दाबाट आएको ठुलै तप्का रिसाएको छ। उनीहरूले संविधान, संघीयता र धर्म निरपेक्षताको विषयमा प्रस्ट नभइसकेका व्यक्तिहरू समेटिएको रास्वपामा निसर्त पार्टीलाई मिसाएको भन्दै कुलमानविरुद्ध आक्रोश नै पोखिरहेका छन्।
त्यसपछि समानुपातिक सूचीमा उनेपाबाट १८ जनाको प्रतिनिधित्व हुने भनिए पनि १५ जना मात्रै समेटिएपछि पार्टी भित्रको विवाद झन् चुलियो। यस्तै समेटिएका पात्रहरूमा पनि कुलमानकै नातेदार समेटिएको भन्ने आएपछि चुलिएको विवाद थामिनसक्नु छ।
यही विवादको पृष्ठभूमिमा मंगलबार साँझ रास्वपामा मिसिन आएको उनेपा पार्टीको निवर्तमान केन्द्रीय समितिको बैठक बसेको थियो। बैठकमा ठुलै रस्साकस्सी र मतमतान्तर भएको स्रोत बताउँछ।
रिसाएको समूहले निर्वाचन आयोगबाट सोमबारै टोकन लिएर बसेको थियो। उसले समानुपातिकमा अर्कै सूची बुझाउनेसम्मको तयारी गरेको थियो।
कुलमानले आलोचना गरिएजस्तै आफ्ना नातेदारहरूको नाम सूचीबाट फिर्ता लिने प्रतिबद्धता नै गर्न परेको एक केन्द्रीय सदस्यले बताए। बैठकले समूहभित्र चुलिएको विवाद तत्कालका लागि थामथुम भने गरेको छ।
रास्वपासँग पूरक सम्झौताको माग
बैठकमा उपस्थित अधिकांश नेताहरूले एकताका बेला भएको सात बुँदे सम्झौता मात्रै पर्याप्त नभएको भन्दै पूरक सम्झौता गरेर जानुपर्ने धारणा राखेका थिए।
जसमा पार्टी समायोजनको विषय, संविधानको स्वीकार्यता, संघीयता र धर्म निरपेक्षताबारे पनि रास्वपाले प्रस्ट प्रतिबद्धता जाहेर गर्नुपर्ने र त्यो कुरा लिखित सम्झौतामै उल्लेख हुनुपर्नेबारे छलफल भएको उनेपाका निवर्तमान केन्द्रीय सदस्य जितराम लामाले बताए।
‘कुलमान जी उपसभापति हुने कुरा त मुख्य सम्झौतामै आइसकेको छ। त्यसबाहेक पनि केन्द्रीय समितिमा महामन्त्री वा सहमहामन्त्रीका रूपमा पदाधिकारी हुने अलिखित सहमति भएको थियो,’ उनले भने, ‘त्यो सहित केन्द्रीय समितिमा अर्थपूर्ण र सम्मानजनक समायोजन हुनुपर्छ भन्ने निर्णय नै भएको छ।’
संविधान, संघीयता लगायतका विषयमा उनेपाको ठुलै तप्काले प्रस्टता खोजेको छ। ‘हामीकहाँ पहिचानको आन्दोलनबाट आएको ठुलै समूह छ। रास्वपामा संविधान र संघीयता बारेमै संशय छ,’ अर्का निवर्तमान केन्द्रीय सदस्य डा. तारा जोशीले भने, ‘कतिपयले धर्मनिरपेक्षताबारे बालेन जीकै धारणामा शंका गरिरहेका छन्। यी कुरा प्रस्ट हुनुपर्छ भन्ने आवाज पार्टीभित्र छ।’
यी कुरा पूरक सम्झौताबाटै लिखित दस्तावेजीकरण हुनुपर्नेमा उनेपाको ठुलै पङ्तिको जोडबल छ। नभए भोलि धोका पाइनेमा उनीहरू चिन्तित छन्।
‘चरम लोकप्रियतावाद र हावाहुरीतिर हिँड्ने भिडसँग हिँड्दा आफ्ना अजेन्डा बलियोगरी नसमाते कुन खाल्डोमा हालिदिन्छन् भन्ने पिर अहिल्यै गर्नुपर्छ भन्ने हो। नभए त पछि के थाहा,’ एक केन्द्रीय सदस्यले भने। बालेन र रवि लामिछानेसँग मिलेर कुलमानले पहिचानको मुद्दालाई नै भड्खालोमा हाल्न खोजेको हो कि भन्ने शंका गर्नेहरू उनेपा वृत्तमा छन्।
मंगलबार साँझको केन्द्रीय समिति बैठकमा कुलमानले रास्वपासँग पूरक सम्झौताबारे छलफल गर्ने पनि प्रतिबद्धता जनाएका छन्।
प्रकाशित: १६ पुस २०८२ १५:३० बुधबार





