दोस्रो वरीयताका फेडेररले विश्व वरीयताका ३४ औं नम्बरका अर्जेन्टिनी प्रतिद्वन्द्वी लियोनार्दो मेयरलाई आर्थर आसे रंगशालामा ६–१, ६–२, ६–२ को सोझो सेटमा पराजित गर्न खासै संघर्ष गर्नुपरेन। न्युयोर्कमा पछिल्लो ४५ वर्षमा सबैभन्दा बढी उमेरको च्याम्पियन बन्ने लक्ष्यमा रहेका ३४ वर्षे स्विस स्टार फेडेररले मंगलबार १२ एस प्रहार गरेका थिए। 'मलाई यो खेलअघि डर लागिरहेको थियो। म आरामदायी अवस्थामा थिइनँ,' १७ पटकका ग्रान्ड स्लाम च्याम्पियनले भने।
फेडेररले दोस्रो चरणमा बेल्जियमका स्टिभ डार्सिससँग खेल्नेछन्। विपक्षी साइप्रसका भेट्रान मार्कोस बंघ्दाटिस पिठँ्युको चोटका कारण रिटायर्ड भएपछि डार्सिस दोस्रो चरण पुगेका थिए। पुरुषतर्फको प्रतिस्पर्धामा यो दसौं रिटायर्ड हर्टको घटना थियो। महिलातर्फ पनि दुई खेलाडीले खेल त्याग्नुपरेको थियो।
तेस्रो वरीयताका मरेले अस्ट्रेलियाका निक किर्गोइसमाथि ७–५, ६–३, ४–६, ६–१ को विजय पाए। किर्गोइसविरुद्धका चार खेलमा मरेको यो चौथो जित थियो। त्यसमध्ये तीन जित उनले यसै वर्षका ग्रान्ड स्लाममा हासिल गरेका हुन्। २०१० यता लगातार युएस ओपनमा कम्तीमा क्वार्टरफाइनलसम्म पुगेका बेलायती स्टारले फ्रान्सका एड्रियान मानारिनोसँग खेल्नेछन्।
'यहाँको गर्मी अत्यन्तै चर्को थियो। हावामा पानीको मात्रा पनि कम भएकाले धेरै गाह्रो भयो,' मरेको प्रतिक्रिया थियो।
किर्गोइसले पराजयभोग्दा उनका डेभिस कप टिम सहयात्री थानासी कोक्किनाकिस ३० डिग्रीको गर्मीमा १२ औं वरीयताप्राप्त फ्रान्सका रिचार्ड गास्क्वेटविरुद्धको खेलको पाँचौं सेटमा रिटायर्ड भए।
सोमबार ६ खेलाडी रिटायर्ड भइसकेको अवस्थामा मंगलबार कोक्किनाकिस, बंघ्डाटिस, अर्नेस्टस गुल्बिस र कजाकस्तानका एलेक्जेन्डर नेडोभिसोभ रिटायर्ड भएका थिए।
नेडोभिसोभ पूर्व च्याम्पियन लेट्टोन हेविटविरुद्ध ६–०, ७–६ (७/२), १–० ले पछि रहेको बेला दायाँ पाखुरामा चोट लागेपछि रिटायर्ड भए। करिअरको अन्तिम युएस ओपन खेलिरहेका हेविटले आगामी चरणमा आफ्नै देशका बर्नार्ड टोमिकको सामना गर्नेछन्। टोमिकले बोस्नियाका डामिर डिजुम्हरलाई ५–७, ७–६ (७/४), ६–४, ६–३ ले हराए।
२०१३ मा सेमिफाइनलसम्म पुगेका पाँचौं वरीयताका स्टान वावरिन्काले स्पेनका अल्बर्ट रामोस भिनोलेसलाई ७–५, ६–४, ७–६ (८/६) को सोझो सेटमा पराजित गर्दै अर्को चरणमा स्थान पक्का पारे। फ्रेन्च ओपनका विजेता वावरिन्काले दक्षिण कोरियाका किशोर चुङ ह्योनसँग खेल्नेछन्।
जापानले पहिलो चरणमा चौथो वरीयताका केई निशिकोरीलाई गुमाए पनि १९ वर्षे योशिहितो निशिओकाले फ्रान्सका आफूजस्तै छनोट खेलाडी पाउल हेनरी म्याथुमाथि ६–४, २–६, ६–७ (७/९), ६–१, ६–२ को विजय हासिल गर्दै थोरै भए पनि राष्ट्रिय गौरवको काम गरे।
महिलातर्फ चेक गणतन्त्रकी लुुसी साफारोभा पहिलो चरणमै स्तब्ध हुने शीर्ष १० भित्रकी चौथो खेलाडी बनिन्। छैटौं वरीयताकी साफारोभा युक्रेनकी लेसिया टिसुरेन्कोसँग ६–४, ६–१ को सोझो सेटमा निराश भइन्।
साफारोभाअघि सातौं वरीयताकी अना इभानोभिच, आठौं वरियताप्राप्त क्यारोलिना पिलिस्कोभा र १० औं नम्बरकी क्लारा स्वारेज नाभारो पहिलो चरणबाटै बाहिरिइसकेका छन्।
प्रकाशित: १६ भाद्र २०७२ २१:५४ बुधबार





