६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

आठलाई लूनकरणदास-गंगादेवी सम्मान

काठमाडौं- लूचनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले शुक्रबार काठमाडौंमा आठ स्रष्टा र प्रतिभालाई सम्मानित गर्योर। समाजकी योगदानी महिलालाई प्रदान गरिन् एक लाख रुपैयाँसहितको गंगादेवी चौधरी स्मृति सम्मान यस वर्ष साहित्यकार भुवन ढुंगानाले पाएकी छन्।

सामाजिक सचेतना र महिला जागरणमा साहित्यको माध्यमबाट योगदा दिएकीले भुवनलाई सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, भारतीय कवि केदारनाथ सिंह र साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरीले उनी र अरु सात प्रतिभालाई सम्मान प्रदान गरे।

त्यस्तै इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान प्राध्यापक तुलसी दिवसलाई, सरस्वती सम्मान साहित्यकार परशु प्रधानलाई, नारायणगोपाल संगीत सम्मान गायिका विमला सेन्चुरी प्रधानलाई, अरनिको ललितकला सम्मान चित्रकार शशिविक्रम शाहलाई, बालकृष्ण सम रंगसम्मान रंगकर्मी हरिबहादुर थापालाई नेपाल नवप्रतिभा सम्मान क्रिकेटर पारस खड्का र पत्रकार चूडामणि भट्टराईलाई प्रदान गरिएको छ। सबै सम्मानका साथ ५१ हजार रुपैयाँ पनि प्रदान गरियो।

कलासाहित्य मन्दिरको २१ औं वर्षको उक्त स्रष्टा सम्मान समारोहमा बसन्त चौधरीको हिन्दी कवितासंग्रह 'आँसुओ की सियाही से'को विमोचन पनि गरियो। कुलपति गंगाप्रसाद उप्रेती र भारतीय कवि केदारनाथ सिंहद्वारा विमोचित कृतिलाई भारतको प्रतिष्ठित प्रकाशन संस्था वाणी प्रकाशनले छापेको हो। चौधरीको यो तेस्रो कवितासंग्रह हो।

'आफ्ना रचना र प्रतिभामार्फत् देशलाई विश्वमा परिचित गराउने साधकहरुप्रति श्रद्धा अर्पण गर्न यो सम्मान आयोजना हुँदै आएको छ,' साहित्यकला मन्दिरका अध्यक्ष चौधरीले भने, 'वैशाखको अन्त्यमा हुनुपर्ने कार्यक्रम भूकम्पका कारण ढिलो भएको हो, भूकम्पपीडितको सहयोगार्थ हामीले ५१ लाख रुपैयाँ पनि दिएका छौं यो बीचमा।'

'गंगादेवी चौधरी स्मृति सम्मानले मलाई फेरि थप काम गर्ने प्रेरित गरेको छ, मैले खासै योगदान दिएकी छु जस्तो लाग्दैन, त्यसैले अब यो सम्मान पाएपछि केही न केही गर्नैपर्छ भन्ने लागेको छ,' सम्मान ग्रहण गरेपछि साहित्यकार भुवन ढुंगानाले भने।

साहित्यकार तथा प्राज्ञहरुलाई पुँजीपतिहरुको साथ चाहिने र यस कार्यमा बसन्त चौधरीले निरन्तरता दिइरहनु प्रशंसनीय रहेको कुलपति गंगाप्रसाद उप्रेतीले बताए। उनले थपे, 'बसन्तजीले साहित्यको विकास र प्रवर्द्धनमा आर्थिक सहयोग गर्नुपर्छ भन्ने सन्देश अरु उद्योगीहरुलाई पनि दिनुभएको छ।'

अति व्यस्त जीवनबाट समय निकालेर कलासाहित्यमा समर्पित भएकामा बसन्त चौधरीलाई भारतीय कवि केदारनाथले धन्यवाद दिए। 'नेपाली र हिन्दी दुवै भाषा संस्कृतिमा डुबेर लेख्नसक्नु बसन्तको विशेषता देखेँ,' उनले भने।

प्रकाशक अरुण महेश्वेरीले नेपाल र भारतबीच सांस्कृतिक र भाषिक सम्बन्धलाई अझ स्थापित गर्ने अभियान चलिरहेकोले वाणी प्रकाशनले बसन्त चौधरीको कवितासंग्रह प्रकाशित गरेको बताए। चौधरीको कृतिको समीक्षा राजेन्द्र विमलले हिन्दीमै गरे, 'लयवद्ध कविताहरुमा राजनीतिक, सामाजिक विकृतिप्रति व्यंग्य गरिएको छ।'

क्याप्सनः लूनकरणदास गंगादेवी चौधरी सम्मान ग्रहणपछि शशिविक्रम शाह, परशु प्रधान, विमला सेन्चुरी प्रधान, भुवन ढुंगाना, तुलसी दिवस, हरिबहादुर थापा, पारस खड्का र चूडामणि भट्टराई शुक्रबार काठमाडौंमा।

प्रकाशित: ३१ श्रावण २०७२ ००:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App