२४ पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

उपहारको प्रहार

जिन्दगीमा जितौरी, उपहार अनि पुरस्कार पाउने र अरूबाट अनुगृहीत भएर रमाउने बहार यदाकदामात्र आउँदो रहेछ। दैवको खटन भन्ने कि मतिबुद्धिको विघटन! जे भन्दा पनि हुने रै'छ त्यो खेलालाई। महाभूकम्पले सर्वनाश गरेर घरसम्पत्ति सिध्याएपछि नेपाली धर्तीमा पनि देशविदेशबाट उपहारको वर्षा सुरु भएथ्यो। कुहिए–सडेका चाउचाउ चनाचटपटेदेखि थोत्रा जाँघे म्याक्सी बनियानसम्म परिभ्याएछन्, ती अमूल्य उपहार थोकहरूमा।अर्कोथरी जिन्सी उपहारको तात्तातो बाहान भेट्ने पहिलो सौभाग्यशाली पात्रमा भने काभ्रे मण्डनका भूकम्पपीडित मनुवा दरिएछन्। गौरांग स्वामीले बाजेको बिर्ता बनाएर गँजेटिराखेको विश्व खाद्य कार्यक्रम नाउँको लोकोपकारी संस्थाले पठाएको त्यो मूल्यवान् उपहारमा चामल नामक पदार्थ भने अनपामकै परेछ पर्न पनि। बाहिर बोरामा सुन्दर अक्षरले नाम किटिएको देख्ता भोकानांगा अकिञ्चन पीडितहरू हानथाप गर्दै त्यसलाई हत्याउन लामबद्ध भएछन्। तहाँ उप्रान्त दसबीस किलो परिमाणका बोरा हातलागी भएपछि अब त सास धानियो भनेर मख्ख परेछन्। हतारहतार घर लगेर कुटुरा खोलिहेर्दा मुसाका लिँड, ढुंगा सिलासा र कनिका सराबरी भेटिएर जिल्लाराम पर्दाभएछन्। अर्को दिन बारपाक सेमजुङ सेर्तुङलगायत उच्च पहाडी दुर्गम गाउँमा राहत नाम गरेको उपहारको बोरा, कुम्लाकुटुरा भिरेका खच्चडका हुलै पुगेथे। भूकम्पग्रस्त भोका जनताले बुभूक्षा शान्त गर्ने जिनिस आयो भन्ठानेर खुसी व्यक्त गर्न नपाउँदै बोराभित्र सडीगली कालै डल्ला परेको चामल पो भेटिएछ। त्यहाँ त मुसाका लिँड, घुन, सिलासासमेत चामलमै एकाकार बनेर मृत्युपछि महात्माहरू ब्रह्मलीन भएको अवस्था देखिएछ। त्यतिमात्रै पो कहाँ हो र? आँत सुकेर आन्द्रा छुत्ती खेल्न थालेका बालबच्चालाई भनेर पठाएको ल्याक्टोजिनसमेत म्याद नाघेर अखाद्य बनिसकेको चैं परेछ। गौरांगहरूको गरिमामय व्यवस्थापन पाएको बालबच्चाको हितकारी संस्था भनेर विश्वभर फाइँफुट्टी चलाएको युनिसेफ नामक संस्थाले कृपापूर्वक उपहार पठाएको ल्याक्टोजिनले प्राप्तकर्ता भूकम्पपीडित बालबच्चाको आँतमा काउकुती लागेर खपिनसक्नु भएछ। बालबच्चाको स्वास्थ्य रक्षाको नाममा मोटो रकम र सुविधा ग्रहण गर्ने विशेषज्ञहरूले जडित युनिसेफबाटै यस्तो अचम्म कसरी भयो? अनुसन्धानको विषय बनेको यो खुल्दुली अझै पनि यथावत कायम छ।

उच्च पहाडी भेगका बासिन्दाले त कुहिएको चामल र सडेको दूधमात्र भेटेनछन्, चामलका बोराभित्र घुन, सिलसासँगै पवित्र बाइबल नामक धर्मग्रन्थ पनि भेटेछन्। तर, उनीहरूले बुद्धधर्मको पवित्र गन्थ त्रिपिटक र हिन्दु सनातन धर्मको साक्षी जिनिस— भागवत गीता पनि भेटिन्छ कि भनेर खोजखबर गर्दा भने हात लाग्यो शून्यमात्र भएछ। विपत्तिको बेला प्रभु इशुको नाम जप्नु अन्यथा त होइन नि! तर थरीथरी धार्मिक आस्था भएका र धर्मनिरपेक्ष संघसंस्था तथा सरकारले दिएर जम्मा हुन गएको वस्तुलाई एकलौटी धर्म प्रचारको इरादाले वितरण गर्नपुग्नु फिरंगी महाप्रभुका कति उदार चिन्तन र बहुलवादी विचार हुन् त यी?

यता उपहार भनेपछि अत्यन्तै मन गढ्ने अनि भेटेपछि बेचांैबेचांै लाग्ने नेपाली नेताहरूको बानी कति पानीमा भन्ने पनि यसपालाको उत्पाती भूकम्पले देखाइदिएकै छ। भान्सामा प्रयोग हुने भाँडाकुँडा बाटैमा गायब हुनेदेखि स्कुलका लागि दाताले दिएको जस्तापाता बीच बाटैमा बेच्ने घटनासमेत पञ्चकालीन परम्पराकै बिँडो थमाइ हो। कमाइ बेहिसाब भए पनि नेता नायकहरूले त्रिपालमा हारालुछ गरेर संविधानसभाको गरिमा बढाउने कार्य पनि गरेकै हो। यस्ता उपरखुट्टी महाप्रभुले देशभित्र शासन गरेको बेला विदेशीले झेला गरेर सडेको सामल दिए भनेरमात्र कहाँ पुग्ला त?आङको छारो पनि त हेर्नुपर्योव नि! त्यतिमात्रै पो कहाँ हो र? देशभित्र सत्ता पाऊँ भन्दै विदशी म्यामहरूको पाउलागी गर्दै छत्रछायाँमा घुसि्रन पुग्दा लाज लाग्दैन त उहाँहरूलाई! चाचा नेहरूदेखि सोनिया म्यामसम्मको खटनपटन अर्ती उपदेश पाएर मति सप्रिएका सपुत सन्ततिहरूलाई अहिले पनि नेपाल आमाको आशीर्वादभन्दा सुषमा म्यामले आशीर्वचन दिए पुग्छ भन्ने लाग्छ क्यारे। त्यसैले बेलाकुबेलाको परबाह नगरी ख्यालठट्टाको शैलीमा जति बेला पनि दिल्ली धाउने राष्ट्रवादी नेताहरूले देशलाई उँभो लैजान केही कसरत बाँकी राख्ने छैनन् भनेर ठोकुवा किन नगर्ने? हल्लुँडाको साख्खै भतिजझैं चाम्रो बनेर गौरांगको खप्की खाँदै कुहिएको चामल ठिक छ प्रभो भनेर पामर ताला देखाउने सरकार रहिआएको देशमा आ–आफैं बाँडीचुडी ठगी खानुमात्र राजनीति होइन भनेर कसले भन्यो र?

उहिले नारदमुनिले स्वर्ग, मर्त्य, पाताल तीन तिर्लोक चौध भुवनका कुरा मिलाएर साम्राज्य सुरक्षित गर्न देउतालाई सघाउँथे भन्ने पुराणमा पढिन्थ्यो, सुनिन्थ्यो। अहिले एसडी मुनिले बहादुर नेतालाई अर्ती उपदेश दिएर छिमेकी हैकमको टाट ओडाउने गतिलो कर्म गरेका छन्। तिनै उपदेश पछ्याएर हाम्रा कर्मवीर खाँटी देशभक्त नायक बाबुहरू बुर्लुकबुर्लक उफ्रिँदै सीमापार दिल्ली दरबार पुगेर म्यामहरूको छाताभित्र घुसि्रएपछि मात्र आफू सुरक्षित रहेको महसुस गर्नुहुन्छ। यतिमात्र होइन, औंसीपुर्ने लागेर उहाँहरूको आङमा जब काँचो वायु जाग्दछ तब धूपधुवाँर जेतेमेते गर्न पनि दिल्ली दरबारै पुग्नुपर्ने हुन आउँछ। बाटेका धूप सल्काएर राता–पहेँला अक्षता मन्छिएर जब दिल्लीवाली म्यामहरू अन्छाइपन्छाइ गरिभ्याउनुहुन्छ, बल्ल त हाम्रा नेता नायकहरूको छाती फुलेर, आँखा चम्किएर, ओठ फर्फराएर अदम्य बहादुरीको मुसलधारे बर्सात भइहाल्छ। उहाँहरूका पाउमा साउनेकीरा झैं लुटपुटिएर न्यायो ताप्दै आशीर्वाद थापेर फुत्त उफ्रिँदै असारे भ्यागुत्तालाई समेत मात गरेर कर्मरेखा कोर्ने सपार्ने गरिआउनुभएको छ। अक्षता केलाएर जोखाना हेर्ने अनि देखे/भेटेजति लागुभागु मन्छने छेदपिशाच पन्छाउने माताहरू टोलैपिच्छे सराबरी भएको यो देशमा विदेशै धाइरहनु त नपर्ने हो भन्ने पनि छन् छन ता! तर ठूलो भाग्यफल हात पार्न ठूलै माताजीको दरकार पर्ने रहेछ क्यार! सुनारका सय चोट लोहारका एक चोट भन्ठानौं यसलाई। उतैतिरका बडेभाइले साँधसिमाना मिचेकोमा एक शब्द नबोले पनि सत्ताको बागडोर आफ्नो हात पार्ने ध्याउन्नमा हाम्रा राष्ट्रवादी नेताहरू एक इन्च पछि हट्नुहुन्न। भएको छैन पनि। आइते–मैते–बुधे–मंगलेले जजसलाई उताबाट मर्जी भए पनि लाइन कसेर, पल्टन बाँधेर, धोतीपाटा कसेर पाहुना लाग्नु नै अहोभाग्य ठान्नुहुन्छ। त्यति ठूलो ठाउँबाट आशीर्वाद थपीथापी मौसमपिच्छे नै राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्ने काम कम्ताखाले करामत हो त लौ? पहाड–मधेस सराबरी भएको उर्वर जमिनका मालिक अनि कर्मठ पुर्खाका सन्तान त छँदै थियौं हामी। अहिले पनि पाखुरी बजारेर अरेबियन मरुभूमिमा बालुवा पेल्न र मलेसियन समुद्र किनारमा काला पत्थर फुटाउन सक्षम रहेकै छौं। तर बोडी, मास, मस्याङ रोपेर दाल फलाउन सक्तैनौ, बरु भूकम्पपीडितको नाउँमा अर्काले उपहार दिएको कीरा लागेको दाल खान हिच्किदाउदैनौं। अझ भाँडाकुँडा, लत्ता, कपडा पनि उपहार पाएपछि त बाटैमा चट् पार्ने हाम्रो बानी पुर्खाको जंगी–निसानीको गौरवपूर्ण जगेर्ना हो भन्दा खासै अनुचित पनि न होला कि!

प्रकाशित: ८ श्रावण २०७२ २२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App