'३० वर्ष पहिला जसरी होटलमा फोनको पैसा लाग्थ्यो। एयरलाइन्सले ब्यागेजको पैसा लिन्थ्यो। अहिले वाइफाइमा लाग्ने पैसा त्यही हो,' ज्वेलरी कम्पनी रिटानीका प्रमुख कार्यकारी ब्राइन वाटकिन्सले भने, 'सजिलो आय।'
बिजनेस टि्रपमा हुँदा वाटकिन्स मोबाइललाई हटस्पट बनाएर इन्टरनेटसँग जोडिन्छन्। किनकी कुनै होटलले वाइफाइ चलाएको दिनको २५ डलरसम्म लिने गर्छ।
'होटल जति राम्रो हुन्छ, वाइफाइ उती महंगो,' उनले भने, 'त्यो पैसाले त अरु केही नै गर्न पुग्छ।'
वर्षौं देखि बजेट होटलमा निशुल्क वाइफाई हुनु जरुरी झैं भइसक्यो। तर, ठूला र महंगा होटल जहाँ हजारौं ल्यापटप, फोन र ट्याब्लेटका प्रयोगकर्ता दिनहुँ पुग्छन्, उनीहरुका लागि यो सजिलो आयस्रोत बनेको छ।
अहिले पयर्टकले निशुल्क वाइफाइ जहाँकहीं पाउँछन्। एयरपोर्ट देखि रेस्टुरेन्टसम्म। र उनीहरु आफूले प्रयोग गरेको इन्टरनेटको पैसा उनीहरु तिर्न चाहदैनन्।
'पर्यटकहरु पहिला 'तपाईंहरु कहाँ वाइफाई भए राम्रो हुन्थ्यो भन्थे।' अहिले, 'तपाईंहरु कहाँ वाइफाई हुनैपर्छ' भन्छन्,' ट्राभल एजेन्सी हड्सन क्रसिङका संचालक म्याक्स रेनरले भने, 'यो अपेक्षाले होटललाई समस्या पर्न थालिसक्यो। किनकी एयरलाइन्स कम्पनी झैं यस्ता सुविधा बढाउँदा होटलको वार्षिक नाफा भने केही घट्छ।'
न्युयोर्क विश्वविद्यालयको हस्पिट्यालिटी तथा टुरिजम सेन्टरले प्रकाशित गरेको एक अध्ययन प्रतिवेदन अनुसार सन् २०१४ मा अमेरिकी होटलहरुले आफ्नो ग्राहकहरुबाट दुई अर्ब २५ करोड कमाएका थिए। जुन् सन् २०१३ मा जम्मा दुई अर्ब एक करोड थियो।
केही ठूला होटल ब्रान्डहरुले वाइफाईलाई ग्राहक फकाउन पनि प्रायोग गर्न थालेका छन् – होटलमा रुम डाइरेक्ट बुक गर्नुस वाइफाइ फ्रि।
'अब हामी बिना इन्टरनेटको कलपना पनि गर्न नपरे हुन्थ्यो भन्ने मनस्थितिमा पुगिसकेका छौं। चाहे त्यो घर होस् या अफिस, रेस्टुरेन्ट होस् वा एयरपोर्ट,' अमेरिकाको इन्टरकन्टिनेन्टल होटल गु्रपकी एक अधिकारी लारा हर्नान्डेजले भनिन्, 'यो पर्यटकको अपेक्षा हो।'
इन्टरकन्टिनेन्टलले सन् २०१३, जुलाईमा आफ्ना रेगुलर ग्राहकलाई निशुल्क वाइफाई प्रदान गर्ने घोषणा गरेको थियो। जुन कायम छ।
त्यसैको सिको गर्दै गएका केही महिनामा म्यारियट इन्टरनेश्नल, स्टारउड होटल्स एन्ड रिसोर्ट र हिल्टन होटल्स एन्ड रिसोर्टले पनि योजनाहरु ल्याए। हयात होटल्सले भने कुनै योजना बिना वाइफाई सुविधालाई निशुल्क नै बनाइदियो।
कुनै होटलमा भने दु्रत गतिको इन्टरनेट सेवा प्रयोग गर्न पैसा तिर्नुपर्छ। सामान्यको लागि पर्दैन तर त्यसबाट अनलाइन गेम वा फिल्म हेर्न भने मिल्दैन।
'हिजोआज वाइफाइ छ र हुनुपर्छ भन्ने अपेक्षा हुन्छ। यो सफा कोठा, २४ घन्टा पानी र सजिलो खाट जस्तै सामान्य भइसक्यो,' हयातका एक उच्च अधिकारीले जेफ बजडाउकाले भने, 'निशुल्क वाइफाई पछि हामीलाई धेरैले धन्यवाद भनेका छन्। ग्राहकहरु निकै खुशी छन्।'
ग्राहकहरु होटलले वाइफाईको पैसा लिएको कति मन पराउँदैनन् भन्ने तथ्यांकले पनि यो पुष्टि गर्न मद्दत गर्छ। जेडी पावर २०१४, उत्तर अमेरिकी होटल ग्राहक सन्तुष्टि सुचांक अध्ययन रिपोर्ट अनुसार केही ठूला होटललाई ग्राहकहरुले पैसा अनुसारको सन्तुष्टिमा, वाइफाइको शुल्क तिर्नुपर्दा निकै कम अंक दिएका छन्। जेडी पावरकी जेनिफर क्राउनका अनुसार कुल १००० अंक मा ६५ अंकसम्मको गिरावटलाई ठूलै मान्नुपर्छ।
'यो पैसाभन्दा पनि मान्यताको कुरो हो,' उनले भनिन्, 'ग्राहकलाई होटलले आफूबाट पाइपाई वसुली रहेको छ भन्ने कुरा मन पर्दैन।'
सभाना कलेज अफ आर्ट एन्ड डिजाईन, जर्जियाका प्रोफेसर ब्रुस क्ल्याक्सटनको हालसालै एक बिजनेस टि्रपमा अलेक्सान्ड्रियाको एक ठूलै होटलसँग चर्काचर्की पर्योा। जब उनलाई थाह भयो त्यहाँ निशुल्क वाइफाई रहेनछ। 'इन्टरनेटको पैसा तिर्नुपर्छ भन्ने कुरा मलाई चित्त बुझेन। यो त न्युनतम आवस्यकता भइसक्यो,' उनले भने, 'मलाई बाध्य पारेको जस्तो भान भयो।'
धेरै यात्रा गरिरहनेहरुसँग इन्टरनेट चलाएको पैसा नतिर्ने पनि थुप्रै तरिका छन्।
'म कुनै वाइफाईको शुल्क तिर्नु पर्ने होटलमा छु र इन्टरनेट चलाउनुपर्योय भने स्टारबक्स जान्छु। त्यहाँ एककप अमेरिकानोको पैसामा इन्टरनेट चलाउन पाइन्छ,' प्रोफेसर क्ल्याक्सटनले भने। कुनै क्याफेमा छिरेर वाइफाई चलाउनु सबैभन्दा सजिलो उपाय हो। यस्तै केहीलले गुनासो गरेरै भएपनि होटलबाट निशुल्क वाइफाई लिई छोड्छन्। केहीले भने वाट्किन्सले जस्तै माइफाई बोकेर हिँड्छन् र हटस्पट बनाएर चलाउँछन्।
गत वर्ष म्यारिअट इन्टरनेश्नलले ग्राहकहरुको मोबाइल वा अन्य उपकरणबाट हटस्पट बनाएर चलाउन ब्लक गरेर एक कार्यक्रममा त्यहाँ सहभागी हुन पुगेकाहरुसँग एउटा डिभाइसमा होटलको इन्टरनेट चलाएको २५० देखी १००० डलरसम्म लिएको बाहिर आएको थियो। त्यसपछि केन्द्रीय सुचना विभागले त्यसको अनुसन्धान सुरु गरेको थियो। पछि होटलले माफी माग्दै ६ लाख डलर फाइन तिरेर त्यसलाई साम्य पारेको थियो। होटलले आफ्नो वेवसाइटमा लेखेको छ, 'हामी हाम्रो कुनै पनि होटलमा ग्राहकको इन्टरनेट सिग्नल बन्द गर्दैनौं।'
ठूला होटललाई पनि इन्टरनेटमा ग्राहकले गर्ने कमेन्टले नराम्रो असर गर्छ। त्यसैले पनि सानोभन्दा सानो कुरालाई उनीहरुले नियालीरहेका हुन्छन्। लोयस होटल्स एन्ड रिसोर्टका अनुसार उनीहरुले पनि वाइफाई निशुल्क गर्नु पूर्व सबैभन्दा धेरै ग्राहकको गुनासो त्यसैमा आउँथ्यो। तर, हयात होटल झैं बिना कुनै योजना वाइफाई निशुल्क बनाएपछि ग्राहकको सन्तुष्टि सुचकांकमा पनी बढोत्तरी देखिएको छ।
'निशुल्क वाइफाई बेसिक प्याकेज मै दिनुपर्ने बेला भइसकेको छ,' कर्नल विश्वविद्यालयका होटल व्यवस्थापनमा मार्केटिङका प्रोफेसर चेकितन देवले भने। उनका अुनसार अबको केही वर्षमा ग्राहकलाई दु्रतगति कै इन्टरनेट नदिई सुखै छैन।
'निशुल्क वाइफाईले ग्राहक सन्तुष्ट हुन्छन्,' उनले भने, 'ऊ पुनः फर्किएर त्यही आउँछ। अरुलाई पनि जान भन्छन्। हो, त्यसमा पैसा छ। तर, कसरी लिने भन्ने सोच्नु जरुरी छ।'
प्रकाशित: २५ असार २०७२ २३:०२ शुक्रबार





