७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

दलालको फन्दामा भूकम्पपीडित महिला

काठमाडौं- वैशाख १२ को भूकम्पबाट सर्वाधिक प्रभावित जिल्लाका महिलाहरू महिला बेचविखन गर्ने दलालका फन्दामा पर्न थालेका छन्। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले भूकम्पपछि महिलाहरू रोजगारीको प्रलोभनमा दलालको फन्दामा परेर बेचिने सम्भावनाबारे जानकारी दिन राजधानीमा आइतबार 'दीगो विकासका लागि सञ्चार' शिर्षकमा सरोकारवालासँग गरेको अन्तरक्रियामा यस्तो जानकारी दिइएको थियो।

विनाशकारी भूकम्पमा घर, खाद्यान्न, लत्ताकपडालगायत सम्पत्ति नष्ट भएपछि प्रभावित जिल्लाका महिला दलालको फन्दामा पर्न थालेको सरोकारवालाले जनाएका छन्। भएको सम्पत्ति नष्ट भएको र गुजारा टार्न नै समस्या भएपछि महिलाहरूलाई आफ्नो फन्दामा पार्न दलालहरू सक्रिय भएको सरोकारवालाको भनाइ छ।

भूकम्पमा घर सम्पत्ति सबै नाश भएपछि पीडितहरूको अस्थायी वा नयाँ ठाउँमा भएको बासमै पुगेर दलालले महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी फकाउने गरेको माइती नेपालकी परामर्शदाता सुमित्रा श्रेष्ठले बताइन्। श्रेष्ठले ती महिलाहरूलाई बिक्रीका लागि भारत लैजान नयाँ नाका प्रयोग गर्न थालेको जानकारी दिँदै बताइन, 'भैंसे र सिन्धुली नाका बनाएर भारत लैजाने गरेको पाइएको छ।' भूकम्पबाट बढि प्रभावित जिल्ला सिन्धुपाल्चोक, गोरखा र नुवाकोटमा दलालको चलखेल बढ्दै गएको श्रेष्ठले बताइन्।

दलालले फ्री भिसामा वैदेशिक रोजगारीमा पठाइदिने, सहरमा काम लगाइदिनेलगायत प्रलोभन देखाएर बेच्न भारतसहित अन्य तेस्रो मुलुक पठाउने गरेको श्रेष्ठको दाबी छ। 'घरजग्गा नभएकालाई दलालले आकर्षक प्रलोभन दिने गरेको देखिन्छ,' परामर्शदाता श्रेष्ठले भनिन्।

वैदेशिक प्रवर्द्धन बोर्डकी सदस्य सीता देवकोटाले वैदेशिक रोजगारीमा महिला पठाउने वा नपठाउनेबारे महिला अधिकारवादीहरू आफैं प्रष्ट नभएकाले महिला बेचबिखन घट्न नसकेको आरोप लगाइन्। 'महिला वैदेशिक रोजगारीमा जान हुने वा नहुने प्रष्ट निर्णय नगर्ने र विदेशमा राम्रो कमाई हुने आकर्षक पाटोमात्र उजागर गर्ने प्रवृत्तिका कारण महिला बेचबिखनले प्रश्रय पाएको छ,' देवकोटाले भनिन्।

स्वदेशमै गर्न सक्ने रोजगारमूलक कामलाई समाजमा सम्मान नगर्दा महिलाहरू थोरै कमाइका लागि विदेशिनु पर्ने बाध्यता आएको तर्क महिलाका निम्ति महिला मञ्चकी अध्यक्ष सिर्जना गुरुङले गरिन्। 'नेपालमा ५० हजार महिला मनोरञ्जन क्षेत्रमा काम गर्छन्। तर उनीहरूलाई हेर्ने दृष्टिकोण गलत हुनाले पेसागत सुरक्षा हुन सकेको छैन र कतिपय यस्तै कामका लागि विदेशिन बाध्य छन्,' उनले भनिन्।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयकी अधिकृत शोभादेवी खरेलले महिला बेचबिखनको जोखिम रोक्न मन्त्रालयले जिल्लाका १२ नाकामा चेक पोस्ट राखेको जानकारी दिइन्। महिला बेचबिखनको जोखिम रोक्न स्थानीय सञ्चारमाध्यम पनि सक्रिय पारेको जानकारी उनले दिइन्। माइती नेपालले भूकम्पपछि ३ सय ५७ जना बेचबिखनको जोखिममा परेका महिलालाई जोगाएको जनाएको छ।

प्रकाशित: १४ असार २०७२ २०:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App