धेरै जना कविले यसमा प्रतिक्रिया जनाएका छन्। त्यतातिर नलागौं।
यसपटकको भुइँचालोले धरहरा ढल्यो। योसँगै 'नेपाल नै ध्वस्त भयो' भन्ने सन्देश प्रवाह भयो। धरहरा हाम्रो सम्पत्ति त अवश्य नै थियो तर मुलुकका लागि सबथोक होइन भन्ने खै बुझेको! त्यसमाथि धरहरालाई देखाएर पर्यटक बढाउनुपर्नेमा त्यसमै टेकाएर पैसा कमाउनेतिर लाग्दा जनधनको ठूलो क्षति भयो। जे नहुनुपर्ने थियो, त्यस्तै भइछाड्यो।
धरहराको कथा मलाई जानकारी छैन। जानकारी भए पनि बेलीविस्तार किन लगाइरहनु? भीमसेन थापाले बनाएको भन्ने सुनेको हुँ मैले। उनी एक्लैले त कसरी धरहरा बनाउन सके होलान्? धेरै मजदुरको रगत–पसिनाले ठडियो होला, त्यसको अगुवाइ गरेका होलान्, उनले। तर, १९९० सालको भुँइचालोले ढालेपछि पुनः ठडिएछ धरहरा। यो फेरि ८२ वर्षको अन्तरालपछि ढलेको हाम्रै आँखाले देखेको छ। धरहरा यस बेला भग्नावशेषबाहेक केही रहेन, पुराना तस्बिरमा मात्र कैद छ। यो अब ठडिएला या नठडिएला? यसको पुनःनिर्माण होला या नहोला? कसरी होला? बहसका यावत विषय देखिएका छन्।
साहित्यमा धरहरा विम्ब तथा प्रतीक रूपमा प्रयुक्त थियो, छ र हुने नै भन्ने लाग्छ मलाई। धरहराको विम्ब तथा प्रतीक प्रयोग कोबाट भयो भन्ने खोजीकै विषय होला। तर, यसको विम्बात्मक/प्रतीकात्मक प्रयोगचाहिँ भएकै छ। मैले पनि 'धरहरा' विषयमा एउटा कनिकुथी गरेकै छु। यद्यपि, म साहित्यकारचाहिँ होइन, अलिअलि साहित्य लेखपढ गर्न रुचि लाग्छ।
त्यसो त धरहरासँग जीवनमा असहज संयोग जुर्योन। खासमा मैले धरहराको भौतिक रूप २०५७ सालमा प्रत्यक्ष हेर्ने अवसर पाएको थिएँ। त्यसपछि २०६१ सालदेखि त राजधानी बसाइसँगै धेरैपटक हेर्ने मौका मिल्यो। यसपटक 'धरहरा ढल्यो रे' भन्ने खबरबाट मैले भुइँचालाको विनाशलीला थाहा पाउनुपर्यो्। त्यसपछि भुइँचालोको केही दिन घट्टेकुलो–अनामनगर–सिंहदरबार–बुद्धनगर ओहोरदोहोर गर्दैमा बित्यो। पहिलोपटक त्यो सीमारेखा कट्दा टुँडिखेलबाट देखिएन धरहरा, जहाँबाट मैले पहिलोपटक त्यसलाई प्रत्यक्ष देख्ने मौका पाएको थिएँ। यसपटक धरहरा नदेखिएपछि एकदम नरमाइलो लाग्यो। धरहरा हेर्न सुन्धारा नपुगी चित्त बुझेन मलाई। भुइँचालोले क्षतविक्षत धरहरा परिसरमा शवको खोजी र भग्नावशेष व्यवस्थापनको काम भइरहेको थियो। मान्छेको भिड उस्तै थियो, त्यही भिडमा थिएँ म पनि।
धरहरा
सहिदगेटदेखि परतिर
सालिकजस्तै भएर
ठिङ्ग उभिएको छ धरहरा
– त्यहीँबाट
– एक सय चार वर्षपछि
– जङ्गबहादुरले हामफाले
तिमीले कसो भएर हामफाल्न सकेनौ
तेस्रो आयामले पनि धरहरा चढ्यो
इन्द्रबहादुर, वैरागी, ईश्वरहरूले चढे
–अन्ततः प्रायले चढे
–दिनहुँजसो चढे
अखबारका पन्ना सजाएर चढे
रिपोर्टरहरूका लागि 'फिचर' बनेर चढे
कतैकतै 'हार्डन्युज' भएर चढे होलान्
– म सम्झँदै छु
– मैले कसो भएर चढिनँ
– अब चढूँ भन्दै छु
पारुहाङ भएर चढ्ने मन छ
यलम्बर भएर चढ्ने मन छ
सुम्निमा भएर चढ्ने मन छ
धरहरालाई धेरैले टेके
टेक्नेजतिले अनुभव सँगाले
–धरहरा अग्लिएन
–हेर्दा होचिएन पनि
–उस्तै गरी ठडिएको छ
मैले टेक्दा भासिन्छ कि भन्ने डर लागिरहेछ।
(२ असोज, २०६२ ; 'अर्को भ्रम' कविता संग्रहबाट)
सुन्धाराबाट फर्किंदै गर्दा यही कविताको स्मरण गरेँ। सम्भि्कएँ, धरहरा चढेको क्षण। पुस दोस्रो साता आपा (बुवा) आउनुभएको थियो। उहाँलाई घुमाउने क्रममा पहिलोपटक धरहरामा पुष्पासँगै पाइला टेक्यौं। सासुआमा र भदै धरहरा चढ्न मान्नुभएन। मलाई भने त्यहाँ आफ्नै कविताको याद आइरहेको थियो— मैले टेक्दा भासिन्छ कि भन्ने डर लागिरहेको छ।
खासमा धरहरा भासिएन, ढलेर क्षतविक्षत भयो। साहित्यमा प्रयुक्त विम्ब तथा प्रतीकको अवस्था अब के होला? धरहरावाला कविता स्थगन नै गर्ने त? मेरै कविताको आयु धरहरासँगै ढल्यो कि! साहित्य सिर्जना सार्वकालिक महत्वको भए राम्रो भन्छन्। मलाई त्यस्तामध्ये एक गोपालप्रसाद रिमालको 'आमाको सपना' कविता लाग्छ। यस्ता कविता अत्यन्तै कम छन्। विश्लेषणतिर नलागौं। साहित्यमा विम्ब प्रयोग सकारात्मक या नकारात्मक जे भए पनि धरहराले ठाउँ पाएकै हो, यसले निरन्तरता पाउँछ भन्ने पनि लाग्छ। किनकि, यत्ति विनाशकारी भुइँचालोले धरहरालाई भौतिक रूपमा ढाले पनि हामीमध्ये कतिपयको चेतना त्योभन्दा ऊँचो भएर ठडिएकै छ। पुरातन सोच, पुरातन प्रवृत्ति र खराब आचरणलाई धरहराभन्दा उँ्कचो बनाउनेहरूको दिमागमा अझै १० रेक्टरको भुइँचालो जाओस्, जसले सही पाठ पढाओस्।
प्रकाशित: २९ जेष्ठ २०७२ २१:५३ शुक्रबार





