३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

संगीत उद्योगमा 'भिटामिन' र 'क्याप्सुल'

काठमाडौँ, अनामनगरस्थित म्युजिक नेपालको अगाडि खाली जग्गा छ। हिउँदको यो चिसो मौसममा त्यहाँ केही मान्छे मोबाइल चलाएर बसिरहेका हुन्छन्। सबै आफ्नै धुनमा व्यस्त लाग्छन्। अझ नजिक गएर हेर्‍यो भने देख्न सकिन्छ, उनीहरूसँग मोबाइल रिचार्ज कार्डको थुप्रो पनि हुन्छ। त्यही बाटो भएर यताउता हिँड्नेलाई अचम्म लाग्न सक्छ– उनीहरू किन गर्छन् मोबाइलमा यत्रो रिचार्ज? किन हुन्छन् मोबाइलमा यति विघ्न व्यस्त?
उनीहरू त्यहाँ मोबाइल खेलाएर बसेका भने होइनन्। उनीहरू त 'पर्चेज' गरिरहेका हुन्छन्। आरबीटी (मोबाइल रिङब्याक टोन) पर्चेज। आफ्नो गीतको रिङ ब्याक टोन आफैँ किनेर हालिरहेका हुन्छन्। एउटै गीत, एउटै मोबाइल नम्बर तर सयौँ चोटि आरबीटी फेरिरहेका हुन्छन्।
 
के हो पर्चेज?
संगीत क्षेत्रसँग आबद्ध सबै परिचित छन्, 'पर्चेज' अर्थात् किनमेल शब्दसँग। तर, संगीत क्षेत्र बाहिरकाले यो शब्दको सोझो अर्थ बुझे पनि शब्दको भित्री खेल बुझेका छैनन्। निश्चित शुल्क तिरेर कुनै पनि गीतलाई रिङब्याक टोनका रूपमा राख्ने गरिन्छ। रिङब्याक टोनमा कुन गीत राख्ने? कुन गीत राम्रो होला? राम्रो गीतको आरबीटी कसरी पत्ता लगाउने? यो उपभोक्ताका लागि यो झन्झटिलो छ। यसको समाधानका लागि मोबाइल कम्पनीहरूले नयाँ गीतका लागि 'लेटेस्ट' र हिट गीतका लागि 'टप १०' भनेर वर्गीकृत गरेका छन्। यही टप १० भित्र आफ्नो कम्पनीको गीत पार्ने खेल हो, पर्चेज।
मोबाइल कम्पनीहरूले रिङब्याक टोन डाउनलोडका आधारमा टप १० मा राख्ने भएकाले आफैँले धेरै डाउनलोड गरेर आफ्नो गीत अगाडि ल्याउने होडबाजी अर्थात् पर्चेज प्रक्रिया संगीत व्यवसायीबीच चलिरहेको छ।
 
भ्रममा उपभोक्ता
यो खेलको उनीहरूले आफ्नै भाषा समेत बनाएका छन्। गीतलाई टप टेनभित्र पार्नका लागि आफैँले धेरै आरबीटी डाउनलोड गर्ने प्रक्रियालाई 'भिटामिन' दिने अर्थात् हलक्क बढाउने प्रक्रिया भनिन्छ। त्यसैगरी त्यसलाई टप १० कै लिस्टमा कायम राख्नुलाई 'क्याप्सुल' दिने भन्ने गरेका छन्।
एउटा गीतलाई टप टेनको लिस्टमा पुर्याटउने 'भिटामिन'का लागि डेढ लाख रुपैयाँसम्म खर्च हुन्छ। दैनिक ३५ देखि ६० हजार रुपैयाँसम्मको क्याप्सुलले मात्रै गीतलाई त्यो लिस्टमा जीवित राख्छ। धेरैले नबुझेको कुरा किन आफ्नै गीत रिङब्याक टोन यति खर्च गरेर डाउनलोड गर्छन्? यसको उद्देश्य आफ्नो संगीत व्यवसायको प्रवर्द्धन नै हो। कसरी व्यवसाय प्रवर्द्धन भयो भन्ने चाहिँ टप टेनमा आफ्नो कम्पनीबाट निस्केको गीत पुर्या्एको व्यवसायीलाई मात्रै थाहा हुन्छ। किनभने, उनीहरूले लगानी गरेको प्रतिफल पाउँछन्। ती १० मा पर्ने जुवा जित्ने र नपर्ने व्यवसायी भने जुवाका हरूवा जस्ता हुन्। समग्रमा उनीहरूका लागि पनि यो जुवाजस्तै हो।
रिङब्याक टोनको प्रयोग गर्ने उपभोक्ता अहिलेसम्म यो विषयमा जानकार छैनन्। उनीहरू राम्रो गीत भएका कारण उत्कृष्ट १० को सूचीमा चढेको होला भन्ने भ्रममा हुन्छन्। यसकारण रिङब्याक टोनका रूपमा त्यही सूचीका गीतमध्ये छानेर डाउनलोड गर्छन्। टप टेनमा पुगेपछि उनीहरूले गरेको लगानी अहिलेको अवस्थासम्म दोब्बर फिर्ता भइरहेको छ।
संगीत क्षेत्रमा भएको यो चरम व्यापारिक र गलत प्रक्रियाका कारण राम्रो गीत छानेर सुन्न पाउने सुविधाबाट उपभोक्त वञ्चित भएका छन्। गीतलाई बजारमा ल्याएपछि पनि ठूलो मात्रामा लगानी गर्नुपर्ने भएकाले संगीत बजार सर्जकका हातबाट व्यापारीका हातमा पुगेको छ। लगानी गर्न सक्नेको गीतमात्रै उत्कृष्टको सूचीमा परिरहेको छ। लगानी गर्न नसक्ने राम्रो सिर्जना स्रोता/दर्शकमाझ पुग्नै नपाई हराइरहेको छ।
 
के भन्छन् व्यवसायी?
पर्चेज प्रक्रियामा 'को संलग्न छन्?' भन्दा पनि 'को संलग्न छैनन्?' भने हुन्छ। गीतसंगीतमा लामो समय कलम चलाउँदै आएका पत्रकार मदन खनाल यसलाई 'घर जलाएर खरानी घस्ने' प्रक्रिया भन्छन्। तर पनि यो प्रक्रियामा सबै उत्तिकै सामेल भइरहेका छन्। टप टेनमा आफ्नो गीत पार्न सक्नेले आम्दानी पनि गरिरहेका छन् तर त्यहाँ पुर्याभउन नसक्नेहरूको सिर्जना र पैसा दुइटै खेर गइरहेको छ।
संगीत व्यवसायी भने यसलाई बाध्यता भन्छन्। व्यावसायिक दृष्टिकोणबाट प्रतिस्पर्धाका नाममा दिइने यो प्रक्रिया उपभोक्ता र सर्जक दृष्टिकोणबाट अस्वस्थ खेल हो। लामो समयदेखि म्युजिक कम्पनी चलाइरहेका पशुपति म्युजिकका शिव पौडेल भन्छन्, 'सिस्टमको दुरुपयोग हो भन्ने सबैलाई थाहा छ। अघिल्लो चरणमा सबैले यसको विरोध पनि गर्यौँन तर सम्बन्धित कम्पनीले यो प्रक्रियामा रोक लगाउने वा अपग्रेड गर्ने कार्य नगरेकाले आफ्नो राम्रो गीत पछाडि पर्न नदिन पनि पर्चेज गर्नुपर्ने बाध्यता छ।'
विन्द्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीले केही समयअघि पर्चेजका लागि एनसेलका रिचार्ज कार्डको माला लगाएर फेसबुकमा व्यंग्यात्मक तस्बिर नै सार्वजनिक गरे, 'एनसेल बाबाकी जय' भन्दै। उनले संगीत व्यवसायीहरू पर्चेजतिर जानुपर्ने बाध्यता औँल्याएका थिए। सर्जकसमेत रहेका म्युजिक कम्पनी सञ्चालक सहदेव कोइराला पनि निर्विकल्प बाटोका रूपमा यसलाई रोजेको बताउँछन्।
 
संगीत उद्योगको भविष्य
'भिटामिन'ले हुर्काइएको र 'क्याप्सुल'ले बचाइएको संगीत उद्योगको भविष्य के? यसको उत्तर संगीत व्यवसायीसँग छैन। उनीहरू टेलिकमले सिस्टम अपग्रेड गरिदेओस् भन्ने अपेक्षा राख्छन्। नेपाल टेलिकममा पर्चेज सिस्टम नभएकाले म्युजिक कम्पनीको आम्दानीको स्रोत एनसेलमात्रै भएको छ। त्यसैगरी विदेशमा रहेका नेपालीले गर्ने डाउनलोडले पनि केही भरथेग गरेको छ।
टेलिकम सेवा प्रदायक कम्पनीलाई आम्दानीका हिसाबले पर्चेज प्रक्रिया लाभदायक भएकाले सिस्टममा अपग्रेड नगरेको आरोप उत्पादक समाजका अध्यक्ष पदम बुढाको छ। उनी भन्छन्, 'हामीले विदेशमा रहेका संगीत सम्बन्धी व्यवस्था र प्रक्रिया नेपालमा लागू गर्न पनि धेरै सुझायौँ तर त्यसको रेस्पोन्स नै छैन।' विशेषगरी एनसेलमा मात्रै रहेको यो पर्चेज प्रक्रियामा प्रतिहप्ता पाँच करोड रुपैयाँ बराबर संगीत व्यवसायीको खर्च हुने गरेको हिसाब पनि संगीत व्यवसायीले निकालेका छन्।
 

प्रकाशित: २ माघ २०७१ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App