६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

एपीएफको निरन्तर जीत

कान्छो विभागीय टोली एपीएफ नेपाली भलिबलमा स्थापित भइसकेको छ। भलिबलमा आफ्नो वर्चस्व बलियो बनाउने क्रममा एपीएफले मंगलवार दोस्रो सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय भलिबलको उपाधि रक्षा गर्‍यो।
घरेलु भलिबलको सर्वाधिक राशिको नकआउट प्रतियोगिताको पहिलो संस्करण जित्दा एपीएफले न्यू डायमन्ड एकेडेमीलाई हराएको थियो। दोस्रो संस्करण जित्दा नेपाल पुलिस क्लबलाई सोझो सेटमा २५–२१, २५–१८, २५–२३ ले पराजित गर्‍यो।२०६१ सालमा संगठन स्थापना भएदेखि नै एपीएफले खेलकुदलाई प्राथमिकता राखेको छ। उसले भलिबलमा गरेको लगानी कोर्टमा पनि देखिएको छ। अहिले एपीएफका पाँच खेलाडी राष्ट्रिय टोलीमा छन्। राष्ट्रिय टोलीका मुख्य खेलाडीले भरिएको एपीएफले पछिल्लो समय लगातार सफलता हासिल गदै महिला भलिबलको शीर्ष स्थान जोगाइरहेको छ।
पछिल्लो दुई वर्ष उपाधि जित्दा लगातार तीन पल्ट फाइनलमा पुलिसलाई हराइसकेको छ। भलिबलमा सफल छवि बनाए पनि पुलिस पछिल्लो समयमा एपीएफसँग लगातार निराश बन्दै गइरहेको छ। एपीएफका प्रशिक्षक कपिलकिशोर श्रेष्ठ लगातार सफलता हासिल गर्नुमा खेलाडीको मेहनत मुख्य कारण भएको बताउँछन्। उनी भन्छन्, 'योजना र विभागको सहयोगले लगातार च्याम्पियन बन्न सहयोग गरिरहेको छ। यसमा खेलाडीको मेहनत मुख्य कुरा हो।'
30२०६९ सालमा पुलिसलाई हराएर ढोरपाटन डबल लिग महिला भलिबलो उपाधि जितेयता एपीएफले पुलिसलाई फाइनलमा लगातार हराउँदै आएको छ।
एपीएफले पुलिसलाई एक वर्षअघि पोखरामा १८ औँ राष्ट्रिय महिला भलिबलमा ३–० सेट, एक साता बुटवलमा सम्पन्न १९ औँ राष्ट्रिय महिला भलिबलमा ३–२ सेटले हराउँदै उपाधि चुमेको थियो।
सशस्त्र प्रहरीले गर्ने सर्वाधिक पुरस्कार राशिको नकआउट प्रतियोगिताको उद्घाटन खेलमा पनि एपीएफले पुलिसलाई २५–२१, २३–२५, २५–१८, २५–१७ ले हराएको थियो।
मंगलवार एपीएफलाई दोस्रोपल्ट सशस्त्र प्रहरी महानिरीक्षक भलिबलको उपाधि दिलाउँदा नेविका चौधरीले उत्कृष्ट प्रर्दशन गरिन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुँदै स्कुटर पाएकी नेविकाले फाइनलमा २० स्कोर गरिन्। नेविका राष्ट्रिय टोलीकी पनि मुख्य स्पाइकर हुन्। यसैगरी एपीएफको उपाधि रक्षा अभियानलाई सफल बनाउन सरस्वती चौधरीले १४, कप्तान निमा श्रेष्ठले १० र रेश्मा भण्डारीले ७ स्कोर गरिन्।
फाइनलमा निराश भएपछि पुलिसका प्रशिक्षक सुदेशकुमार रिमालले टोली संरचना नै परिर्वतन गर्नुपर्ने बेला आएको बताए। राष्ट्रिय टोलीको समेत प्रशिक्षक रहेका रिमालले भने, 'लगातार एपीएफसँग हार्दा दबाब बढेको छ। हामीले विभागलाई नयाँ खेलाडी थप्नका लागि जानकारी गराइसकेका छौँ। टिममा एउटा होइन, सबै पोजिसनको वैकल्पिक खेलाडी खोज्नुपर्ने भइसकेको छ।'
रिमालले लिबेरो कमला पुन बाहेक अन्य खेलाडीको डिफेन्सबाट सन्तुष्ट हुन नसकेको बताए। उनले भने, 'खेलमा कमब्याक र अग्रता लिँदा पनि हार्नु भनेको टोलीको सबै पोजिसन राम्रो छैन भन्ने हो। अब हामीलाई टोलीमा नयाँ खेलाडी अति आवश्यक छ।' फाइनलमा पुलिसकी कोपिला र रमिलाले टोलीको स्कोर बढाउने प्रयास गरे। कोपिलाले १९ र रमिलाले फाइनलमा १५ अंक जोडेका थिए।
यसैगरी गत वर्ष एपीएफ भलिबलको फाइनल खेलेको न्यू डायमन्ड एकेडेमी पश्चिमाञ्चलाई सोझो सेटमा २५–२१, २५–२२, २५–२१ ले हराउँदै तेस्रो भयो। डायमन्डकी सेटर कृपा अधिकारी ओमन अफ द म्याचबाट पुरस्कृत भइन। डायमन्डको जीतमा महŒवपूर्ण योगदान गरेकी प्रतिभा मालीले सेमिफाइनल र तेस्रो स्थानका लागि भएको खेलमा ५४ स्कोर गरिन्। राष्ट्रिय टोलीकी समेत मुख्य स्पाइकरमा स्थान बनाएकी १३ वर्षे प्रतिभा जारी प्रतियोगिताको पनि सर्वाधिक स्कोरकर्ता हुन्।
मंगलवार उपाधि जितेको एपीएफले २ लाख ५० हजार, उपविजेता पुलिसले १ लाख २५ हजार र तेस्रो भएको डायमन्डले ५० हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको प्रत्येक विधाका उत्कृष्ट खेलाडीले जनही पाँच हजार रुपैयाँ प्राप्त गरे।

प्रकाशित: १ माघ २०७१ ११:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App