इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक म्यानुअल पिलेग्रिनीले आर्सनलका खेलाडी एलेक्सिस सान्चेज इंग्लिस क्लबका उत्कृष्ट खेलाडी भएको दाबी गरेका छन्। पिलेग्रिनीले सिटीका सर्जियो अगुइरोभन्दा पनि सान्चेज उत्कृष्ट भएको बताए। अगुइरोले घाइते भएका कारण सिटीका लाग खासै प्रदर्शन गर्न सकेका छैनन्।
छ महिनाअघि बार्सिलोनाबाट आर्सनलमा आएका सान्चेजले आफूलाई उत्कृष्ट प्रमाणित गरेको दाबी गर्दै पिलेग्रिनीले भने, 'म देखिरहेको छु, उसले हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।'
चिलीको नागरिक भएका कारणले पनि आफू सान्चेजको सफलताबाट खुशी भएको पिलेग्रिनीले बताए। 'ऊ गोल स्कोरर होइन,' उनलेे भने, 'तर, पछिल्ला खेलमा उसले गोल गर्ने क्षमता विकास गरिसकेको मैले देखेँ।' ६१ वर्षका पिलेग्रिनी र सान्चेज दुवै चिलीका हुन्।
बार्सिलोनाका लागि १ सय ४१ खेलमा ४७ गोल गरेका सान्चेजले आर्सनलका लागि यो सिजनमा ३० खेल खेल्दै १८ गोल ठोकेका छन्। उनी छ महिनाअघि ३ करोड २० लाख पाउन्डमा बार्सिलोनाबाट आर्सनल आएका हुन्।
प्रकाशित: १ माघ २०७१ ११:२३ बिहीबार



-600x400-wm.jpg)

