१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस फुटेर चुनाव रोकिँदैन, चुनावको विकल्प नै छैन: प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन्। चितवन आएर भरतपुर महानगरपालिकाको प्रशासकीय भवन उद्घाटनपछि बोल्दै उनले चुनाव हुने–नहुने भन्ने अन्योल स्वाभाविक भए पनि अब निर्वाचन अवश्य हुने दाबी गरे।

उनले सरकार, राजनीतिक दलहरू तथा नेपालको राजनीतिक घटनाक्रममा चासो राख्ने कूटनीतिक क्षेत्र सबै निर्वाचनको पक्षमा रहेको भन्दै शंका नगर्न अनुरोध गरे।

‘हामी अहिले निर्वाचनको मुखमा छौँ। सबैले सोध्छन्, हुन्छ कि हुँदैन चुनाव ? मैले भनेको छु, चुनाव हुन्छ,’ प्रचण्डले भने, ‘संविधानसभा निर्वाचनका बेला पनि अन्तिम दिनसम्म शंका थियो, तर चुनाव भयो। अहिले पनि चुनाव हुन्छ।’

प्रचण्डले निर्वाचन आयोगमा समानुपातिक सूची बुझाइसकिएको, प्रत्यक्षतर्फको मनोनयन मिति नजिकिँदै गएको र आफ्नो पार्टीले प्रत्यक्षतर्फ टिकट बाँड्न सुरु गरिसकेको जानकारी दिए।

‘मैले हिजोबाटै टिकट बाँड्न सुरु गरिसकेको छु। हिजो काठमाडौँमा टिकट बाँडेर आज चितवन आएको हुँ,’ उनले भने, ‘सरकार, दलहरू र जनता सबै चुनावी मानसिकतामा प्रवेश गरिसकेकाले चुनाव हुन्छ।’

उनले निर्वाचनबाहेक देशका लागि अहिले अर्को कुनै विकल्प उपयुक्त नभएको तर्क गरे। ‘अरू विकल्प असहज छन् र दुर्घटना निम्त्याउन सक्छन्,’ उनले भने, ‘निर्धारित समयमा स्वच्छ र निष्पक्ष चुनाव गराउन सबैले योगदान दिनुको विकल्प छैन।’

भाषणका क्रममा प्रचण्डले भदौ २३ र २४ को परिस्थितिपछि २६ गते राति आफू सहित राजनीतिक दलका नेतृत्वलाई राष्ट्रपति र प्रधानसेनापतिले बोलाएर देशलाई निकास दिने विषयमा छलफल भएको स्मरण गरे। त्यस बेला तत्काल अन्तरिम सरकार बनाएर निर्वाचनमा जानुपर्ने प्रस्ताव आफूले राखेको र राष्ट्रको गरिमा जोगाउन जनतामै जानु अपरिहार्य भएको उनले बताए।

नेपाली कांग्रेसको विशेष महाधिवेशन र पार्टी फुटको अवस्थाले निर्वाचन प्रभावित हुने हो कि भन्ने अन्योलबारे सरकार, निर्वाचन आयोग र सुरक्षा संयन्त्रसँग बुझ्दा कांग्रेसको विभाजनले निर्वाचन प्रक्रियामा असर नपर्ने प्रतिक्रिया पाएको प्रचण्डको भनाइ छ।

उनले कांग्रेसको आधिकारिकता र विभाजनसम्बन्धी विवाद छिट्टै निरूपण हुने दाबी गर्दै त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरे।

‘भरे–भोलिसम्म कांग्रेसको विवादबारे केही न केही निष्कर्ष निस्किन्छ,’ उनले भने, ‘त्यसपछि निर्वाचन प्रक्रियामा जान्छ। सरकार र अन्य राजनीतिक दलहरू प्रतिबद्ध देखिएका छन्। यो प्रक्रियालाई सहज बनाउन सबैसँग अपिल गर्दछु।’

 

प्रकाशित: २ माघ २०८२ १४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App