६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

घरमा था'पत्तो नदिई गायिका भएँ : रमिला न्यौपाने, लोकगायिका

गायिका देविका केसीको साथ लागेर म स्कुलदेखि नै गायनमा अग्रसर हुन्थेँ। घरमा अवस्था कस्तोसम्म थियो भने एनटीभीबाट रामप्रसाद खनालले चलाउने दोहोरी कार्यक्रममा म सहभागी हुँदा छरछिमेकले देख्लान् भनेर आमा चिन्तित हुनुहुन्थ्यो।
एसएलसी सकिएपछि पढ्न भनेर म साथी देविकाकै साथमा काठमाडौँ आएँ। अन्तर्मनमा गायिका बन्ने चाहना थियो। काठमाडौँ आउनुको खास उद्देश्य पनि त्यही थियो। गायिका बन्नका लागि गायन कक्षा लिनुपर्छ भन्नेसम्म थाहा नपाएर कलाकार भेटिन्छ भन्दै हामीले डान्स क्लास ज्वाइन गर्‍यौँ। त्यही डान्स क्लासबाट चिनजान भएका साथीहरूमार्फत पहिलोपल्ट काँठे गीत 'घर त नुवाकोट'मा स्वर भर्ने अवसर पाइयो। बिस्तारै गायिका बन्ने मेलोमेसो भेटियो।
सुरुमा दोहोरी गीत गाउन नआउने भएकाले हामीले केही काँठे गीतमा स्वर भर्‍यौँ। दोहारी सिक्नका लागि त्यतिबेला चलेका गीत 'खैरेनीमा गेट' र 'मौरी फूलमाथि' कतिपल्ट दोहोर्‍याइयो, हिसाबै छैन। बिस्तारै दोहोरी साँझमा काम गर्न थालियो। काम भएपछि घर (सिन्धुपाल्चोक)मा पैसा लिन जाने कुरा भएन। घरबाट 'खर्च कसरी चलाएकी छौ' भन्दा बोर्डिङमा पढाउने गरेको उत्तर दिइन्थ्यो।
दोहोरी साँझमा गाउन थालेको तीन वर्षसम्म त घरमा था'पत्तो दिइएन। हामी जनसांस्कृतिक महासंघका कार्यक्रममा पनि सहभागी हुन्थ्यौँ। यही क्रममा कतारमा म्युजिक फेस्टिभल हुने भयो। हामीलाई पनि निम्ता थियो तर पासपोर्ट थिएन। घरमा पासपोर्ट बनाउनुपर्‍यो भनेर जाँदा किन भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्यो। आमाभन्दा बुवा बुझकी हुनुहुन्थ्यो। त्यसैले आफू गायिका भएको र कतारमा बोलाएको नढाँटी भनिदिएँ। बोल्नुभएन तर पासपोर्ट बनाउन सघाउनुभयो।
गान्दर्भ संगीत पाठशालामा क्लासिक म्युजिक र तबला सिकेँ। दोहोरी साँझमा काम गरिरहेको र केही संगीत क्षेत्रका मान्छेसँग राम्रो सम्बन्ध भएकाले कार्यक्रम पाइरहे पनि आफ्नै गीत चलिरहेको थिएन। यही क्रममा तीजको समय थियो। एउटा तीजको गीत रेकर्ड गरेँ, 'भेट्न आउँदिन है कालु'। मेरा गीत त्यति नचलेकाले यसबाट पनि उस्तो आश गरेकी थिइनँ। जापानमा कार्यक्रम थियो, त्यतै गएँ। अरूले नै भिडियो गरेर बजारमा ल्याइदिए, गीत हिट भएछ। उतै बसेर सीआरबीटी डाउनलोड हेरेको म त चकित भएँ। जीवनमा सबैभन्दा धेरै खुशी भएको दिन पनि हो त्यो । त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन। केही दिनमै नयाँ गीत 'घाम लाग्यो शितलु भयो' आउँदैछ। यो गीतबाट पनि मैले निकै अपेक्षा गरेकी छु। (कुराकानीमा आधारित)

प्रकाशित: २५ पुस २०७१ १०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App