धार्मिक अतिवाद मानव सभ्यताका लागि सबैभन्दा बाधक तत्त्व मानिएको छ। आजका सभ्य मानवहरू यसैमा चिन्तित छन्। विश्वमा भएका र हुँदै गरेका यावत् विवाद तथा युद्धहरूको मूल कारण नै धार्मिक अतिवाद हो। अङ्ग्रेजी साम्राज्यको सबैभन्दा ठूलो अभीष्ट नै धर्म–परिवर्तन गराउनु रहेको देखिन्छ। बेलायती तथा अमेरिकी शासकहरूले धर्मप्रचारको सशक्त अस्त्रका रूपमा भाषालाई प्रयोग गरेको पाइन्छ।लामो समयसम्म बेलायती अर्थात् अङ्ग्रेजहरूले भारतलाई आफ्नो उपनिवेश बनाए। अङ्ग्रेजहरू भारतमा मात्र नभएर विश्वभरमै अङ्ग्रेजी भाषाको प्रभुत्व स्थापित गर्न चाहन्थे। उनीहरूको यस चाहनालाई अस्वाभाविक पनि भन्न सकिँदैन। एसियाली देशहरू चीन, जापान, कोरिया आदि देशमा अङ्ग्रेजी भाषाको अनिवार्यता खासैे देखिँदैन। भारतीय शिक्षामा अङ्ग्रेजी भाषा लगभग अनिवार्य विषय बनेको देखिन्छ। अङ्ग्रेजहरूले भारतीय भाषाहरूको अध्ययन गर्ने सिलसिलामा व्याकरण र शब्दकोशहरू बनाए। भारतीयहरू अङ्ग्रेजहरूले भाषाको सेवा गरिदिए भनेर मख्ख परे। त्यस सेवाको रहस्य र दीर्घकालिक प्रभावतिर ध्यान दिएनन्। अङ्ग्रेजहरू भाषाविज्ञान, व्याकरण र शब्दकोशका माध्यमबाट स्थानीय भाषा सिक्थे र तिनै स्थानीय भाषाहरूका माध्यमबाट बाइबलको प्रचार गर्थे।
नेपालको भूभागमा अङ्ग्रेजी साम्राज्यको प्रवेश प्रत्यक्ष रूपमा भएन। यसको पहिलो कारण नेपालका शाहवंशीय राजाहरू तिनका विपक्षमा रहनुलाई नै मान्न सकिन्छ। शाहहरूको सम्बन्ध मुगल शासक अर्थात् मुसलमान शासकहरूसँग थियो। नेपालको न्यायक्षेत्रमा अरबी वा फारसी भाषाका अधिक प्रयोग हुनुुले पनि यसको पुष्टि गर्छ। अङ्ग्रेजहरूले राणा शासकका माध्यमबाट नेपाली राजनीतिमा प्रभाव जमाउने प्रयत्न गरेको देखिन्छ। जङ्गबहादुरको 'बेलायत–यात्रा, इ.सं.१८५०' नेपालीहरूकै पहिलो बेलायत–यात्रा हो। नेपालमा 'दरबार हाइस्कूलको स्थापना, इ.सं. १८५४' सँगै नेपाली शिक्षामा बेलायती प्रभाव भित्रिएको देखिन्छ। प्रत्यक्षतः प्रवेश नपाएका बेलायतीहरूले नेपालमा धर्म–प्रचार गर्ने बाटो दार्जिलिङलाई बनाएको देखिन्छ। इसाई धर्मप्रचार गर्न चाहने अङ्ग्रेजहरूले नै नेपाली भाषाको पहिलो व्याकरण लेखेर छपाए। इ.सं. १८२० मा प्रकाशित नेपाली भाषाको पहिलो व्याकरणका लेखक जे.ए.एटन अङ्ग्रेज हुन्। उनले लेखेको 'अ ग्रामर अफ द नेपलिज ल्याङ्ग्वेज' नै नेपाली भाषाको पहिलो प्रकाशित व्याकरण हो। उनीपछिका अर्का विदेशी धर्मप्रचारक अर्थात् पादरी टर्नबुलको व्याकरण १८८८ पनि प्रभावकारी देखियो। वि.सं. १९६९ मा प्रकाशित हेमराज पण्डितको 'चन्द्रिका' व्याकरण तथा १९७६ मा प्रकाशित सोमनाथको 'मध्य–चन्द्रिका' व्याकरणमा समेत अङ्ग्रेजी भाषाको प्रभाव पर्यो। संस्कृतका धुरन्धर विद्वान्समेतबाट अङ्ग्रेजी भाषाको प्रभावमा परेर व्याकरण लेखिनुलाई तात्कालिक राणा शासकहरूको प्रेरणा तथा निगाहले काम गरेको देखिन्छ। चन्द्र शमशेरलाई प्रसन्न पार्नकै लागि व्याकरणको नाम 'चन्द्रिका' राखिएको भन्ने मत पनि तर्कसङ्गत छ। उनीहरूभन्दा पहिले नै वीरेन्द्र केसरी अज्र्यालले नेपाली व्याकरण वि.सं.१९४५–१९६२ लेखिसकेका थिए। वीरेन्द्र केसरीको व्याकरण उति बेला प्रकाशित हुन सकेन। नेपाली व्याकरणमा अङ्ग्रेजी व्याकरणको प्रभाव कहाँ–कहाँ पारियो भन्ने कुरा यसपछिको अङ्कमा उठाइनेछ। नेपाली भाषाको पहिलो शब्दकोश पनि विदेशी विद्वान् टर्नरले बनाइदिए।
प्रकाशित: १८ पुस २०७१ १०:१० शुक्रबार





