सगरमाथा चढ्ने अभियान चलाइरहेका एचआईभी संक्रमित गोपाल श्रेष्ठलाई विभिन्न संघसंस्था तथा व्यक्तिले आर्थिक सहयोग गर्न थालेका छन्। तीन सातामा आठ लाख रुपैयाँ संकलन भइसकेको श्रेष्ठले बताए।
देशविदेशका संघसंस्था उनको अभियान सफल पार्न आर्थिक संकलनमा जुटिरहेका छन्। जिल्ला विकास समिति कास्कीले मंगलवार श्रेष्ठलाई एक लाख रुपैयाँ दिएको थियो। कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले श्रेष्ठलाई चेक हस्तान्तरण गरे।'एचआईभी संक्रमितलाई अवसर दिए उनीहरूले जस्तोसुकै काम गरेर देखाउन सक्छन् भन्ने सन्देश दिन म सगरमाथा चढ्न लागेको हुँ,' श्रेष्ठले भने, 'सन् २०१५ को अप्रिलमा सगरमाथा चढ्दै छु।'
प्रकाशित: १७ पुस २०७१ ११:०० बिहीबार





