मेरो हिमाल!
मेरो ‘लेते खोला'!
विश्वास गर
मैले तिम्रो जीतको विश्वास गरेको छु
मानिस मर्छन्
जसरी डढेलोमा रूखहरू डढ्छन्
तर मानवता कहिल्यै मर्दैन
त्यो फेरि पलाउँछ
डढेलोपछि उमि्रने असंख्य च्याउहरूजस्तै।'
(भूपि शेरचन/हो–चि मिन्हलाई चिठी)एसियाको एउटा सानो देश भियतनामले अमेरिकी प्रभुलाई हावाकावा खेलाइरहेका बेला भूपि शेरचनले यो चिठी लेखेका थिए। भियतनामी राष्ट्रपति हो–चि मिन्ह र आफ्नो थातथलोको लेते खोलाबीच उनले चारित्रिक साम्यता देखे र भियतनामी गोल–मंगोल अनुहारका चेलीबेटी लुटिँदा आफ्नै दिदी–बहिनीमाथि अत्याचार भएको महसुस गरे। हो–चि मिन्हलाई यस्तो वर्गीय चिठी लेखिइरहेका बेलामा यता देशभित्र राजा महेन्द्रको ‘देश सुहाउँदो' व्यवस्थाले पाँच वर्ष पार गर्दै थियो, देशबाहिर उता उत्तरमा माओत्से तुङले उठाएको सांस्कृतिक क्रान्तिको झन्डाले पहिलो वर्ष नाघ्दै थियो। यति बेलासम्म भूपिले ‘धनवाद तिम्रो जनवाद हाम्रो एक दिन दाँजौला' शैलीका दस्तावेजी कविताको चरणबाट फड्को हानेर व्यंग्यचेतयुक्त विशिष्ट गद्यगतिको कमान्ड सम्हालिसकेका थिए। ‘घुम्ने मेचमाथि अन्धो मान्छे' भूपिको यही अवधिको त्यस्तो मानक कृति हो, जसले एकै झल्कोमा तत्कालीन नेपाली समाजको नागर चेतना कविताको ऐनामा देखाइदिन्छ। अनि कवि भूपिको परिचयलाई पनि यसैले पुष्टि गर्छ। तर, नेपाली कविता संसारले भूपिको स्मरण गर्दा पूर्वार्द्धको जग र उत्तरार्द्धको ओरालोतिर पनि आँखा चिम्लन भने मिल्दैन।
जनकविताको जग
जसरी लिखित वा मुद्रित सामग्रीलाई मात्रै साहित्य मान्ने शास्त्रले गरिबहरू, लेखपढ सिक्न नपाएकाहरू र श्रमसँग मात्रै जोडिनुपर्ने बाध्यतामा रहेका बहुसंख्यक मान्छेहरूको सिर्जनालाई साहित्य नै मान्दैन, ठिक त्यसरी नै बौद्धिक वा अस्पष्ट अभिव्यक्तिलाई मात्रै कविता मान्ने सम्भ्रान्त परम्पराले जनताको सामूहिक चेतनासहितको लोकलयलाई कविताको विशेषता मान्न अस्वीकार गर्छ। कविता लेखन संस्कृत अध्ययनमा पहुँच भएका ज्ञानीहरूको मात्रै ठेकेदारीमा चलेका बेलामा लोकलयमा लेख्नु वा लोकजीवनको लयलाई कवितामा बुन्नु असभ्य वा दोयम कर्म मानिन्थ्यो। लक्ष्मीप्रसाद देवकोटाले नेपाल भाषाको गीतिकाव्यलाई ‘मुनामदन' बनाउँदा पनि यस्तै चिन्ता व्यक्त गरेका थिए। भूपिले सुरुवाती चरणमा त्यही ‘असभ्य' बाटोमा खुट्टा राखे।
आठ दशकअघि मुस्ताङको व्यापारिक घरानामा जन्मँदा भूपिको आँगन–पिँडीमा कविता लेखनको कुनै विरासत अस्तित्वमा थिएन। उनले मन्दाक्रान्ता वा शार्दूलविक्रीडितका लघु–गुरु नियम पुर्ख्याैली सम्पत्तिमा पाएका थिएनन्। तसर्थ थाकखोले शेरचनका लागि चाहेर वा नचाहेर पनि जनजीवनमा प्रचलित झ्याउरे रोज्नु सजिलो बाटो थियो। किनभने यसै अनुमान गर्न सकिन्छ– लोकगायनको परम्परा लेते खोला वारिपारि अवश्यै हुँदो हो। त्यही लोकगायनको शैलीमा राजनीतिक चेतना भरेर उनले ‘नयाँ झ्याउरे' (२०१०) र ‘निर्झर' (२०१५) प्रकाशनमा ल्याए।
नेपालमा २००६ सालमा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको सेरोफेरोदेखि जनपक्षीय साहित्यले एक किसिमको वैचारिक ढाडस पाउन थालेको थियो। यही समयमा गोकुल जोशी र केवलपुरे किसानले लोकशैलीमा देशभित्रको जनविरोधी शासक वर्ग र देशबाहिरको पुँजीवादी अत्याचारी वर्गको उछितो काढ्न सुरु गरिसकेका थिए। कृष्णचन्द्रसिंह प्रधानको वैचारिक भूमिकासहितको ‘भञ्ज्याङनेरै' कविता संग्रह (२००८) र श्यामप्रसाद नेतृत्वको प्रगतिशील लेखक संघजस्ता ऐतिहासिक निर्मिति पनि यही बेलाका प्राप्ति थिए।
माओत्से तुङको नेतृत्वमा चीनमा ताते गर्दै गरेको नौलो जनवादी व्यवस्था र नयाँ विश्व व्यवस्थाको धुरी उठाइरहेको सोभियत संघको समाजवादी व्यवस्थाको रापताप नेपालसम्म पनि प्रभावशाली थियो भन्ने दृष्टान्त भूपिकै कविता हुन्। किशोर वयमै वनारस पढ्न पुगेका भूपेन्द्रमान सर्वहारा यस्तै विश्वपरिवेश र राष्ट्रिय परिवेशको आलोकमा क्रान्तिकारी भावनाबाट प्रेरित थिए। ‘आउनेछ जनवाद' शीर्षक कवितामा उनले भनेकै छन्– संघर्ष छिड्यो धन र जनको जितेर छाडौंला/पसिनाको कमाइ दाजु र भाइ बराबर बाँडौला।' यस्तै कवितालाई दृष्टिगत गर्दै आफूले देब्रेपन्थ छाडेपछि समालोचक तारानाथ शर्माले भूपिको पहिलो पुस्तकलाई ‘उग्रवामपन्थी गीतहरूको सँगालो' भनिदिएका हुनुपर्छ।
राजधानीमा देवकोटा, सम वा लेखनाथको सत्तामुखी अवसरवाद र सिर्जनाको सम्भ्रान्तपनाले परिपक्वता हासिल गरिसकेको समयमा भूपि वैचारिक प्रतिबद्धता र सामाजिकार्थिक यथार्थको काव्यात्मक उद्घाटन गर्दै खस नेपाली भाषाको काव्य प्रदेशमा प्रवेश गरेका हुन्। उनका प्रारम्भिक कविता बौद्धिकता वा सिँगारपटारका हिसाबले प्रारम्भिक नै छन् तर अन्तर्वस्तुको गाम्भीर्यतालाई ध्यान दिने हो भने क्रान्तिप्रतिको सम्मोहन र शासक वर्गको अत्याचारी चरित्रको उच्छेद गर्ने यी कवितालाई तत्कालीन सांस्कृतिक आन्दोलनका प्रभावशाली वैचारिक अस्त्र मान्न सकिन्छ। भूपिलाई ‘घुम्ने मेचमाथि अन्धो मान्छे'को उचाइमा पुर्यासउने जग वा सिँढी आखिर उनका प्रारम्भिक जनकविताहरू नै हुन्।
व्यंग्यचेतको उत्कर्ष
थाक टुकुचेबाट सिर्जनशील सपनासहित भूपि जब सहर छिरे, तब प्रयोगवादका नाममा कवितामाथि झेली गरिरहेका मान्छेहरूसँग उनी ठोक्किन पुगे। सहरमा एकातिर राजकविहरू महेन्द्रीय भाषणलाई इन्द्रवज्रा र उपेन्द्रवज्रामा अनुवाद गर्दै थिए, अर्कोतिर आत्मतुष्टिका लागि कविताका नाममा अमूर्तताको शब्द–जंगल खडा गर्नेहरूले इज्जत बटुलिरहेका थिए। झ्याउरे गाउँदै सहर पसेको थाकखोले कविले आफूलाई साबित गर्न अब पण्डितहरूको ‘शिष्ट' साहित्यको बौद्धिक परम्परासँग प्रतिस्पर्धा गर्नुपर्ने भयो। धनवादको अत्याचारलाई लोकलयमा हाँक दिँदै काव्ययात्रा आरम्भ गरेका भूपिलाई शैली र शिल्पमा मौलिक गोरेटो खन्नुपर्ने चुनौती आइलाग्यो।
मोहन कोइराला प्रभृतिका कविहरूले कवितालाई दुर्बोध्य र अस्पष्टताको घेराबन्दीमा होम्दै गर्दा भूपि कत्ति विचलित भएनन् र साधारण पाठकको संवेदना छामेर कलाको मर्यादा पालना गरिरहे। गोविन्द वर्तमानका शब्दमा भन्ने हो भने तिनताका ‘कविता पाठकबाट भागिरहेको थियो र पाठक कवितादेखि तर्सिएर भागिरहेका थिए।' तर, भूपिलाई उनको पूर्वार्द्धको जगले पनि शैलीमा सजिलै भगौडा हुने छुट दिँदैनथ्यो। जसले गर्दा उनले दोस्रो चरणमा लय चेतना र व्यंग्य चेतनाको अद्भूत समायोजन गरेर कवितालाई नेपाली जीवनतिर फर्काइदिए। कविता कविताका लागि भन्ने मान्यताको टेको समात्नेहरू ०२० को दशकतिर पाठक घटाउन यत्नरत थिए। कविताको धर्म छोड्नेहरू नै प्रयोगधर्मी कहलिएको परिदृश्यलाई भूपिले पक्कै पनि चुनौती ठहर्याएएको हुनुपर्छ। त्यसपछि उनले पाठकहरूको बोधलाई विस्तार मात्रै गरेनन्, लय चेतनाको सामूहिकता समेत निर्माण गरे। त्यसैले त अहिले उनका कविताको सरगम पाठकका ओठओठमा लयबद्ध छ।
गोपालप्रसाद रिमालले गद्य कविताको बाटो पहिल्यै खनिसकेका थिए, त्यही बाटोमा आफ्नो लयचेतना र व्यंग्यचेतनाको पाइन भर्ने काम भूपिले गरेका हुन्। लय, व्यंग्य र सामयिकताका त्रिवेणीजस्ता छन्, उनका अधिकांश कविता। उनका कविता लेखनको जग लोकगीत र लोक अनुप्रास योजना हो। ‘घुम्ने मेचमाथि अन्धो मान्छे' पुस्तक व्यंग्य कविताको त्यस्तो नमुना हो, जसले कवितालाई अकविता र हँसिमजाक दुवै हुनबाट जोगाएको छ। प्रयोगवादी भनिने कविहरूले पाश्चात्य काव्यको प्रभावलाई शब्दहरूको अमूर्ततामा व्यक्त गर्दै पाठकहरूलाई अल्मल्याइरहेका बेला भूपिले नेपाली अर्थतन्त्रका अधिरचनाका रूपमा देखिएका सांस्कृतिक विद्रुपतालाई व्यंग्यात्मक लय दिए। कवितालाई आफंै लेख्ने र आफैं बुझ्ने संकुचनबाट मुक्त गराएर सम्प्रेषणीय बनाउनेमध्येका एक प्रमुख जिम्मेवार उनै हुन्।
‘वीर नेपाली' निर्माण गरिरहेका बालकृष्ण सम वा ‘राष्ट्रवादी' जनतालाई प्रशिक्षित गरिरहेका माधव घिमिरेका अगाडि ‘गोर्खाली'लाई ‘गोरु खालि' भन्दै व्यंग्य गर्नु र ‘वीर'को मखुण्डो झिकेर ‘बुद्धु' वा ‘लाहुरे' देखाइदिनु व्यंग्यमात्रै थिएन, एक ढंगको प्रतिरोधी तरिका थियो। पञ्चायतले नेपाली ‘जाति'को एकमुखे अनुहार बनाउन अनेक सांस्कृतिक नीति लागू गरिरहेको थियो, भूपि भने ‘जहाँ स्वतन्त्र आमाहरूले छोरा होइन, लाहुरे मात्रै जन्माउँछन्' भनरे त्यही सत्तालाई कटाक्ष गरिरहेका थिए। माधव घिमिरे भन्दै थिए– ‘कुन शक्तिको सामूमा कहिले हामी झुकेथ्यौं?' भूपि भन्दै थिए– हामी फगत स्ट्राइकरद्वारा सञ्चालित ‘पुरानो क्यारेमबोर्डका गोटी हौं।' समकालका कविताको बीचमा भेटिने यही अन्तरविरोधले नै भूपिको उपस्थितिको सार्थकता पुष्टि गर्छ।
आउनलाई काठमाडौं सहरमा एउटा सम्भ्रान्त थकालीकै छोरो आएको थियो तर उसले सत्तांग कविद्वारा निर्मित काव्य प्रदेशमा बेग्लै भाषा बोलिरहेको थियो। देशलाई हेर्ने उसका आफ्नै जोर आँखा थिए। ऊ काठमाडौंमा ग्राहक खोज्न वा व्यापार गर्न आएको थिएन। पुर्ख्यौली विरासतलाई निरन्तरता दिन चाहेको भए उसले भूपेन्द्रमान शेरचनको विकल्पमा न सर्वहारा नाम राख्नुपर्थ्यो, न भूपि नै बन्नुपर्थ्यो। तर भनिन्छ– इतिहास निर्मम हुन्छ। एउटा इतिहासले भूपिलाई जन्मायो र अर्को इतिहासले ध्वस्त पार्योत। ‘घुम्ने मेचमाथि अन्धो मान्छे'मा उनी जुन उत्कर्षमा थिए, त्यसको केही वर्षपछि नै समयले उनलाई अवकर्षतिर धकेलिदियो।
उत्तरार्द्धको ओरालो
भूपिको उत्तरार्द्ध एउटा ऐतिहासिक त्रासदी थियो। यो अवधिले न पाठकलाई आकर्षित गर्योस, न काव्य जगतलाई कुनै मौलिकता दियो। उनको वैचारिक स्खलनका पांग्रा तीसको दशकको मध्यतिर आइपुग्दा दरबारमार्गतिर गुड्न थालिसकेका थिए। त्यसको कारक निरपेक्ष रूपमा भूपि एक्ला थिएनन्। उनी संलग्न भएको रायमाझी नेतृत्वको कम्युनिस्ट पार्टी राजसभातिर उक्लेपछि भूपिका वैचारिक पाइला ओरालिएका हुन्। तर, उनले विस्तार गरेको काव्य बगैंचाका बीउहरूले भने उनकै उत्तरार्द्धलाई निषेध गर्दै थिए र ब्याडमा विमल निभा, पूर्णविराम, श्यामल, इच्छुक, सुरेश किरण, आहुति, श्रवण मुकारुङ आदि टुसाउँदै थिए। पारिजातको निरन्तरको वैचारिक अविचलन पनि समानान्तरमै थियो।
राजाका नाममा कविता लेख्दा वा राजकीय प्रज्ञा प्रतिष्ठानमा जागिरे भइसक्दा भूपि कवि व्यक्तित्वबाट लगभग च्यूत भएका थिए। विचारमा मात्रै उनी ओरालो लागेका थिएनन्, शैली र शिल्पमा पनि ध्वस्तजस्तै थिए। जसरी राजनीतिमा केशरजंग रायमाझी वा डिपी अधिकारीहरू भूतपूर्व कम्युनिस्ट हुन पुगे, त्यसरी नै भूपि पनि ‘भूतपूर्व भूपि' मा फेरिइसकेका थिए। कम्युनिस्ट आन्दोलनमा साहित्यकारहरूको सम्बद्धता वा प्रतिबद्धता साँघुरिँदै–साँघुरिँदै जब पार्टीबद्धता वा नेताबद्धतामा खुम्चन्छ, त्यसले कवि–लेखकहरूलाई ‘भूतपूर्व भूपि'मै पुर्याैउने खतरा म अहिले पनि देखिरहेको छु। कहिलेकाहीँ पार्टी वा नेताभन्दा अघिअघि हिँड्नेहरू नै मोदनाथ प्रश्रितको पारामा धेरै ‘पर' पुग्ने ‘क्षमता' पनि राख्दा रहेछन्।
र, पुछारमा
भन्नैपर्छ– भूपि नेपाली सत्ता–संरचनाका उत्पादन थिएनन्, उनी कम्युनिस्ट आन्दोलनको पाखोबारीमा उम्रेका अर्ग्यानिक कवि थिए। त्यसैले अहिले पनि उनको नाममा अनुसन्धान गराउन सरकारी संस्थाहरू अनकन गर्छन्। उनले विस्तारित पारेको काव्यधाराको वर्तमान अस्तित्वलाई मान्यता दिन समीक्षक–समालोचकहरू ठसठस कन्छन्। केही पुरेतहरू भूपिलाई जँड्याहा कविका रूपमा चित्रण गर्दै हेयदृष्टिले हेर्ने र टीकाटिप्पणी गर्ने गर्छन्। केही समीक्षकहरू उनको धारा पछ्याउने कविताहरूलाई ‘लाउड' शैलीका भन्दै नाक चेप्राउँछन्। सरकारी ढर्राका समीक्षकहरूका लागि भूपि घाँटीमा अड्केको त्यस्तो हाड भएका छन्, निल्यो भने उनी पूरै कम्युनिस्ट देखिन्छन्, ओकल्यो भने राजावादी! समीक्षकहरूद्वारा पर पन्छाइए पनि भूपिका कविताको बजार–भाउ भने घटेको छैन, झन्झन् बढ्दै गइरहेको छ।
केही समयअघि कवि हरि अधिकारीले एक अन्तर्वार्तामा भूपिलाई ‘ओभर–रेटेड' अर्थात् चाहिनेभन्दा बढी भाउ दिइएका कविका रूपमा चित्रण गरेका थिए। यतिखेर भूपिकै भाउ किन बढे होला? अर्थशास्त्रीहरू भन्छन्– वस्तुको माग बढ्यो भने भाउ बढ्छ। शब्दशास्त्रीहरूले पनि बुझ्नु जरुरी छ– कविताका ग्राहक (पाठक) बीच भूपि शैलीका कविताको माग बढेपछि भूपिको भाउ बढेको हो। भूपिको उत्तरार्द्ध निषेध गर्दै त्यही ब्याडमा हुर्केको विमल, श्यामल, श्रवण, सुरेश, इच्छुक, आहुतिलगायतको मध्यपुस्ता वा अहिले सक्रिय नवपुस्ताले कवितामा भूपि–मार्गको विस्तार गरिरहेको छ। बजार त अहिले पनि वैचारिक दृष्टिले पछौटे र कलात्मक दृष्टिले उट्पट्याङ कविता बेच्न खोजिरहेको छ। तर, बजारसत्ताको दुःख के हो भने यसका लागि ग्राहक चाहिन्छ। यत्तिचाहिँ किटेर भन्न सकिन्छ– भूपिको भाउ कविताका ‘ग्राहक'ले बढाएका हुन्, कुनै खास समालोचक वा समीक्षकले होइन।
भूपिको भाउ यो देशको सरकारी समालोचनाको गुणस्तर तथा नापतौल विभागले अहिले पनि बढाउन चाहँदैन। प्राज्ञिक क्षेत्रले पनि सार्वजनिक रूपमा उनको काव्यशक्तिको ठोस मूल्य निर्धारण गरेको होइन। प्राज्ञिक संस्थाहरू त अहिले पनि भानुभक्तलाई ‘नेपाली' साहित्यको एकीकरणकर्ता पुष्टि गर्न र देवकोटालाई अनन्तकालसम्मका ‘सर्वाेत्कृष्ट' वा ‘महान्' कवि दाबी गर्न लागिपरेका छन्। विश्वविद्यालय अहिले पनि देवकोटाको ‘मुनामदन'माथि अनेक कोणबाट अनुसन्धान गराउँछ तर नेपाल भाषाको ‘जि वया ला लछि मदुनि' काव्यबारे मौन धारण गर्छ। माधव घिमिरेका सिलोकहरू दोहोर्या एर घोक्न लगाउँछ तर सोरठी वा सेलोको लय चेतनामाथि कर्के आँखा मात्रै तर्छ। गरिब, अनपढ, गाउँले वा आदिवासीका लोकगीत वा लोककवितालाई साहित्य नै नमान्ने परम्पराको दुरबिनले त्यही लोकशैलीलाई कवितामा ढाल्ने उपक्रमको किन भाउ बढाउँदो हो र?
काठमाडौं सहर यतिखेर पनि राजकविको सुकिलो फोटो खिच्न दगुरिरहेको छ। उसलाई गोकुल जोशीले गाएको गीत वा भूपि शेरचनले गुनगुनाएको झ्याउरेको मतलब छैन। यो सहर यतिखेर पनि देवकोटा शतवार्षिकी वा भानुभक्त दुई शतवार्षिकीको करोडौं हिसाब–किताबमाथि क्यालकुलेटर थिचिरहेछ, उसलाई पारिजातको प्रतिबद्धता वा विमल निभाको निष्ठाप्रति कुनै चासो छैन। भूपि गइसके, तर जीवन शर्माहरूले गाइहिँडेका गीतले उनको लेतेली सपनालाई निरन्तरता दिइरहेका छन्। भूपिलाई उनको समयको आन्दोलनले गलत बाटोमा पुर्यामएर लास बनायो, तर आजको आन्दोलनको बहुआयामिक कोखले भूपिमार्गी कविहरूलाई धेरै सचेत बनाइसकेको छ। त्यसैले साल्भाडोरलाई लेखिएका भूपिकै शब्द सापटी लिएर भन्न सकिन्छ :
‘त्यो चिहान तिम्रो चिहान मात्र हो
तिम्रा सपनाहरूको चिहान होइन
त्यो लास नजन्मेको शिशुको लास हो
जन्माउने कोखको त्यो लास होइन
तिम्रो हत्या तिमी व्यक्तिको हत्या हो
तिमीभित्र निहित शक्तिको हत्या होइन।'
(भूपि शेरचन/अमर सहिद : साल्भाडोर आएन्डेलाई श्रद्धाञ्जली)
प्रकाशित: ११ पुस २०७१ २३:४८ शुक्रबार





