६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

क्रिसमसमय काठमाडौँ

राजधानी क्रिसमसमय भएको छ। उपहार पसलहरूमा भीड र चहलपहल छन्। उपहार खरिद गर्नेहरू बाक्लिएपछि पसलेहरू दंग छन्। इसाई धर्मावलम्बी बाहेकले पनि क्रिसमसलाई रमाइलो पर्वका रूपमा लिन थालेपछि उपहारको बिक्री ह्वात्तै बढेको पसलेहरू बताउँछन्। घरको आँगनमा क्रिसमस ट्री ठड्याउने, सान्टा क्लस बनाउने, गिफ्ट साटासाट गर्ने गरिन्छ।
न्युरोडस्थित सुयसा गिफ्ट कर्नरमा भीडभाड छ। सञ्चालक सरोज राई र उनका सहयोगीहरूलाई भ्याइनभ्याइ छ। क्रिसमसको दिनसम्मै हो भीडभाड त,’ उनी दंग छन्, ‘पहिलाको भन्दा त धेरै बढेको छ व्यापार। क्रिसमस कमन बन्दै गएकाले व्यापार बढेको हो।' पोहोर उनले दुई लाख रुपैयाँको क्रिसमस गिफ्ट बेचेका थिए। यसपालि त क्रिसमसको दुई दिनअगाडि नै तीन लाखको व्यापार गरिसकेँ। पाँच लाख जति पुग्ला यसपटक,’ उनी भन्छन्। उनको पसलमा रु. ५० देखि दशौँ हजारसम्मको गिफ्ट पाइन्छ।
असनस्थित हेलेन गिफ्टकी सञ्चालक पनि क्रिसमस व्यापार बढेकोमा खुशी छिन्। पहिलापहिला क्रिसमसमा सुनसान हुँदा बोर लाग्थ्यो,’ उनले भनिन्, ‘अचेल त हप्तादिन अगाडि नै चहलपहल बाक्लिन्छ। व्यापार बढ्छ।उनी इसाई हुन्।
सुन्धारास्थित संकटा गिफ्ट जोनमा पनि क्रिसमस गिफ्ट किन्नेहरूको घुइँचो छ। पहिलाको भन्दा त धेरै बढेको हो व्यापार,’ जोनकी सञ्चालक सरिता वज्राचार्य भन्छिन्, ‘यसपटक पनि राम्रै छ।उनका अनुसार यसपटक गिफ्टमा बढेको मूल्यले केही प्रभाव पारेको छ। गाडी भाडा बढ्यो भनेर मूल्य बढाएर पठाएका छन् साहूहरूले सामान,’ उनले भनिन्, ‘यसले सामान्य प्रभाव त पारिहाल्छ।उनकोमा सान्टा क्लस पहिरन, ट्री र कप धेरै बिक्छन्।
शहरका अधिकांश रेस्टुरेन्ट तथा सपिङ मल पनि क्रिसमसमय बनेको देख्न सकिन्छ।
 
चर्चहरूको धुमधाम तयारी
सबैतिर क्रिसमसको रौनक बढेका बेला चर्चहरूले पनि धुमधाम तयारी गरेका छन्। हप्तादिन अगाडिदेखि नै चर्चहरूले रिहर्सलगरिरहेको देख्न सकिन्थ्यो। पर्व मनाउन कतै पैसा उठाउँदै गरेका त कतै समिति नै बनाएर तयारी बैठक बसिरहेका थिए।
नेपालकै पुरानोमध्येको एक ज्ञानेश्वरस्थित नेपाली इसाई मण्डलीले डिसेम्बर २१ देखि कार्यक्रमको तालिका बनाएको छ। २१ तारिखदेखि नै तीनटा समूह बनाएर सेवा र संगतिका कार्यक्रम गरिरहेका छौँ,’ चर्चका मिनिस्ट्री कोअर्डिनेटर सिमोन पाठकले भने, ‘२५ तारिखमा संयुक्त रूपमा धुमधाम कार्यक्रम हुँदैछ।उनका अनुसार यो चर्चमा तीन हजारभन्दा बढी सदस्य छन्। यस्तै, बसुन्धराको अनन्त आशा मण्डलीले पनि क्रिसमस मनाउने तयारी गरेको छ। अनन्तका पास्टर तितस राईले विभिन्न सेवा, भजन, नाचगान गरेर पर्व मनाउने जानकारी दिए।
पाटन चर्चका शेर एसीले जावलाखेलमा भव्य कार्यक्रम गर्न लागेको बताए। गत सालको भन्दा भव्य कार्यक्रम गर्दैछौँ,’ उनले भने, ‘हाम्रा जवानहरू सेवाका लागि खटिएका छन्। तयारी धुमधाम छ।

प्रकाशित: १० पुस २०७१ ०२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App