१३ पुस २०८२ आइतबार
image/svg+xml
अन्य

मञ्च–रंगमञ्च : मुक्त आकाशीय मञ्चन

नेपालमा २०३६ सालमा सर्वनामले सर्वप्रथम राजनीतिक आन्दोलनका रूपमा सडक नाटक सुरु गरेको मानिन्छ। सडक नाटकको नामबाट गरिएको त्यो पहिलो नाटक भए पनि नेपालमा मल्लकालदेखि नै मुक्त आकाशीय मञ्चनहरू हुने गरेका थिए। यो परम्परा आज पनि काठमाडौँका डबलीहरूमा देख्न पाइन्छ।
सर्वनामका अशेष मल्लले सडक नाटकलाई एउटा निश्चित उद्देश्यका साथ आम जनतामा राजनीतिक चेतना जगाउन र राज्यलाई दबाब दिन नाटकको यो शैलीलाई व्यवस्थाको विपक्षमा उपयोग गरेका थिए। त्यहाँदेखि यहाँसम्म आइपुग्दा सडक नाटकलाई विभिन्न अन्तर्राष्ट्रिय दातृसंस्थाको सहयोगमा गैरसरकारी संस्थाहरूले विभिन्न सन्देश आम मानिसमा पुर्‍याउन उपयोग गर्दै आइरहेका छन्। यद्यपि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास संस्थाले सडक नाटकलाई बढी 'विकासे' बनाएको आरोप पनि लाग्दै आएको छ। रंगकर्मीहरू पनि त्यो विकासे कर्मको हिस्सा बन्दै आइरहेका छन्।
अहिले सडक नाटकमा विभिन्न प्रयोग हुँदै यसलाई बढीभन्दा बढी र सिर्जनात्मक सदुपयोग गर्दै नयाँ–नयाँ शैलीहरूको पनि उपयोग हुँदै आएको छ। पछिल्लो समय नेपालमा कचहरी नाटक तथा कानुनी नाटकको पनि प्रयोग हुँदै आइरहेको छ। यसलाई सडक नाटकको विकसित र पछिल्लो अवस्थाको रूपमा पनि चित्रण गर्ने गरिएको छ। नेपालमा सुनील पोखरेलको अगुवाइमा परिचित कचहरी नाटक विकासे संस्थाहरूमा अलि प्रभावकारी हुँदै गइरहेको छ।
नेपालमा सडक नाटक नभनेर मुक्त आकाशीय मञ्चन नै भनेर पहिलो पटक अनामले धरानमा नाटक मञ्चन गरेको थियो। प्रकाश सायमीको निर्देशनमा २०४५ सालमा गरिएको सो नाटकको नाम 'निजी आँखाहरू' थियो। सैद्धान्तिक रूपमै मुक्त आकाशीय मञ्चन भनेर गरिएको सो नाटक नै पूर्वाञ्चलको पहिलो मुक्त आकाशीय नाटक थियो। यद्यपि रंगमञ्चको अभावमा वा अन्य कुनै उद्देश्यले खुला रूपमा नाटक वा अन्य मञ्चीय गतिविधि नभएका भने होइनन्।
केही वर्षअगाडि मञ्चमुक्त नाटकको रूपमा 'यात्रापथ' नामक शैलीको परिचय गराएका थिए, भारतका प्रोविर गुहाले। संसारका विभिन्न रंगकर्मीले यस्ता धेरै पृथक् शैलीका नाटकको प्रस्तुतीकरण विभिन्न कालखण्डमा गरिरहेका छन्। काठमाडौँका विभिन्न दरबार र अन्य स्थानमा डबलीको विकास भएको पाइन्छ। काठमाडौँबाहिर पनि विभिन्न शहरमा डबलीको अस्तित्व पाइन्छ। अर्थात्, ती स्थानमा ऊ बेलैदेखि रंगमञ्चीय गतिविधि हुने गरेका थिए भन्ने त्यसले पुष्टि गर्छ।
पछि त केही साथीले यसलाई अर्को नाम पनि दिए– धुले नाटक। त्यसैमा थपेर केहीले अझ क्रान्तिकारी बनाए– जनधुले नाटक। जे नाम दिए पनि ती मुक्त आकाशीय मञ्चनका विविध स्वरूप थिए। विभिन्न स्वरूपमा विकसित हुँदै आए पनि प्रस्तुतीकरणमा केही साझा कुरा तिनमा अन्तर्निहित थिए। स्वतन्त्र मञ्च यसको मुख्य विशेषता हो भने चौतर्फी दर्शक हुनु यसको अर्को विशेषता हो। यसले कलाकारलाई सहज पनि बनाएको छ भने कतिपय कलाकारलाई अप्ठेरो पनि बनाएको छ। कलाकारले परम्परागत मञ्चको नियमलाई मान्दै नाटकमा समाहित हुनुपर्ने कुरा कतिलाई सहज लाग्छ भने कतिपय कलाकार वरिपरि रहेका दर्शकका बीचमा वरिपरि नै अभिनय गर्नु असहज महसुस गर्छन्। सडक नाटकमा पनि ती सबै गर्न सकिन्छ जुन मञ्चमा गर्न सकिन्छ। रंगमञ्चको त्यही प्रस्तुतीकरणलाई मितव्ययी रूपमा सडक नाटकमा प्रस्तुत गर्न सकिन्छ।

प्रकाशित: ४ पुस २०७१ ०७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App