ऊर्जा मन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देशका वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन्।
आइतबार पोखरामा आयोजित पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन साहबिच ७ बुँदे सहमति भई एकताको प्रक्रिया अघि बढेको सन्दर्भमा घिसिङले पनि एकताको अपरिहार्यता औंल्याएका हुन्।
यद्यपि, उनले एकता वा सहकार्य गर्दा सम्मानजनक अवस्था हुनुपर्ने सर्त राखेका छन्।
कार्यक्रममा बोल्दै घिसिङले भने, ‘सबै एक भएर जानुपर्छ। सकेसम्म एक भएर जाने, नभए एउटा कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौं।’
उनले मूलधारका शक्तिहरू बिच पनि एकता वा सहकार्य गरेर जानुपर्ने धारणा राखे। ‘आजको दिन नेपाली जनताले वैकल्पिक शक्तिहरू एक होस्, अगाडि बढोस् र नयाँ नेतृत्व दियोस् भन्ने चाहना राखेका छन्,’ उनले थपे।
रवि र बालेनबिचको सहमतिमा आफू नसमेटिएको चर्चाबिच घिसिङले आफ्नो पार्टीको स्वाभिमान र अस्तित्वको सवाल उठाएका छन्। उनले भने, ‘उज्यालो नेपाल पार्टी सदैव एउटा सम्मानजनक उपस्थिति, आफ्नो सम्मान र स्वाभिमानलाई यथास्थितिमा राखेर, त्यसलाई नमेटाईकन सबैसँग सहकार्य गर्न तयार छ।’
उनले सहकार्य गरेरै अगाडि बढ्ने नीति रहेको र यस विषयमा विभिन्न पक्षसँग कुराकानी भइरहेको जानकारी दिए। ‘आगामी दिनमा यसको नतिजाहरू पनि धेरै आउनेमा म विश्वास व्यक्त गर्न चाहन्छु,’ उनले भने।
आइतबार मात्रै रवि लामिछाने र बालेन साहबिच ७ बुँदे सहमति भएको थियो। जसमा रविलाई पार्टी सभापति र बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने उल्लेख छ।
यसअघि कुलमान घिसिङसहितको त्रिपक्षीय छलफलहरू भए पनि अन्तिम सहमतिमा घिसिङ समेटिएका थिएनन्। पद बाँडफाँड र पार्टीको अस्तित्वका विषयमा कुरा नमिलेको आंकलन भइरहेका बेला घिसिङले सम्मानजनक सहकार्यको ढोका भने खुला रहेको बताएका छन्।
प्रकाशित: १३ पुस २०८२ १६:४५ आइतबार





