खोटाङमा जिल्लाव्यापी गायन प्रतियोगिता 'भ्वाइस अफ खोटाङ' सुरु भएको छ। 'समतामूलक समाज निर्माणका लागि सांगीतिक अभियान' भन्ने नाराका साथ नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको आयोजनामा बाक्सिलाबाट सुरु गरिएको 'भ्वाइस अफ खोटाङ'को पहिलो चरणको अडिसनबाट १३ जना छनोट भएका छन्।
अडिसनमा सहभागी २६ प्रतिस्पर्धीमध्ये रोहन राई, राजेश राई, सुगम राई, सुचन राई, मनोज राई, सन्तोष राई, ईश्वर राई, दीपशिखा राई, रकेन्द्र राई, अनिल राई, कुन्तीकुमार राई, ऋतु राई र मिलन राईले अडिसन पार गरेका छन्।तीन चरणका अडिसनपछि प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कारका साथै संगीत विद्यालयमा अध्ययन गर्ने र फिल्ममा गीत गाउने अवसर दिइने संघका सचिव दीपक ठटालले बताए।
पहिलो चरणको अर्को अडिसन आगामी पुस १७ मा दिक्तेलमा गरिने कार्यक्रम छ। ऐंसेलुखर्क, लामीडाँडा, हलेसी, बुइपा, मानेभञ्ज्याङ, सछितापोखरी, खोटाङबजार लगायतका नौ स्थानमा अडिसन सञ्चालन गर्ने आयोजकको योजना छ।
'गाउँ–गाउँमा लुकेका प्रतिभालाई उजागर गर्नु हाम्रो उद्देश्य हो,' संघका अध्यक्ष चर्च विश्वकर्माले भने, 'अवसर नपाइरहेका प्रतिभाको सफलताका लागि मार्ग निर्देशन गर्नु हाम्रो दायित्व हो।'
प्रकाशित: ३ पुस २०७१ ११:२५ बिहीबार





