७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

फेसबुके अपराधी

सामाजिक सञ्जाल त्यस्तो सहज डबली हो, जहाँ आफ्ना कुरा संसारलाई सुनाउन सकिन्छ। फेसबुक, ट्वीटर, स्काइप आदिले मान्छेलाई मान्छेसँग जोड्छन्, जानकारी तथा सूचना दिलाउँछन्। तर, एकथरी कलुषित मानसिकताधारीहरू सामाजिक सञ्जाललाई अपराधको माध्यम बनाइरहेका छन्। सजना बराल, अम्मर जिसी र राजेन्द्र रिमालले प्रविधि दुरुपयोगको डरलाग्दो तस्बिर प्रस्तुत गरेका छन्।

करिब ४० लाख नेपाली फेसबुक चलाउँछन्। ट्वीटर, स्काइप, लिंक्डइन आदि चलाउनेको संख्या पनि ठूलै छ। भाइबर र वी–च्याटहरू पनि अचेल असाध्यै चल्तीमा छन्। यी समाजिक सञ्जाल र मोबाइल एप्सको काम समग्रमा एउटै हो– मान्छेलाई 'कनेक्ट' गराउने। तर, यिनले 'कनेक्ट' मात्रै गराइरहेका छैनन्। ठगी र जालसाजीका घटनामा सघाउ पनि पुर्‍याइरहेका छन्। ठग्ने र ठगिइनेको आँकडा बढाइरहेका छन्।
चाबहिल, काठमाडौँका दिनेश थापा सामाजिक सञ्जालमार्फत ठगिएका व्यक्ति हुन्। पाँच वर्षअघि उनी अफगानिस्तानमा थिए। त्यहीँ छँदा काठमाडौँ, सुकेधारा घर बताउने रोशनी श्रेष्ठलाई फेसबुकमा चिने। चिनजानपछि उनीहरू प्रत्येक रात च्याट गर्न थाले। दुई वर्षजति च्याटिङ र भिडियो कल गरे। दिनेशले रोशनीलाई साथी मानेका थिए। तर, जब उनी नेपाल आए, रोशनीसँगको साथीत्वले अर्कैै मोड लियो।
उनले रोशनीलाई भेटे। र, भेट्नासाथ उनको चरित्रबारे सुइँको पाए। 'मलाई त्यही बेला नै फसाउन खोजेकी रहिछ,' दिनेश भन्छन्, 'सुन्धाराको होटलमा बोलाएकी थिई। म पुग्नुअघि नै कोठा बुक्ड गरिएको थियो। मलाई त्यो रात त्यहीँ बस्न भनी। मैले मानिनँ। जबर्जस्ती निस्केँ।'
त्यही रातदेखि रोशनीको व्यवहार फेरिएको दिनेशको बुझाइ छ। 'ब्ल्याकमेल गरेजसरी बोल्नथाली,' उनी भन्छन्, 'धम्क्याउन पनि थाली। ऊबाट फुत्किन म विराटनगर गएँ।' उनी विराटनगर गएको कुरा उनकी श्रीमती गीतालाई मात्रै थाहा थियो। उता गएर दिनेशले फोन नम्बर फेरे। फेसबुक आईडी निष्क्रिय बनाए। तर, यतिले मात्रै उनको समस्या समाधान भएन। उल्टै विकराल बन्यो।
रोशनीसँग च्याट गर्दा दिनेशले आफ्नो घर–ठेगाना बताएका थिए। त्यसकै आधारमा रोशनीले दिनेशको घर पत्ता लगाइन्। दिनेश गायब भएपछि उनी चार/पाँच जना केटासहित दिनेशकहाँ पुगेकी थिइन्। घरमा गीता थिइन्। रोशनीले आफूलाई दिनेशले बिहे गर्छु भनेको बताएपछि गीतालाई भाउन्न छुट्यो। उनले तुरुन्त दिनेशलाई फोन गरिन्। दिनेशले सबै कुरा गीतालाई सुनाए।
रोशनीले दिनेशसँग भनिन्, 'दश लाख देऊ। नत्र, फेसबुकमा भएको हाम्रो कुराकानी र फोटोहरू लिएर पुलिसकोमा जान्छु।' आफूले उजुरी दिनुपर्नेमा उल्टै उसले उजुरी दिन्छु भनेको सुन्दा दिनेश दिक्क भए। 'दिऊँ भने त्यत्रो पैसा कहाँबाट ल्याएर दिनु ?' उनी सुनाउँछन्, 'नदिऊँ भने पुलिस प्रशासनको चक्कर, छरछिमेक, इष्टमित्र, ससुराली जताततै बदनाम भइने डर ! तीन लाख रुपैयाँमा कुरा मिलाएर पिछा छुटाएँ।'
चाबहिलमा भएको घर बेचेर अहिले दिनेश अन्तै बस्छन्। फोन नम्बर फेरेका छन्। 'फेसबुकमा कुनै केटीको रिक्वेस्ट आयो कि तर्सिन्छु,' उनी अचेल यसो भन्छन्।
०००
 
केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी नरेश मल्लका अनुसार इन्टरनेटबाट हुने अपराधमा फेसबुक, ट्वीटरजस्ता सञ्जालले ठूलो भूमिका खेलिरहेका छन्। 'सबैभन्दा बढी अपराध फेसबुकबाटै सुरु हुने गरेका छन्,' उनी भन्छन्, 'फेसबुकमा चिनजान भएपछि मोबाइल एप्स प्रयोग गर्न थाल्छन्। एप्स सजिला र सस्ता भइदिनाले यिनको उपयोग गरिन्छन्। यसर्थ, सामाजिक सञ्जालसँगै मोबाइल एप्सले पनि साइबर अपराधमा सघाउँछन्।'
महानगरीय प्रहरी परिसर हनुमानढोका, अपराध महाशाखाका प्रवक्ता एसपी भूपालकुमार भण्डारीका अनुसार सामाजिक सञ्जालमार्फत भएका ठगीका घटना प्रायः प्रहरीसम्म आइपुग्दैनन्। 'पछिल्लो पटक छ हजार रुपैयाँ ठगिएको घटना आएको थियो,' उनले भने, 'योभन्दा ठूलठूलो रकम पनि ठगिन्छन्। तर, त्यस्ता केस हामीकहाँ खासै आउँदैनन्।'
०००
 
धरानका राजीव श्रेष्ठ इराकमा काम गर्थे। निशा कार्की भन्ने केटीसँग फेसबुकमा नियमित गफगाफ हुन्थ्यो उनको। निशा आफूलाई नेटोमा कार्यरत बताउँथिन्। यही कुराले राजीवलाई लोभ्याएको थियो। निशासँग सामीप्य बढाएर अमेरिका छिर्ने दाउ थियो उनको।
दुई वर्षको इराक बसाइपछि राजीव छुट्टीमा नेपाल आए। उनी नेपाल आएको भोलिपल्टै निशा उनलाई भेट्न होटलमै आइपुगिन्। राजीव छक्क परे। निशाले 'तिमीलाई सरप्राइज दिन केही भनेकी थिइनँ। दुई महिनाका लागि नेपाल आएकी हुँ' भनिन्। राजीवले पत्याए। र, 'यही मौकामा बिहे गरौँ'समेत भने। निशाले पर्खिन भनिन्।
अर्को दिन निशाले उनलाई ठमेलको एउटा होटलमा बोलाइन्। राजीव गए। अमेरिका, परिवार, छोराछोरी, समृद्धिको सपना देख्दै उनी होटलमा पुगेका थिए। तर, सपना चकनाचुर भयो। कोठाभित्र छिर्नासाथ निशाले ढोका ढप्काइन्। कोठाभित्र अरू दुईचारजना केटा पनि थिए। तिनले राजीवलाई पाँच लाख रुपैयाँ नदिए ठाउँको ठाउँ सिध्याउने धम्की दिए। निशाको असली कामबारे पर्दाफास भयो। 'ऊ त ठग रै'छे,' उनी भन्छन्, 'अमेरिकाको लोभले फसियो।'
राजीवले बैँकबाट तुरुन्तै पैसा झिकेर 'ठगहरू'लाई बुझाए। र, तिनको चंगुलबाट उम्किए। 'त्यो दिनदेखि फेसबुक चलाउने आँट आएको छैन,' उनले भने।
सामाजिक सञ्जालको दुरुपयोगले यस्ता खाले अपराध नित्म्त्याइरहेका छन्। पछिल्लो समय सांगठनिक रूपमै पनि साइबर अपराध फस्टाएको प्रहरी बताउँछ। 'विभिन्न सामाजिक सञ्जालमार्फत मानव बेचबिखन, रकम असुली र ठगीजस्ता घटना हुने गरेका छन्,' डीएसपी मल्ल भन्छन्, 'प्रविधिको सहज पहुँचलाई दुरुपयोग गर्नेहरू सलबलाउन खोज्दै छन्।'
०००
 
काठमाडौँका पवन शर्माको फेसबुक–फ्रेन्ड थिइन्, इक्वेडरकी एक महिला। उनलाई पवनले नै फ्रेन्ड रिक्वेस्ट पठाएका थिए। फेसबुकमा साथी बनेपछि पवनले उनीसँग घण्टौँ च्याट गर्न थाले। दुई छोराकी आमा ती महिलाले शर्मालाई इक्वेडर बोलाइन्। खर्च पनि उतैबाट पठाइदिइन्। दुईपटक गरेर नौ हजार अमेरिकी डलर लिएपछि शर्माले फेसबुक 'डिएक्टिभेट' गरिदिए। फेसबुकमा कुरा गरेकै भरमा डलर हात पारेपछि उनीसँगको सम्बन्ध तोडेका थिए पवनले।
काठमाडौँ, नयाँ बानेश्वरका सुनील रोकाका दाजु दुबईमा थिए। फोनमा बढी पैसा लाग्ने भएकाले दाजु–भाइ प्रायः फेसबुकमै कुराकानी गर्थे। सुनीलको फेसबुकको पासवर्ड उनका केही साथीलाई थाहा थियो। 'केटाहरूले उनीहरूका गर्लफ्रेन्डलाई क्रस–चेक गर्न मेरो आईडी प्रयोग गर्थे,' सुनील भन्छन्, 'उनीहरूलाई मेरो पासवर्ड थाहा थियो।'
एकदिन सुनीलका दाजुले भाइलाई एक लाख रुपैयाँ आईएमई गरिदिए। आईएमईको नम्बर चाहिँ फेसबुकमै म्यासेज गरिदिए। सुनील दंग पर्दै पैसा झिक्न गए। तर, त्यो नम्बरमा आएको पैसा झिकिसकिएको थियो। सुनील चकित भए। 'कुन चाहिँ साथीलाई दोष लाउनु ?' उनी भन्छन्, 'पुलिस केस गरौँ कि जस्तो लागेको थियो। तर, 'दाइले झन्झट हुन्छ, चुप लागेर बस्, छोड्दे' भन्नुभयो।'
साइबर अपराधका यस्ता घटना प्रहरीसमक्ष नपु¥याइनाले नै अपराधीको मनबोल बढिरहेको डीएसपी नरेश मल्लको भनाइ छ। केही समयअघि काठमाडौँका एक व्यापारीलाई अपहरण गरी फिरौती माग गरिएको थियो। उक्त अपहरणलाई काठमाडौँ प्रहरीको सक्रियताका कारण असफल बनाइएको थियो।
०००
 
हनुमानढोका प्रहरी परिसरको साइबर अपराध शाखाको तथ्यांक हेर्दा सबैभन्दा धेरै साइबर अपराध सामाजिक सञ्जालबाट हुने गरेका देखिन्छन्। यस वर्ष अहिलेसम्म सामाजिक सञ्जालबाट भएको अपराधको संख्या १६ वटा, इमेल–थ्रेट दुइटा र ह्याकिङ एउटा छन्। अघिल्लो वर्ष ५६ वटा उजुरी दर्ता भएका थिए। आर्थिक वर्ष २०६९/७० मा यो संख्या ३२ रहेको थियो। देशका अन्य कुनै पनि शाखाले साइबर अपराध हेर्दैनन्। यो सम्बन्धी सबै उजुरी केन्द्रीय रूपमा काठमाडौँमा मात्र हुने भएकाले यो संख्या कति कम हो भन्ने अनुमान गर्न सकिन्छ। साइबर अपराधको मुद्दा पनि विशेष अदालत काठमाडौँमा मात्रै सुनुवाइ हुन्छ।
०००
 
विदेशमा रहेका नेपाली वा विदेशीलाई नै पनि खोजी–खोजी साथी बनाउने र उनीहरूको विश्वास जितेपछि पैसा माग्ने गरिएका केही घटना हामीले भेट्यौँ। स्कुल/कलेज पढ्ने युवायुवतीसमेत यस्तो कार्यमा सामेल भएको पाइयो। स्वयम्भूस्थित एक विद्यालयकी छात्राले आफ्नैबारे बताइन्। 'मेरो मंकुत थोइक्सुबन भन्ने थाइल्यान्डको साथी छ,' उनले भनिन्, 'उसले मलाई मन पराउँछ। मैले जे मागे पनि पठाइदिन्छ।'
उनले ती थाई केटोलाई आफैँले खोजेर फ्रेन्ड–रिक्वेस्ट पठाएको बताइन्। उनले रिक्वेस्ट एसेप्ट गरेपछि नेपाली छात्राका दिन फिरे। वर्षदिनयता उनले थाइल्यान्डबाट १५ हजार भाट हात पारिसकेकी छन्। 'उसले मेरो साथीको दिदीको नाममा पैसा पठाउँछ,' उनले भनिन्, 'दिदीलाई अलिअलि दिएर बाँकी पैसा म लिन्छु।' थाई युवाले उनलाई आफ्नो देश लग्ने बताएका छन् रे। 'तर, म जान्नँ,' उनले भनिन्, 'अब ऊसँग धेरै बोल्ने प्लान छैन मेरो।'
साइबर कानुनबारे धेरै नेपालीलाई जानकारी छैन। ह्याकिङ, क्य्राकिङ, पोर्नोग्राफी, चरित्र हत्या, भाइरस, सफ्टवेयरको नक्कल, विद्युतीय ठगी, धम्की, रकम असुली, पासवर्ड चोरी, मानव बेचबिखन, कीर्ते, लागुऔषध कारोबार आदि साइबर क्राइमअन्तर्गत पर्छन्। अपराधका यी घटनालाई हेर्ने विद्युतीय कारोबार ऐन, २०६३ को प्रावधान छ।
०००
 
गोंगबु, काठमाडौँका सञ्जय महर्जनको फेसबुकमा बेला–बेला एउटी युवतीको म्यासेज आइरहन्थ्यो। सुरु–सुरुमा उनले वास्ता गरेनन्। 'कसैले झुक्याएको होला भन्ठानेँ,' उनी भन्छन्, 'तर, हप्तैपिच्छे म्यासेज आउन थालेपछि रिप्लाई गर्न थालेँ।'
उनलाई म्यासेज पठाउने केटी लन्डनकी थिइन्। 'खैरिनी पट्याउन पाए गज्जब हुन्थ्यो' भन्ठानेर दिनरात ऊसँग च्याट गर्न थालेको सञ्जय स्विकार्छन्। ''नेपाल आउँदा तिमीले घुमाइदिनुपर्छ' भन्थी,' उनी भन्छन्, 'मैले पनि 'मलाई लन्डन लैजानुपर्छ' भनेको थिएँ।' स्काइप र भाइबरमा कुराकानी गर्थे उनीहरू। छ महिनाजति गफिएपछि ती युवतीले सञ्जयसँग गुहार मागिन्। 'मेरी आमालाई क्यान्सर भएको छ,' युवतीको भनाइ उद्धृत गर्दै सञ्जयले भने, 'केही पैसा सापट देऊ। दुई महिनापछि नेपाल आएर फिर्ता गर्छु।'
सञ्जयले उनले दिएको ठेगानामा पचास हजार रुपैयाँ पठाएको तर फिर्ता नआएको बताए। 'पैसा पठाएपछि त्यो केटी बेपत्ता भई,' उनले भने, 'पैसा मनिग्रामबाट पठाएको थिएँ। उताबाट निकालिएको छ। कसले निकाल्यो, थाहा छैन।'
विदेशी केटीका नामबाट म्यासेज आउने, साथी बन्न खोज्ने र सहयोग माग्नेहरू जो कसैको 'टाइमलाइन' वा 'म्यासेज बक्स' मा देखापर्न सक्छन्। त्यस्तासँग कुरा गर्ने वा उनीहरूका भनाइ टेर्नेहरू डुब्ने गरेका छन्। कतिपय महिला तथा युवतीलाई त झन् पैसाका लागि मानसिक यातनासमेत दिने गरेको पाइयो।
केही समयअघि बुटवलकी एक रेडियो प्रस्तोता पनि सामाजिक सञ्जालको जञ्जालमा जाकिएकी थिइन्। 'मेरो इन्बक्समा मेरै न्युड फोटो आएको थियो,' उनी भन्छिन्, 'तीस हजार रुपैयाँ नदिए फोटो भाइरल बनाइदिने चेतावनी दिएका थिए। मलाई मरौँ कि बाँचौँजस्तो भएको थियो।' उनले पैसा दिन्छु भन्दै रिप्लाई गरिन्।
'पैसा लिएर जाँदा चिनेकै दाइले त्यस्तो गरेको थाहा पाएँ,' उनी भन्छिन्, 'यो कुरा बाहिर ल्याइस् भने ठीक हुँदैन भनेका थिए। तर, मैले ममी–ड्याडीलाई भनेँ। पुलिस केस गर्न आँटेका थियौँ। त्यो दाइ गाउँबाटै हराए। र, अहिलेसम्म फर्किएका छैनन्।'
०००
 
नेपालमा साइबर कानुनको प्रावधान भए पनि यस्ता घटनाबारे उचित अनुसन्धान हुने गरेको पाइँदैन। क्राइम रिपोर्टर केपी ढुंगाना भन्छन्, 'साइबर क्राइममा पनि म्यानुयल इन्भेस्टिगेसन हुन्छ। यस्ता घटनालाई त डिजिटल्ली अनुसन्धान गर्नुपर्छ। तर, त्यसका लागि हाम्रो प्रशासनसँग न प्रविधि छ, न त सीप नै।'
केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी नरेश मल्ल भने आफूहरू समयको मागअनुसार परिवर्तित प्रविधिको प्रयोग गर्दै खोजतलासको गहिराइमै पुग्ने गरेको बताउँछन्। 'कानुनी रूपमा केही असहजता छ,' उनी भन्छन्, 'हामीले व्यक्तिगतभन्दा पनि सांगठनिक प्रकृतिको अपराध हेर्नुपर्ने हुन्छ। कानुनले समग्रतामा मात्र व्याख्या गरिदिँदा हामीलाई अनुसन्धान गर्न र कारबाहीको सिफारिस गर्न केही गाह्रो छ। कतिपय केस अदालतसम्म पुर्‍याउनै मुश्किल हुन्छ।'
 
यो पनि -

प्रकाशित: २७ मंसिर २०७१ ११:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App