तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले थाइल्यान्डमा जारी साफ पुरुष फुटसल च्याम्पियनसिपमा पाकिस्तानसँग बराबरीमा रोकिएको छ।
बैंककको नोनथाबुरी स्टेडियममा मंगलबार भएको खेलमा नेपाल पाकिस्तानसँग तीन गोलको अग्रता जोगाउन असफल भएको हो। अग्रता जोगाउन नसक्दा नेपालले ४–४ को बराबरी नतिजामा चित्त बुझाएको हो। निर्धारित ४० मिनेटको खेलमा २४ मिनेटसम्म नेपाल ३–० ले अगाडि थियो तर त्यसपछि समालिन नसक्दा नेपालले अंक बाँड्यो। तर, पाकिस्तानले ९ मिनेटभित्र तीन गोल गर्दै नेपालसँग एक अंक खोस्यो। बराबरीसँगै नेपालको उपाधि जित्ने लक्ष्य कठिन बनेको छ। अब उपाधि उचाल्न नेपालले बाँकी तीन खेल जित्नुपर्नेछ। साथै अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ। तीन खेलबाट पाँच अंक जोड्दै नेपाल अंकतालिकाको तेस्रो स्थानमा छ।
भारतसँग पनि अन्तिम सेकेन्ड समालिन नसक्दा नेपालले अंक बाँडेको थियो। पाकिस्तान भने चार खेलबाट दुई जित र एक बराबरीसहित दोस्रो स्थानमा छ।
मंगलबारकै दोस्रो खेलमा माल्दिभ्सले भारतमाथि ५–० को जित निकाल्यो। यससँगै नेपाल शीर्ष स्थानको माल्दिभ्ससँग चार अंकले पछि परेको छ। नेपालले खेलको ३५ सेकेन्डमै अग्रता लिएको थियो। कप्तान विजय श्रेष्ठको पासमा विक्रान्तनरसिंह रानाले लेफ्ट फुटेड सुन्दर गोल गरेका थिए। विक्रान्तले प्रहार गरेको बल कप्तान मोहम्मद हसन जफर खानसँग डिफ्लेक्ट हुँदै जाली चुमेको हो। निर्धारित हाफको अन्तिम मिनेट विक्रान्तले दोस्रो गोल गरे। यो गोलमा विजयले असिस्ट गरे। २४औं मिनेटमा जेनिस प्रजापतिले सानदार गोल गरे।
यससँगै नेपालले तीन गोलको अग्रता लियो। तर, एक मिनेटपछि नै पाकिस्तानले पहिलो गोल गर्यो। मोहम्मद इल्हामको गोलबाट पाकिस्तान खेलमा फर्किएको हो। तर, ३२औं मिनेटमा गोल गर्दै नेपालले अग्रता ४–१ मा पुर्यायो। विजयको पासमा सुरज गुरुङले गोल गरे। यसपछि चार मिनेटमा पाकिस्तानले तीन गोल फर्काएको हो।
सुरजको गोलमा नेपालले खुसी मनाएको एक मिनेट पनि बित्न नपाउँदै निसार हुसेनले खेललाई ४–२ को स्थितिमा पुर्याए। लगत्तै ३४औं मिनेटमा आसिफ अहमद चौधरीले गोल गरे। ३७औं मिनेटमा कप्तान जफर खानले चौथो गोल गरेपछि पाकिस्तानले ४–४ को बराबरीे नतिजा निकालेको हो। नेपालले बिहीबार आफ्नो चौथो खेलमा शीर्ष स्थानको माल्दिभ्ससँग खेल्नेछ। सोही दिन पाकिस्तानले बंगलादेशसँग खेल्ने तालिका छ।
प्रकाशित: ७ माघ २०८२ १०:३९ बुधबार





