राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रहरीले आफूलाई झुक्याएर बयान लिएको गुनासो गरेका छन्।
आइतबार जिल्ला प्रहरी परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले सामान्य भेटघाट र चिया खान भनेर बोलाइ प्रहरीले घण्टौं बयान लिएको बताएका हुन्।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रसाईंले भने, ‘मैले केही छ भनेर सोधेको, केही पनि छैन त्यत्तिकै आउनु न भनेर प्रहरीले बोलाउनुभयो। यहाँ आएपछि भएभरको बयान लियो। आजदेखि घुमाएर तारिखमा राखियो। अब २८ गतेलाई तारिख तोकिएको छ।’
प्रसाईंले भोलि चितवनमा हुने आफ्नो र्याली र सभालाई बिथोल्न र प्रभावित पार्न प्रहरीले आफूलाई नियोजित रूपमा दुःख दिएको आरोप लगाए।
उनले भने, ‘देश जोगाउने, राष्ट्र जोगाउने र हिन्दु अधिराज्यको पक्षमा हुन लागेको चितवनको कार्यक्रमलाई अहिले नै प्रभावित पार्न मलाई यहाँ ल्याएर दुःख दिइयो।’
आफूले प्रहरीको तलब सुविधा वृद्धिको कुरा उठाउँदा पनि उल्टै प्रहरीले नै आफूलाई झुक्याएर बोलाएकोमा उनले चित्त दुखाए।
आफूलाई पक्राउ गरेर अभियान नरोकिने चेतावनी दिँदै उनले आईजीपी दानबहादुर कार्की र गृहमन्त्रीलाई समेत खबरदारी गरे।
‘दुर्गा प्रसाईंको शरीरमा एक थोपा रगत हुँजेलसम्म म पश्चिमाहरूसँग र तस्करहरूसँग लड्छु,’ उनले भने, ‘मलाई लगेर सहिद गेटमा शुक्रराज शास्त्रीलाई जस्तै झुन्ड्याउनुस्, म मर्न तयार छु तर हिन्दु राष्ट्र र राजसंस्था फर्काउन छाड्दिनँ।’
प्रकाशित: १८ माघ २०८२ १६:४२ आइतबार





