२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

युवा र बुद्धिजीवीले देशको नेतृत्व तपाईंहरूले गर्नुपर्छ भनिरहेका छन्: विप्लव

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशका युवा, बुद्धिजीवी र व्यवसायीहरूले आफ्नो पार्टीलाई देशको नेतृत्व लिन आग्रह गरिरहेको बताएका छन्।

आइतबार राजधानीको संवाद डबलीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव विप्लवले सडकमा भेटिने आम सर्वसाधारण र युवा पुस्ताले पुराना दलको विकल्प खोजिरहेको सुनाए।

उनले भने, ‘मलाई व्यक्तिगत रूपमा बाटोमा भेट्ने युवा, बुद्धिजीवी र व्यवसायीले पनि भन्नुहुन्छ, दाइहरू नआत्तिनुस्, एकचोटि यो देशको नेतृत्व तपाईंहरूले गर्नुपर्छ।’

जनताले पुराना दल र नेताहरूबाट अहिलेको भ्रष्टाचार, कमिसनतन्त्र र बेथितिबाट मुक्ति नपाएको निष्कर्ष निकालेको भन्दै उनले अबको आशा आफ्नो पार्टीमाथि रहेको जिकिर गरे।

अहिले सत्ता र शक्तिमा रहेका पुराना पार्टीहरूप्रति जनतामा चरम अविश्वास र शंका रहेको विप्लवको भनाइ छ। उनले भने, ‘अहिलेसम्म प्रयोगमा आएका पार्टीहरूको स्थिति जनताको नजरमा अविश्वसनीय छ। त्यहाँ प्रतिबद्धता देखिँदैन। त्यसैले जनताले नयाँ र इमानदार नेतृत्व खोजिरहेका छन्।’

आफ्नो पार्टीका १३० जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेको जानकारी दिँदै उनले जनताले आफूहरूलाई अस्वीकार नगरेको बताए। ‘जनताले तिमीहरू होइन भनेका छैनन्, बरु अझ मेहेनत गर्न सुझाएका छन्,’ उनले भने।

संसद्‌लाई संघर्षको अर्को मञ्चका रूपमा प्रयोग गर्ने नीति लिएको बताउँदै विप्लवले जितेर गए कानुन र नीति बदल्न लड्ने र नजिते सडकबाटै जनताका मुद्दा उठाइरहने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: १८ माघ २०८२ १६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App