७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

'रिटेक' दिन नमिल्ने 'मिस्टेक'

उनले १० वर्षदेखि धेरै दिन 'टेक' (अभिनय) दिएरै बिताइरहेकी छिन्। त्यो रंगमञ्च अर्थात् म्युजिक भिडियोको 'टेक' हो। तर, जीवनको रंगमञ्चमा दिइएका 'टेक'मा गल्ती भयो भने 'रिटेक' लिन मिल्दैन। यस्तो मिल्थ्यो भने कसैसँग दुःख भन्ने चिज रहने थिएन।
यो 'टेक' दिएको प्रसंग होइन । बरु 'टेक'ले लिएको प्रसंग हो– समय, पैसा र विश्वास। अझ यसरी भनौँ, त्यो 'टेक' थिएन, 'मिस्टेक' थियो। आफूजस्तै इमानदार ठानेर कसैलाई विश्वास गर्नुको गल्ती।
नेपाली कला क्षेत्रमा आएका सयमा नौजनाले यही क्षेत्रलाई अँगालेर जीवन धानेका छन्। अहिले पनि बाँकी ९१ प्रतिशतका लागि रहरभन्दा धेरै केही होइन यो क्षेत्र। त्यसमाथि यो क्षेत्र महिलामैत्री त छँदै छैन। राम्रै गर्नेका लागि पनि गालामा रस हुन्जेलसम्म यसले गरिखान दिन्छ। त्यसपछि ? त्यसपछि यो क्षेत्रलाई कसैको के मतलब ?
धेरै महिला कलाकार 'एनआरएन'सँग विवाह गरेर विदेशिनु परेको यही कारणले हो। यो वर्ष पनि फिल्म क्षेत्रमा राम्रो सम्भावना बोकेर आएकी प्रकृति श्रेष्ठदेखि १० वर्ष फिल्म क्षेत्रमै बिताएकी रेजिना उप्रेतीसम्मले फिल्म क्षेत्र त्यागेर घरजम रोजे। विदेशी भूमिमा रहेका आफ्ना प्रेमीहरूसँग विवाह गर्नुलाई करिअरभन्दा महŒवपूर्ण ठाने। सबै उनीहरूजस्ता भाग्यमानी हुँदैनन्। सबै 'एनआरएन' उनीहरूका श्रीमान्जस्ता इमानदार पनि हुँदैनन्।
म्युजिक भिडियोमा जमिरहेकी यी मोडल अभागी भइन्। अरूले जस्तै जीवनको बाँकी समय विदेशी भूमिमा काम गरेर भए पनि सुखद् बनाउने आकांक्षामा डढेलो लगाइदिन एउटा अ'मानव' उनको जीवनमा आइपुग्यो।
नेपाली गीतसंगीतका फ्यान त्यो पुरुष नेपाली कलाकारहरूसँग हिमचिम बढाउन निकै लालायित हुन्थ्यो। हङकङको इमिग्रेसनमा जागिर भएको र हङकङ आईडीवाला बताउने ऊ पैसाको कुरा आयो कि भनिहाल्थ्यो, 'मेरा लागि यो ठूलो कुरो होइन। महिनामा पाँचदेखि सात लाख रुपैयाँ कमाइ छ।' नेपाल आएका बेला कलाकारसँग भेट्ने क्रममा यी अभिनेत्रीसँग उसको भेट भएको थियो। नेपाल आउँदा पटक–पटक भेट्थ्यो। उता हुँदा पनि सञ्चोबिसञ्चो सोधिरहन्थ्यो।
उसले बिस्तारै फकाउन सुरु गर्‍यो। आफूलाई असाध्यै मन परेको भन्दै प्रेम प्रस्ताव राख्न थाल्यो। असाध्यै 'केयर' गर्थ्यो। उमेर पुगेकी एउटी नारीको चाहना हुन्छ– आफूलाई असाध्यै माया गर्ने र कमाइधमाइ पनि राम्रो भएको केटा होस्। तर, उनी उसको त्यो मायामा पग्लिनन्। उसले अर्काे आइडिया लगायो, जसले सोच्न बाध्य भइन्।
आइडिया यस्तो थियो, 'नेपालमा जति राम्रो गरे पनि गालामा रस हुन्जेल हो। केही वर्षमा अर्काे काम गर्नैपर्छ वा विदेश पलायन हुनैपर्छ। म हङकङ आइडीवाला हुँ। मसँग पेपर म्यारिजमात्रै गर। केही समयपछि डिभोर्स गरे भै'गो। म ठूलो फ्यान भएका कारण यस्तो आइडिया दिँदैछु।' उनलाई लाग्यो, 'राम्रै आइडिया हो यो। जीवनमा यसै पनि एउटासँग बिहे गर्नैपर्छ। अहिलेकै जसरी माया गरिह्यो भने ठीकै छ। गरेन भने पनि डिभोर्स गरे भैगो।'
दसैँको अवसर पारेर त्यो मान्छे नेपाल आयो। त्यतिन्जेल उसको प्रेम प्रदर्शन दोब्बर भइसकेको थियो। विश्वास दिलाउन अरू उपाय पनि लगाएको थियो। उता पुगेपछि डिभोर्स गर्ने मौखिक शर्तमा 'पेपर म्यारिज' गरे दुइटैले।
ती अभिनेत्रीसँग राम्रै चिनजान थियो मेरो पनि। त्यो केटासँग पनि उनकै कारण चिनजान र भेटघाट भइरह्यो। तर, मभन्दा पनि मेरा नजिकका कलाकार साथीहरू सहकर्मी भएकाले उसले पेपर म्यारिज गरेको दिन जमघट गर्ने प्रस्ताव गर्‍यो। घरमा जमघट भयो। ती पुरुषले आफू दोहोरी गीतको फ्यान भन्दै दोहोरी साँझ जाने अफर गरे। बल्ल–बल्ल नेपाल आएको साथीको अफर लत्याउन पनि भएन। गइयो। जमघट तस्बिर पनि सँगै बसेर खिचियो, जमाना सेल्फीको जो छ।
चाँडै हङकङ उडाउने भन्दै ती अभिनेत्रीको एमआरपी पनि लिइसकेछ। आफूले होइन, ट्राभल्स कम्पनी खोलेर बसेको उसको साथीमार्फत। उसले हङकङ उडाउने भनेको समयमा पो थाहा भयो– उसबाट हङकङ उडाउने आश्वासन पाएकी उनी एक्ली थिइनन्।
उनलाई राम्ररी चिन्ने हङकङनिवासी गुरुङ थरकी एक युवतीले पनि ऊ 'ठग' भएको स्ट्याटस फेसबुकमा पोस्ट गरिन् । र, ती अभिनेत्रीलाई उसबाट ठगिएका अरूको पनि फोन आउन थाल्यो। 'त्यो ठगलाई भेटाइदिनुपर्‍यो' भन्दै।
उनी छाँगाबाट खसेजस्तै भइन्। हङकङको इमिग्रेसनमा उच्च ओहोदामा रहेको बताउने ऊ त मकाउमा सेक्युरिटी गार्डको काम गर्ने मान्छे रहेछ। त्यसैले प्रक्रियाका लागि भनेर ती अभिनेत्रीसँग भएको पैसा पनि लिएर पेपर म्यारिज गरेछ।
अरू युवासँग ठगेको पैसाले उसले नेपाल रहँदा हाइफाई देखाएको रहेछ। ती अभिनेत्रीले भनिन्, 'गलत मान्छेको फेला परिएछ।' उनले त्यस्तो सुन्नेबित्तिकै उसको फोन उठाएकी छैनन्।
कुरा सुनिँदैछ, ती मोडलसँगको पेपर म्यारिज र अरू कलाकारसँग सँगै खिचाएको तस्बिर देखाएर ठगीको धन्दा विस्तार गर्दै लगिरेहेको छ त्यो मान्छेले। सेलिब्रिटीसँग गरेको कागजी विवाहले हङकङ गएर राम्रो कमाइ गर्न चाहने युवालाई फकाएर पैसा असुलेको पनि सुनिएको छ। र, हङकङ उडाउने भन्दै केही युवालाई चाइनिज दूतावास बाहिर राखेर सोही दिन विदेशतिर हानिएको बताइन्छ।
ती मोडलले फेसबुकमा भ्रममा नपर्न आग्रह गर्दै स्ट्याटस लेखेकी थिइन्, 'यो ठग हो र कसैले भेट्यो भने प्रहरीलाई खबर गर्नुहोला।'
ठगिएकी ती मोडलको आग्रहमा दुइटैको नाम गोप्य राखिएको छ। तर, कसैले हङकङ उडाउने भन्दै कुनै सेलिब्रिटीसँग गरेको कागजी विवाह प्रमाणपत्र र तस्बिर देखायो भने सचेत हुनुहोला !

प्रकाशित: २७ मंसिर २०७१ १०:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App