सोल– कोरियन गीत ‘गांगनम स्टाइल'ले युट्युबमा दुई अर्बचोटी हेरिएको पहिलो भिडियोको कीर्तिमान बनाएको छ। कोरियन गायक साईले गाएको उक्त गीतले युट्युबमा शनिबार राति दुई अर्बको आँकडालाई पार गरेको हो।
३६ वर्षीय गायक साईले कीर्तिमान बनाउन सहयोग गरेकामा ट्वीटरमार्फत् दर्शकहरुप्रति आभार व्यक्त गरेका छन्। ‘दुई अर्ब अवलोकन...यो एकदम सम्मानजनक र थाम्नै नसकिने संख्या हो,' साईले ट्वीट गरेका छन्, ‘आभार जनाउँछु र अझ आनन्ददायक प्रस्तुति लिएर आउनेछु।' अबौं डलरको कोरियन संगीत उद्योगमा यो गीत गत २०१२ जुलाईमा रिलिज हुने बित्तिकै सुपरहिट भएको थियो। युट्युबमा छैटौं महिनामै यसको अवलोकन संख्या एक अर्ब नाघेको थियो।
गांगनम स्टाइलको अंश प्रयोग गरिएका विज्ञापनहरुबाट नै साईले ६ महिनाको अवघिमा ८० लाख अमेरिकी डलर आम्दानी गरेका थिए। २०१३ को मध्यतिर रिलिज भएको साईको अर्को गीत ‘जेन्टलम्यान'को भने अहिलेसम्म जम्मा ७० करोडको हाराहारीमा मात्र अवलोकन गरिएको छ।
युट्युबमा एक अर्ब पटक हेरिएको अर्को एकमात्र भिडियो जस्टिन बेबरको ‘बेबी' हो।
प्रकाशित: १८ जेष्ठ २०७१ १०:११ आइतबार





