६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

लक्की चौधरीको 'नेन्धर' लोकार्पण

काठमाडौं- पत्रकार तथा साहित्यकार लक्की चौधरीद्वारा लिखित ‘नेन्धर' कविता संग्रहको एक कार्यक्रमका बीच शुक्रबार यहाँ लोकार्पण गरिएको छ। वरिष्ठ साहित्यकार तथा नेपाली गजलनायक ज्ञानुवाकर पौडेल, सभासदहरु तेजुलाल चौधरी, वैजनाथ चौधरी, गोपाल दहित, रुक्मिणी चौधरी, थारु बुद्धिजिवी भुलाई चौधरी, महेश्वरप्रसाद चौधरी, रामलाल चौधरीले सो पुस्तकको संयुक्तरुपमा लोकार्पण गरेका हुन्।

थारु पत्रकार संघ, नेपालको आयोजनामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघको २४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित लक्की चौधरीलाई अतिथिहरुले खादा तथा अविर लगाएर स्वागत र बधाई ज्ञापन गरेका थिए। चौधरी थारुको तर्फबाट महासंघमा प्रतिनिधित्व गर्ने पहिलो थारु पत्रकार हुन्। 
कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार ज्ञानुवाकर पौडेलले कृतिकार चौधरी थारु समाजको मात्रै नभइ राष्ट्रकै प्रसंशनीय साहित्यकार तथा पत्रकार भएको चर्चा गरे। ‘नेन्धर' (विवाह) कविता संग्रह समयसान्दर्भिक र सामाजिक न्यायप्रति सशख्तरुपमा आवाज उठाएको भन्दै उनले लेखक चौधरीलाई धन्यवाद तथा बधाई ज्ञापन गरे। 
सभासद तेजुलाल चौधरीले थारु भाषाप्रति थारु समुदायकै उदासिनता आइरहेका बेला कृतिकार चौधरीले मातृभाषामा प्रकाशन गर्नुभएको कविता संग्रहले भाषाको उत्थान र संरक्षणमा भूमिका खेल्ने विश्वास व्यक्त गरे। कविताको माध्यमबाट लेखकले समाज उत्थान, उत्पीडनको अन्त्य तथा समाजको अग्रगामी रुपान्तरणका निम्ति आवाज उठाएकोमा उनले लेखकलाई धन्यवाद ज्ञापन गरे। 
कार्यक्रममा सभासद बैजनाथ चौधरी, गोपाल दहित, रुक्मिणी चौधरी लगायतले नयाँ संविधान बन्दैगर्दा पत्रकार तथा साहित्यकारको भूमिका पनि महत्वपूर्ण हुने बताए। नयाँ संविधानले सबै वर्ग, समुदाय र पक्षको अधिकार सुनिश्चित् गर्नतर्फ आफूहरु सक्रियतापूर्वक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनीहरुले पत्रकारहरुको रचनात्मक सहयोगको अपेक्षासमेत गरे। 
संघका अध्यक्ष लक्की चौधरीको सभापतित्वमा भएको कार्यक्रममा आदिबासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, प्रदीप लेखीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित: ९ जेष्ठ २०७१ २३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App