– सोनी राजभण्डारी, मिस नेपाल इन्टरनेसनल २०१४
जितपछिको अनुभव कस्तो हुँदो रहेछ?
बाहिरबाट हेर्दा जीवन नै उलटपुलट हुन्छ जस्तो लागे पनि त्यस्तो हुँदो रहेनछ। खुसी छु। मेरो मेहनतको कदर भएको छ।
आफन्त, साथी सर्कलबाट तपाईंलाई हेर्ने दृष्टिकोणमा परिवर्तन पाउनुभयो?
केही महसुस गरेकी छु। साथीभाइ, आफन्तले मलाई आवश्यकताभन्दा बढी सम्मान दिइरहनुभएको छ। मलाई हिजोकै व्यवहार प्रिय छ।
ग्ल्यामर फिल्डप्रतिको मोह कहिलेदेखिको हो?
म सानैदेखि यो क्षेत्रप्रति आकर्षित थिएँ। म टेलिभिजनमा यस्ता प्रतियोगिता हेर्दा रमाउँथेँ। सहभागीहरूको स्टाइल, स्माइल र ताज देख्दा प्रभावित हुन्थेँ।
मिस नेपाल हुनुअघि तपाईं पोखरामैं बस्नुहुन्थ्यो?
मिस नेपालका लागि काठमाडौँ आएकी हुँ। मिस नेपाल इन्टरनेसनलका लागि फेरि पनि काठमाडौँ बस्नुपर्ने हुन्छ। यो एक वर्ष मेरो जिम्मेवारी पूरा गरेर फेरि पोखरा नै फर्किन्छु।
राजधानी करिअरका लागि पनि राजधानी मानिन्छ। तपाईं चाहिँ किन फेरि पोखरा फर्किन चाहनुहुन्छ?
पोखरामा केही गरौँ भन्ने इच्छा छ। यहाँ त धेरै भइसक्यो र गर्ने पनि धेरै छन्। मलाई पोखराले बनाएको हो। अब म सकेजति पोखरालाई बनाउन लागि पर्छु।
कुनै न कुनै टाइटल जित्छु भन्ने लागेको थियो?
म टाइटलको पछि कहिल्यै भागिनँ । आफ्नो भएजति क्षमता देखाउने कोसिस गरेँ। परिवारलाई पनि पहिले नै ‘धेरै आशा नगर्नू तर म राम्रो गर्न खोज्दै छु' भनेकी थिएँ।
तपाईंको परिवार साह्रै खुसी होला नि अहिले त?
उहाँहरू बिहान ४ बजे नै पोखराबाट आउनुभएको थियो। मैले देखिरहेकी थिएँ, दर्शकदीर्घामा उहाँहरू खुसीले उफ्रिरहनुभएको थियो। मैले मञ्चबाट शान्त रहन संकेत गर्नुपरेको थियो।
प्रकाशित: २५ वैशाख २०७१ १३:२९ बिहीबार





