पुस्तक अंश : मेरो समय
किशोर नेपाल चार दशकदेखि पत्रकारिता र साहित्यमा सक्रिय छन्। राजनीतिक विश्लेषणमा पनि उनको दक्खल छ। आइतवार उनको संस्मरणात्मक किताब 'मेरो समय' बजारमा आउँदै छ। त्यही किताबको अंश यहाँ प्रस्तुत गरिएको छ।
"ओहो, सधैँ टेलिभिजनमा देखिनुहुन्थ्यो, आज त प्रत्यक्ष!" काठमाडौँबाहिर, पूर्व र पश्चिमका, सुगम र दुर्गम जिल्लाको भ्रमणमा जाँदा सामान्य मानिसहरू आह्लादित हुँदै मेरो हात समात्न आइपुग्दछन्। उनीहरूका आँखामा मेरा प्रति स्नेह र मसँग गहिरो आत्मीय भाव स्पष्ट प्रतिविम्बित भइरहेको हुन्छ। ती सामान्य नेपाली मलाई दुःखसुखमा साथ दिने त्यस्तो साथीका रूपमा चिन्दछन् जसले मौन रहनुपर्ने उनीहरूको बाध्यतालाई तोड्दै उनीहरूलाई आवाज दियो। हिंसात्मक द्वन्द्वका बेला राज्य र माओवादी बन्दूकले चेपिएर आवाजहीन भएको जनताका आवाजलाई, बलिन्द्रधारा आँसुका रूपमा बगेका पीडालाई, शान्तिको वातावरणमा हातका नङ्ग्रा खियाएर बाँच्ने एक मात्र आकाङ्क्षालाई टेलिभिजनको पर्दामा घन्काउने र अक्षरमा अनुवाद गरेर पत्रपत्रिकामार्फत फैलाउने पत्रकारका रूपमा उनीहरू मेरो कदर गर्दछन्। अत्यन्त अप्ठेरो र असहज राजनीतिक परिस्थितिमा देशका विकट र सुगम गाउँ, घाँच, कछाड र भावरतिर निरन्तर यात्रा गरेर जनताका पीडा र वेदनालाई आवाज दिनु निश्चय पनि सहज थिएन। यो क्रममा मैले पाएको दुःख मेरो आफ्नै हो। अहिले तुलनात्मक हिसाबले हेर्दा मेरो त्यो यात्राका उपलब्धिहरूका अगाडि मैले पाएको दुःख त केही छँदै थिएन। दशौँपटक मेचीदेखि महाकालीसम्म, पन्ध्र लाखभन्दा बढी किलोमिटर लामो देशको सेरोफेरोको मेरो त्यो समाचार–यात्रा मेरा लागि अमूल्य र अनुपम अनुभव थियो। मेरा लागि उच्चतम शिक्षाको एउटा यस्तो अवसर, जुन विश्वविद्यालयका विशाल पुस्तकालय र सङ्ग्रहालयहरूमा अध्ययन गर्न पाइँदैन। नेपाली मानिस र नेपाली समाजका एक–एक तत्वलाई केलाउने र बुझ्ने अपूर्व र अद्भुत अनुभव। बन्दूक, बम, गोलाबारूद र विस्फोटको त्यो समयमा देशका कुनाकाप्चाको त्यो यात्रा मेरो आत्मविश्वासको परिचायक थियो। आफ्नो त्यो हिम्मत सम्झिँदा अहिले आफैँलाई अचम्म लाग्दछ।
मेरा टेलिभिजन कार्यक्रमहरूमा भाग लिएका र कार्यक्रम हेरेका मानिसका मनमा 'यो हाम्रो आफ्नै मानिस हो' भन्ने विश्वास जमेको पाएको छु मैले। "चिन्नुभयो मलाई? कि बिर्सिनुभयो?" सडक र बस्तीहरूमा भेटिने कतिपय मानिसहरू अक्सर मसँग यो निर्दोष प्रश्न गर्दछन्, जसले मलाई अप्ठेरोमा पारिदिन्छ। काठमाडौँमा पनि परिचयका क्रममा प्रायः सबै भन्ने गर्दछन्, "हामी त उहाँलाई चिन्दछौँ, तर उहाँले हामीलाई चिन्नुभएको छैन। चिन्ने कुरा पनि भएन।" नेपालमा टेलिभिजन कार्यक्रम मभन्दा अघि पनि बनेका थिए र पछि पनि बनेका छन्। तर, मेरो कार्यक्रम 'मत–अभिमत' जसरी सामान्य नेपाली जनताको मानसपटलमा छायो, त्यति विस्तार अरू कार्यक्रमले पाउन सकेका छैनन् भन्ने दाबी गर्नु मेरा लागि कठिन छैन। मैले त्यो समयको महत्त्वलाई बुझेको थिएँ र त्यसको गतिलाई समातेको थिएँ। देशमा सरकार र माओवादीका बीच चलिरहेको युद्धको चर्चा थियो। युद्ध नै राजनीतिको आधार बनेको थियो। तर, युद्धले आक्रान्त मानिसको चर्चा थिएन। 'मत–अभिमत' मा मेरो नायक जनता थियो।
मैले आफ्ना टेलिभिजन कार्यक्रमहरूको आकर्षण बढाउन प्रयोग गरिने कुनै पनि खेल–तमाशाको प्रयोग गरिनँ। जहाँ जेजस्तो अवस्था देखियो, जहाँ जेजस्तो दृश्य भेटियो, त्यसलाई जस्ताको तस्तै प्रस्तुत गरेँ। समयक्रममा कार्यक्रम आफैँमा एउटा कला बन्यो, उत्पादनका हिसाबले रफ। कति पत्रकार साथीहरूले सुझाव दिए, "अलिकति टेलिभिजन कलाको पनि प्रयोग गरे राम्रो होला।" कार्यक्रम निर्माणबारे त्यति प्राविधिक ज्ञान नभएको अशिक्षित पत्रकार थिइनँ म। नेपालमा टेलिभिजन नभित्रिँदै यसका सैद्धान्तिक र प्राविधिक पक्षका बारे अमेरिकी विश्वविद्यालयमा सिकेको थिएँ मैले। नेपाल टेलिभिजनको अध्यक्षका रूपमा टेलिभिजन कार्यक्रमको व्यावहारिक पक्षको पनि पर्याप्त ज्ञान लिएको थिएँ मैले। तर, गाउँको पीडा र गरीबीलाई काठमाडौँको स्टुडियोमा ल्याएर सिँगार्ने काममा मेरो अभिरूचि कहिल्यै भएन।
चार दशकभन्दा लामो पत्रकारिताको यात्रामा मैले जति मानिसहरूसँग भेटेँ, जति घटनाक्रमहरूको साक्षी बसेँ, ती सबैलाई सम्झिनु सम्भव छैन। २०६० सालको प्रारम्भदेखि त हरेक साता सयौँ नेपालीसँग चिनाजानीको सिलसिला शुरू भयो। चिनिएका ती मानिस सबै नेपाली थिए, सबैको दुख एउटै थियो र सबैको चाहना पनि एउटै थियो। नेपालीको स्वभाव नै हो— एकअर्कासँग परिचित हुनु र एकअर्कासँग सुखदुःख बाँड्नु। परिचय र मित्रता यथावत् रहेे पनि सबैले सबैलाई सम्भि्करहन साध्य पनि हुँदैन र सम्भव पनि हुँदैन। टेलिभिजनमा कार्यक्रम चलाउन थालेपछि मानिसहरूसँग मेरो परिचयको दायरा र घनिष्ठता दुवै बढ्यो। टेलिभिजन कार्यक्रमका लागि स्थानीय मानिसहरूसँग छलफल र बहस गरिरहँदा स्थानीय तहमा काम गरिरहेका सहकर्मी पत्रकारहरू मलाई किशोर दाइ भनेर बोलाउने गर्दथे। केही समयपछि मैले थाह पाएँ— म सहकर्मी पत्रकारहरूको मात्र होइन, मेचीदेखि महाकालीसम्मका आफूभन्दा कनिष्ठ र आफूभन्दा ज्येष्ठ सबै मानिसको किशोर दाइ भइसकेछु। मेरो नामका पछाडि जोडिएको 'दाइ' शब्दले मेरो उमेरलाई जनाउँदैन। यो जनताले मेरो नामसँग जोडिदिएको विशेषण हो। यसले मलाई अगाध खुशी दिएको छ। जाँगर दिएको छ। उत्साह दिएको छ र शक्ति दिएको छ। आखिर धन भने पनि, सम्पत्ति भने पनि एउटा पत्रकारका लागि जनताले दिएको अद्भुत स्नेह र विश्वास नै त उसको जीवनभरिको कमाइ हो!
पत्रकारिताको प्रारम्भतिर भेटिएका केही व्यक्तिका अनुहार भने मेरो जीवनमा प्रतीकात्मक महत्त्वका छन्। नेपाली कागजको मुठो बोकेर अड्डा–अदालत धाउँदै गरेका छविलाल रैला जैसी त्यस्तै एक प्रतिनिधि पात्र हुन्, जो प्राकृतिक विपद्मा आफ्नो जायजेथा गुमेपछि सुकुम्बासीका रूपमा नयाँ बासका लागि राजाको हुकुम–प्रमाङ्गीको आशाले काठमाडौँमा भौँतारिरहेका थिए। त्यो घटनाको बीस वर्षपछि टेलिभिजन कार्यक्रम निर्माणका लागि अछामको कैलाश खोलाबाट मङ्गलसेनको उकालो चढ्दा भेटिएकी भजन बोहोरा मेरो स्मृतिबाट कहिल्यै नहट्ने अर्की पात्र हुन्, जो सेनामा भर्ती हुने आकाङ्क्षा बोकेर नागरिकताको प्रमाणपत्र लिन मङ्गलसेन पुगेको आफ्नो जवान छोरो मङ्गलसेनबाटै हराएपछि मानसिक रूपले असन्तुलित भएकी थिइन्। भरखरै माओवादीको आक्रमणबाट ध्वस्त भएको मङ्गलसेन सेनाको नियन्त्रणमा थियो। सरकारी सेनामा भर्ती हुन असफल भएपछि भजनको छोरो माओवादी सेनामा भर्ती भएको थियो। स्थानीय एक शिक्षकले दिएको जानकारी अनुसार, ऊ सेनाको कब्जामा परेपछि मारिएको थियो। स्थानीय व्यक्तिहरूले घटनाको जानकारी पाइसकेका थिए। तर, कसैले पनि उनलाई यो समाचार दिएका थिएनन्। व्यक्तिगत रूपमा ती घटनाले मेरो संवेदनालाई घचघच्याइरहेका छन्। त्यसैले ती घटना महत्त्वपूर्ण छन्। जनता प्राकृतिक प्रकोपमा परेर मरेका र घरबारविहीन भएका घटना असङ्ख्य पाइन्छन् देशमा। यसमा कुनै अस्वाभाविकता छैन। किनभने, यस्ता घटनाहरूमा हामी देशको भौगोलिक अवस्था सम्झेर चित्त बुझाउन सक्दछौँ। देशमा आमूल परिवर्तन गर्ने राजनीतिक उद्देश्यका साथ माओवादीले शुरू गरेको हिंसात्मक विद्रोह नेपालका लागि अस्वाभाविक घटना थियो। काठमाडौँमा रहेका भाइभारदारका बीच सत्ताका लागि भएका षड्यन्त्र र हत्याका घटना, २००७ सालमा नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको जनक्रान्ति, राजा महेन्द्रले संसदीय प्रजातन्त्रको हत्या गरेपछि सुवर्णशमशेरको नेतृत्वमा भएको सशस्त्र विद्रोह, नेपाल कम्युनिस्ट पार्टी (माले) को झापाकेन्द्रित हिंसा र काङ्ग्रेसले बीपी कोइरालाको नेतृत्वमा निरङ्कुश राजतन्त्रका विरूद्ध तेस्रो पटक गरेको सशस्त्र विद्रोहका घटनाहरूसँग नेपाली समाज परिचित भए पनि ती विद्रोहका प्रभाव सीमित थिए। माओवादीले शुरू गरेको युद्ध प्रारम्भमा असङ्गठित भए पनि पछि गएर सङ्गठित भयो। आधुनिक युद्धकलाको ज्ञानमा कमी, प्राविधिक हिसाबले कमजोर र हातहतियारमा सम्पन्न नभए पनि विद्रोही माओवादी सेनाले राष्ट्रिय सेनाको विकल्पका रूपमा आफूलाई प्रस्तुत गर्दै थियो। जनसेनामा भर्ती खुलेको जानकारी गराउँदै गाउँगाउँमा सूचना टाँसिन्थे। राजनीतिक र सामाजिक रूपले उपेक्षित देशका युवायुवतीको भर्तीका लागि लर्को लाग्दथ्यो। युद्धका लागि हतियारको भन्दा जोश र उत्साहको खाँचो पर्दछ भन्ने बुझेको माओवादी नेतृत्वले सयौँ युवायुवतीलाई लक्ष्यप्राप्तिका लागि समर्पित हुन सिकाएको थियो। देशका शिक्षक र विद्यार्थीहरूलाई प्रशिक्षणका नाममा अपहरण गरेर महीनौँ बेपत्ता पार्ने, समाजमा चलिआएका कतिपय सांस्कृतिक चाडलाई कुरीतिको संज्ञा दिँदै चाड मनाउनेहरूको ढाडमा भाटा हिर्काएर कारबाही गर्ने, मृत्यु संस्कार गर्न नदिने, मद्यपान निषेध गर्ने जस्ता दण्डात्मक क्रियाकलापले गर्दा अन्तर्राष्ट्रिय स्तरमा नै माओवादीहरूको प्रचार–प्रसार भइरहेको थियो। माओवादीहरू युद्धमा मात्रै संलग्न थिएनन्। जनसरकारका नाममा नेपाली समाजको प्रत्येक क्षेत्रमा उनीहरूले सक्रिय हस्तक्षेप गरेका थिए।
माओवादी आन्दोलनको जग नेपालकोे संसदीय राजनीतिमा मध्यावधि चुनावपछि देखा परेको पूरै एक दशक लामो राजनीतिक, सामाजिक र आर्थिक हिसाबले सबभन्दा कोलाहलपूर्ण समयमा राखिएको थियो। प्रारम्भमा यो हिंसात्मक आन्दोलनलाई राज्यको कुनै पनि अङ्गले गम्भीरतापूर्वक हेरेन। प्रहरी चौकीहरू लुटिने र स्थानीय संरचनाहरू ध्वस्त हुने क्रम शुरू भइसकेपछि पनि यो विद्रोहलाई कानून व्यवस्थाको सामान्य समस्याका रूपमा लिएका थिए सरकार सञ्चालकहरूले। निर्दोष प्रहरीहरूको हत्या हुँदै गयो। जिल्लाजिल्लामा सामान्य जनताको जीवन असामान्य हुँदै गयो, तैपनि सरकारको चेत खुलेन। यही शून्य अवस्थाको उपयोग गरेर माओवादीहरूले जब राजधानीलाई पूरै देशबाट सफलतापूर्वक एक्ल्याए, तब मात्र सरकारको होश खुल्यो। यति बेलासम्म ढिलो भइसकेको थियो।
संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका माध्यमबाट जनताले आर्थिक विकास र सामाजिक परिवर्तनको जुन सपना देखेका थिए, त्यसलाई नेताहरूले कहिल्यै यथार्थमा परिणत गर्ने प्रयत्न नै गरेनन्। तीन दशकसम्म प्रजातन्त्रको पुनःस्थापना काङ्ग्रेसको एक मात्र लक्ष्य थियो। जब त्यो लक्ष्य प्राप्त भयो, त्यसपछि काङ्ग्रेसले गति छाड्यो। सरकारको नेतृत्वमा पुगेपछि गिरिजाप्रसाद कोइरालामा एकाएक परिवर्तन आयो। उहाँले आफूलाई हुनेखाने वर्गको सीमित घेरामा बाँध्नुभयो। सत्ताको चमकदमकले तिरमिराएका काङ्ग्रेसीहरूका आँखाले राम्रो–नराम्रो ठम्याउनै सकेनन्। सँगै दुःखसुख बेहोरेका मेरा आफ्नै कतिपय घनिष्ठ साथीहरूको मप्रतिको व्यवहार रातारात बदलियो। उनीहरूमा आएको यो परिवर्तन देखेर मेरी पत्नी उदेक मान्दथी। राजनीतिको केन्द्रीय वृत्तमा पुगेका अधिकांश व्यक्तिलाई ऊ राम्रोसँग चिन्दथी। आन्दोलनअघिदेखि उसले धेरैलाई सेल्टर दिएकी थिई आफ्नो घरमा। यति बेला ती अनुहारहरूलाई टेलिभिजनको पर्दामा देखेर ऊ हाँस्ने गर्दथी। उनीहरूले उपेक्षा गरेको देखेर चित्त दुखाएकी थिइन उसले। हामीले कहिल्यै कसैबाट कुनै कृपाको आशा राखेका थिएनौँ । तर, सामान्य मानवीय शिष्टाचारसमेत राख्न नसक्ने उनीहरूको चरित्र देखेर उदेक मान्न थालेकी थिई ऊ। कहिलेकाहीँ मसँग भन्थी, "दिन–खान भनेको त त्यस्तै हो, कसले कसलाई दिएर के पुगेको छ र! पावरमा पुगेपछि त सामान्य बोलचाल गर्न पनि गाह्रो मान्दा रहेछन्।" नेताहरूको विवेकहीन व्यवहारलाई मेरी पत्नीले अस्वाभाविक रूपमा लिएकी थिइन। तर, पञ्चायतकालका अन्धकारपूर्ण दिनहरूमा प्रजातन्त्रका लागि जस्तोसुकै काम गर्न पनि तत्पर रहने काङ्ग्रेसका सामान्य कार्यकर्ताका लागि आफ्नै पार्टीका सत्ताभोगी कार्यकर्ताको यो व्यवहार सुपाच्य थिएन।
प्रकाशित: १४ वैशाख २०७१ ०७:१९ आइतबार





