६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

दुई ‘बाबुराम', एक ‘हिसिला'

तनहुँ-मेला र महोत्सवहरुमा नेता बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यामीका रुपमा देखिँदै आएका कलाकार जोडी ज्योति काफ्ले र विपना बस्नेतको सम्बन्ध चिसिएको छ। सम्बन्ध बिग्रिएपछि उनीहरु सँगै प्रहसनमा नउत्रिने भएका हुन्। ज्योतिको साथ छुटेपछि विपनाले नयाँ नक्कली बाबुराम भित्र्याएकी छन्। अचेल विपनासँग नयाँ बाबुरामका रुपमा अजय रेग्मीले अभिनय गर्न थालेका छन्।‘नयाँ जोडीको रुपमा अजय रेग्मी (नयाँ नक्कली बाबुराम) लाई लिइसकेको छु,’ बस्नेतले भनिन् ‘अब मेला–महोत्सवमा पनि यही जोडी लिएर हिँड्छु।’ विपनाले अब मञ्चमा ज्योतिसँग नदेखिने बताइन्।
लामो समयदेखि नेपाली फिल्ममा मेकअप आर्टिस्टका रुपमा काम गर्दै आएकी विपना पछिल्लो समय नक्कली हिसिलाको भूमिकामा अभिनय गर्नुका साथै काठमाडौंको हात्तीसारमा सेभेन प्वाइन्ट नाइन रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी छिन्।
ज्योति काफ्ले र विपना बस्नेतको भेट ‘तीतो सत्य’मा एक वर्षअघि भएको थियो। दुवैले उक्त सिरियलमा बाबुराम र हिसिलाको भूमिका निर्वाह गर्थे। एक वर्षसम्म विपनासँग अभिनय गरेका ज्योतिले आफ्नो सहकर्मीका रुपमा चितवनकी रेणु तामाङलाई लिएका छन्।
नारायणी कला मन्दिरमा लामो समयदेखि नृत्य गर्दै आएकी रेणुले पछिल्लो समय थुपै्र मेलामहोत्सवमा नक्कली बाबुरामसँग प्रहसन गरिसकेकी छिन्। उनले महोत्सवमा नृत्य समेत गर्ने गर्छिन्। ज्योतिले भने, ‘रेणु आएपछि दर्शकलाई पनि नयाँ स्वाद मिलेको छ।’
बाबुराम भट्टराईको नयाँ नक्कली र पुरानो नक्कलीमा केही अन्तर नभएको विपनाले दाबी गरिन्। मेला र महोत्सवमा छुट्टिए पनि ज्योति र विपनाको जोडीलाई दर्शकले ‘तीतो सत्य’मा भने सँगै देख्न सक्नेछन्।

प्रकाशित: १२ वैशाख २०७१ ००:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App