२ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

साहित्यको सत्यनिरुपण

नेपाली समाजको विविधता साहित्यमा प्रतिविम्बित हुनु स्वभाविक छ। अरु क्षेत्रमा झैं नेपाली साहित्यमा पनि जातिगत क्षेत्रगत विविधता छन्। पछिल्लो पटक सक्रियतापूर्वक विविधताहरूको लेखन क्रम चलिरहेको छ। यो नेपाली समाजभित्रको बृहत्तर चेतना विस्फोट हुँदाको परिणाम हो। सबै क्षेत्रमा जागरुकता छ। साक्षरता यसै पनि बढेकै छ । समाजका हरेक तहमा जागृति छ। यसको प्रभाव लेखनमा पनि परेकै छ।

नेपाली लेखनमा विभिन्न समुदायको सहभागिता भर्खरबाट थालनी भएको भने होइन। नेपाली साहित्य सुरु हुँदादेखि नै विविधतापूर्ण लेखन सँगै थालनी भयो। २००७ र २००१७ साल आसपासमा त्यो लेखन अझ व्यापक भएको देखिन्छ। त्यस्तो लेखनलाई हामीले केवल आञ्चलिक भनेर बुझ्नु हुँदैन। त्यो मूलधारकै लेखन हो।

जस्तो, नेवार समुदायबाट जति नेपाली साहित्यको लेखनलाई बिस्तार गरियो। नेपाली मातृभाषा भएका समुदायसँगसँगै यस समुदायको प्रतिष्पर्धा थियो भन्ने देखिन्छ। सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, गोविन्दबहादुर मल्ल गोठाले, विजय मल्लजस्ता थुप्रै लेखक एकदमै समान ढंगले अगाडि आए। आफ्ना समुदाय र संस्कृतिका विशेषता र आवाज अघि सारे। उनीहरूका हरेक रचनामा त्यस्ता विशेषता आए। गद्य, कविता र आख्यान लेखिए। विजय मल्लको ‘अनुराधा,' ‘शोभा' उपन्यास पढ्दा हामी उनीहरूको जातिविशेष संस्कृतिको छनक पाउँछौं। त्यो नेपाली साहित्यको मूलधारकै रचना हो भनेर आजसम्म स्वीकृत छ।

अर्का शक्तिशाली लेखक भवानी भिक्षु त्यही समयमा आएका हुन्। उनले मधेस तराईका विषयलाई आफ्नो लेख्य विषय बनाए। उनीलिखित राणाकालीन संस्कृति र परिवेश उतारिएका उपन्यास पनि पढ्न पाइन्छ। तर पनि कथाहरूमा तराई र मधेसको भाषिक, विषयगत र साँस्कृतिक विशेषता छ। तिनलाई पनि मूलधार मान्नुपर्छ। 
साहित्यमा यो मूलधार र आञ्चलिक भन्ने केही धेरैथोरैको कुरामात्रै हो। यो मात्राको कुरा हो। यो सम्पूर्ण रुपमा भने हुन सक्दैन। कहीँ न कहीँ नअडी त साहित्य लेखन हुँदैन। हुँदा हुँदा त्यो व्यक्तिमा पनि अडिन पुग्छ। व्यक्तिमा अडिँदैमा त्यो व्यक्तिको साहित्य त हुँदैन। त्यसको प्रभाव र प्रस्तुतिले पनि फरक पर्छ। त्यसैले मूलधार र आञ्चलिक भनी छुट्याउनु भनेको विश्लेषण गर्ने परम्परागत कोणमात्रै हो। आफ्नो सुविधाका लागि मूलधार र आञ्चलिक भनी छुट्याउने चलन देखिन्छ। 

भूपी शेरचनका कवितामा लाहुरे बढी आउँछन्। उनको हुर्काइ पोखरामा भयो। भूपीको थकाली समुदायबाट त कोही पनि लाहुर गएको छैन। थकाली पहिलेदेखि नै आफ्नो खुट्टामा उभिने, उद्यम गरेर खाने समुदाय हो। भूपीले लाहुरेमाथि कविता लेख्दा कताकता पश्चिमाञ्चलतिरका लाहुरेको कुरा गरेका जस्तो लाग्छ। पहिलो र दोस्रो विश्वयुद्धमा नेपाली जाने परिस्थितिलाई उनले समातेका हुन्। यी कुराहरू मसिनो गरी भूपीका कवितामा आएका छन्। त्यसलाई त कसैले आञ्चलिक भनेको छैन। समग्र राष्ट्रिय साहित्य नै मानिएको छ।

पारिजातको उपन्यास ‘शिरीषको फूल' पनि विश्वयुद्धकै कथा हो। लडाइँमा धेरैजसो जनजाति नै पुग्थे। आम युद्धको मनस्थिति बोकेका कथाका रुपमा त्यो आएको छ। त्यसलाई कुनै क्षेत्र वा समुदायविशेषको भनी कसैले भनेको पाइँदैन। वैरागी काइँला, इन्द्रबहादुरका रचनालाई पनि कसैले क्षेत्रीय रचना भन्दैन। 

एउटामा समग्रता नखोजौं
बाहिरतिर नश्लचेतना भन्ने गरिएका यहाँका पछिल्ला रचनाहरूमा समसामयिक राजनीतिको प्रभाव परेको छ। त्यसको प्रभाव परेको देखिए पनि जो स्थिर रुपमा साहित्य लेख्दैछन्, अलि टाढासम्म हेर्न थालेका छन्। आञ्चलिक शब्दावली राखेर जो लेख्दैछन्, उनीहरू लेखनको प्रारम्भिक चरणमा छन्। यो त्यसबेला पुष्टि हुन्छ, जतिखेर उनीहरूको एकपछि अर्को रचना आइरहेका छन्, धेरै भिन्न र परिस्कृत ढंगले आइरहेका छन्। राजन मुकारुङको पहिलो उपन्यास ‘हेत्छाकुप्पा' ले अहिलेका मुद्दाहरू समातेको छ, तर उनी स्वयंले त्यही मुद्दालाई दोस्रो उपन्यास ‘दमिनी भीर' मा आइपुग्दा परिमार्जन गरेको प्रष्टै अनुभव हुन्छ। यो उनको लेखनको बिस्तार भएको प्रमाण हो।

लेखनमा प्रतिबद्ध भएर आएको व्यक्तिका लागि आफ्नो रचना कुनै निश्चित जाति समुदायको मात्र हुँदैन। न त्यो हिजो थियो, न त्यो आज हुन्छ। आज भइरहेको जस्तो किन देखिएको हो भने ती लेखकहरू भर्खर लेख्दैछन्, त्यसैले त्यस्तो देखिएको होला। तर जब उनीहरू तीव्रता बढाउँछन्, फरक पर्न थाल्छ। विमला तुम्खेवाको कविता पढें मैले। उनका विम्बहरूले आफ्नो समुदायलाई समातेका छन्। किन हाम्रा पूर्वीय लेखकले रामायण महाभारतका विम्ब समात्छन् त? किनकि त्यहाँ अपनत्वको अनुभूति हुन्छ। एकजना लक्ष्मीप्रसाद देवकोटा हुन्, ग्रीक विम्बलाई समातेर लेख्ने। नत्र प्रायः सबैले आफ्नै विम्ब लेख्ने हो, किनकि त्यसमा आफ्नो पहुँच पनि छ, सुविधा पनि। ज्ञान पनि आफ्नै विम्ब र प्रतीकहरूमा हुन्छ। 

एउटै रचनाले सबै अपेक्षा पूरा गर्छ भन्ने कहीँ पनि छैन। त्यस्तो सोच्नु निरर्थक हुन्छ। त्यस्तो सम्भव नै छैन। समग्र रचनाहरूले समग्र नेपाली साहित्यको निर्माण गर्ने हो, एउटै रचनाले होइन। कुनै एउटाको रचनाले समग्रता दिन सम्भव नै छैन। जति धेरै साहित्य लेखियो, त्यति नै बढी समग्रता निर्माण हुने हो। भाषाको विकास र बिस्तार पनि तिनै साहित्यले गर्ने हुन्। जति धेरै मनोविज्ञानहरू लेखिन्छन्, साहित्य त्यति नै धनी हुँदै जान्छ। 
मन त एउटा मान्छेको एउटै त हो। एउटा मान्छे आफ्ना लागि एक्लै हो। तर जब साहित्यकारले त्यसलाई आफ्नो लेखनको स्वामित्वभित्र ल्याउँछ, त्यसको बिस्तार हुन पुग्छ। साहित्यकारले आफ्ना कुरालाई अरुको जस्तो बनाइदिन्छ, अरुका कुरालाई आफ्नो जस्तो बनाइदिन्छ। यो कुरा त पहिलेदेखि नै भनिँदै आएको छ। यसैलाई साधारणीकरण भनिन्छ। त्यसको व्याख्या अनेक शास्त्रीय ढंगले भएको छ। भरतमुनिले आफ्नो नाट्यशास्त्र त्यसैमा आधारित भएर लेखे।

साधारणीकरणको त्यही सीप हुने भएकै कारण लेखक सबैको प्रियपात्र बन्छ किनकि, पाठकलाई यो लेखकले मेरै मनको कुरा कति मजाले लेखेको भन्ने पर्छ। अनि, लेखकले जसको बारेमा कथा लेखे पनि आफ्नै कथा पो लेख्यो कि भन्ने पनि पर्न जान्छ। 

‘सुम्निमा' को अर्को पाटो
आजसम्म लेखिएको नेपाली साहित्यमा कुनै निश्चित जात वा क्षेत्रविशेषको प्रधानता रह्यो भन्ने छलफल चलिरहेको छ। अरु जातिले आफ्नो जातिबारे लेख्दा पर्याप्त संवेदनशीलता नदेखाएको भन्ने आरोप पनि छँदैछ। यसका लागि मानिसहरूले विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास ‘सुम्निमा' लगायत केही लेखकका कृतिलाई उदाहरण बनाउने गरेका छन्। यो दृष्टिकोणबाट हेर्नै पाइँदैन भन्ने होइन। तर मलाई त्यस उपन्यासभित्र सबैभन्दा प्रभावशाली पात्र कोही छ भने त्यो सुम्निमा स्वयं नै हो भन्ने लाग्छ। पुस्तकभित्र कोही जितेको पात्र छ भने त्यो पनि सुम्निमा नै हो। मान्छेहरू त्यो कोणबाट चाहिँ हेरिदिँदैनन्। त्यस उपन्यासमा सोमदत्त त एक प्रकारले पराजित अवस्थामा छ। सुम्निमा जितेकी अवस्थामा छ। बरु सुम्निमाले अन्तिममा चाहिँ स्वीकृति गरेकी छ : आफ्ना सन्तानलाई भनेकी छ– अबको समय तिमीहरूको हो। तिमीहरू दुइटा पृष्ठभूमिबाट आएका छौ। हामीले तिमीहरूलाई हेर्दा चुँडिएको चंगाजस्तो लाग्छ। तिमीहरूले हामीलाई हेर्दा माटाको गड्यौंलाजस्तो लाग्छ। सृष्टि र जीवनलाई सम्पूर्णता दिन चंगाजति आकांक्षा बोक्न सकेन भने के हुन्छ? आकाशमा उड्ने साहस गर्‍यो तर धर्तीमा खुट्टा टेकेन भने के हुन्छ? त्यसैले दुवै चाहिन्छ।

यो निष्कर्ष दिएको त ब्राह्मण सोमदत्तले होइन, किराती सुम्निमाले नै हो नि। सोमदत्त त त्यहाँ दृश्यबाट नै हट्नुपर्‍यो। त्यसैले यस्ता प्रसंगलाई नबुझ्नु अथवा नहेरिदिनु भनेको दृष्टिगत समस्या हो। त्यो त अहिले संसदमा मैले पेस गरेको सत्यनिरुपणसम्बन्धी विधेयकलाई हेरेजस्तै एकांगी समस्या भयो। कति मेहनत गरेर सबै कोणबाट मूल्यांकन गरेर पेस गरिएको छ। तर हेर्नेले आफ्नो सुविधाअनुसार एकपाखे ढंगले हेरिदिन्छन्। नेपाली साहित्यको सत्यनिरुपण गर्दा पनि यसरी एकांगी हुन मिल्दैन। सकेसम्म सबै कोणबाट समीक्षा गर्नुपर्छ।

साहित्य भनेको एउटै रचनाले पूर्णता दिँदैन भन्ने पहिले स्वीकार गर्नुपर्छ। एउटै व्यक्तिले पनि पूर्णता दिने होइन। धेरै प्रयत्नपछि पनि आंशिक नै हुन्छ। यो पक्षलाई नबुझ्दा समस्या आउँछ। नेपालमा पनि सुरुसुरुमा यस्तै समस्या देखियो। यस्ता विषय प्राज्ञिक छलफलको विषय बन्नु गलत होइन। तर भिन्नै ढंगले हेर्दा चाहिँ एउटै कोणबाट पूर्ण हेरें भन्ने भ्रम पर्न सक्छ।

प्रत्यक्ष उपस्थिति नभई धेरै कुरा आउँदैन भन्ने मान्यता पनि छ। जस्तो, हिजो पुरुष लेखकमात्रै हुँदा महिलाबारे लेखिएको कुरा पूर्ण भएन, यथार्थ भएन भन्ने आयो। त्यो केही मात्रामा सही पनि हो। तर साहित्यकार भएपछि उसको सामर्थ्य र प्रयत्न के हुनुपर्छ भने पुरुष लेखकले पनि महिलाझैं अनुभूति गरेर लेख्न सक्नुपर्छ। महिलाले पनि पुरुष भएर लेख्न सक्नुपर्छ। शतप्रतिशत नहोला, तर अधिकतम कोसिस गर्नुपर्छ। अनि मात्रै त्यसले पूर्णता पाउँछ। समुदायगत हिसाबले सोच्दा पनि जति धेरै जाति वा क्षेत्रका मानिस लेखनमा आउँछन्, नेपाली साहित्यले त्यति नै पूर्णता पाउँछ। त्यसरी हेर्दा नेपाली साहित्यले एउटा फड्को मार्दैछ। 

साहित्यमात्रै नहेरौं
नेपाली साहित्यमा मात्रात्मक रुपमा कुनै खास समुदायका कृति बढी आएका हुन सक्छन्। तर यसैलाई अन्तिम तथ्य मान्नुपर्ने आवश्यकता छैन। जस्तो कि, गायनको क्षेत्रमा हेर्ने हो भने जनजाति समुदायको आधिक्य छ। नेपाली गीतलाई जनजाति कलाकारले जति राम्ररी अरु जातिकाले लैजान त सकेका छैनन्। गीत नेपाली हो, तर जनजातिले जति जीवन्त ढंगले गाउन अरुले सकेका छैनन्। त्यसो भनेर त्यसलाई नेपाली गीत नभन्ने त? होइन। नेपाली मातृभाषा भएकाले मात्रै गाउनुपर्छ भन्यो भने त्यो मिल्दैन। त्यो एकांगी हुन्छ। त्यसरी नै जनजातिको समस्या जनजातिले मात्रै लेख्न पाउनुपर्छ भन्यो भने पनि त्यो अर्को एकांगी हुन्छ। सबैले सबैको लेख्नुपर्छ। एकले अर्काबारे नलेखी वा सबैले नलेखी साहित्य पूर्ण हुँदैन। अहिले सबै खाले लेखक आउने क्रम बढेको छ। यो एकदमै सकारात्मक छ। तर दृष्टिकोणहरू बिस्तारै परिमार्जन हुँदैछ। लेखन पनि बदलिँदैछ। 

राज्यसत्ताले एउटा वर्ग, क्षेत्र र समुदायको साहित्यलाई मात्रै प्रोत्साहन दियो, अरुलाई पाखा पार्‍यो भन्ने स्वर पनि उठेको छ। राजनीतिक संरचना भनेको यस्तै हुँदोरहेछ। तर साहित्य यस्तो विषय हो, त्यो कुनै सिमानाभित्र अडिबस्दैन। विषयवस्तुहरूलाई सीमाभित्र बाँध्ने कोसिस राजनीतिले गर्छ। प्लेटोले आफ्नो गणराज्यमा साहित्यकारलाई छिर्न दिनै नहुने अडान लिए। ‘साहित्यकारलाई फूलमाला अबिर लगाऊ, सम्मान अभिनन्दन गर, बग्गीमा राखेर घुमाऊ तर राज्यको सिमानाबाट भित्र छिर्नचाहिँ नदेऊ, उतै बिदा गरिदेऊ' उनले भनेको त यही हो। किनभने मान्छेको संवेदना उकासिदिन्छ साहित्यले। ‘मेरो राज्यमा धेरै संवेदना उकासियो भने अनिष्ट हुन्छ,' यो प्लटोको मात्रै होइन, हरेक राजनीतिज्ञमा पाइने दृष्टिकोण हो। प्लेटो राजनीतिज्ञ र साहित्यकार दुवै थिए। उनी विचारक थिए, समालोचक थिए। मूलतः उनले राजनीतिमाथि नै लेखे। 
यस्तो विवाद चलिनै रहन्छ। शासकहरूले यस्तो सुविधा सधैं खोजिरहन्छन्। शासन जति कडा भयो, शासकले उति त्यस्तो सुविधा खोज्छन्। हिजो शासन अलि कडा थियो, आज खुकुलो हुँदै आएको छ। त्यो शासनप्रणालीको कारणले गर्दा भएको हो। 

लेखन : बोरिङ गरिएको पानी
‘सुम्निमा' जलेको प्रसंग दुई दशक बित्न लाग्दा पनि बेलाबखत आइरहन्छ। हालसालै पनि एकाध पुस्तक जलेको सुनेको छु। मानिसहरू आवेशमा आउँदा यस्ता घटना हुन्छन्, स्थिर भएका बेला हुँदैनन्। एक पटक आवेश आउँछ। त्यसपछि मानिसहरू स्थिर हुन्छन्।

लेखकले कसैलाई सोध्नुपर्दैन, स्वतन्त्रतापूर्वक आफैं लेख्न पाउनुपर्छ, ठिकै कुरा हो। तर लेखक आफूप्रति त जवाफदेही हुनपर्छ। अरुप्रति जवाफदेही नभए पनि हुन्छ, आफूप्रति चाहिँ हुनैपर्छ। त्यसैले मनमा भाव आउनेबित्तिकै नलेख्नु भन्ने मान्यता राख्ने लेखक थुप्रै छन्। जे जे देखियो, बुझियो लेखिहाल्ने हो भने त्यो साहित्य हुँदैन। लेखन भनेको बोरिङ गरेको पानीजस्तो हो। सुरुमा पानी पहेंलो देखिन्छ। एकछिन ट्यांकीमा राखौं। त्यसपछि अर्को ट्यांकीमा लैजाऊँ, त्यसपछि अझै अर्को ट्यांकीमा। त्यसपछि मात्रै पानी सफा हुन्छ। विचार पनि यस्तै हो। एकैचोटि जे जे मनमा आयो, खुरुखुरु लेखिदियो भने त्यो साहित्य दीर्घकालीन हुँदैन। त्यो विचार चाहिँ लेख्ने मानिसले गर्नुपर्छ। जसले लेखनलाई एउटै कोणबाट मात्रै हेरेर तुरुन्त प्रतिक्रिया दिइहाल्छ, त्यसले पनि निकैबेर विचार गर्नुपर्ने हुन्छ। त्यस्तै लेखनमाथि तुरुन्त प्रतिक्रिया पनि बोरिङ नगरी पिएको पानीजस्तो हो। त्यसले हानि गर्छ। कसैले लेखेको मन परेन भने उसलाई लेखेरै प्रतिक्रिया दिनुपर्छ। यति सीमा त कमसेकम बाँध्नैपर्छ। बरु जति कडा लेखे पनि हुन्छ। तर लेखेरै प्रतिक्रिया दिने अनुशासन कायम राख्नुपर्छ। 

अन्तमा,
एउटा राजनीतिज्ञले समाजको हरेक क्षेत्रमा भइरहेका घटनाक्रम, तिनको विकास आदिबारे सूचना राख्नुपर्ने हुन्छ। साहित्यको विकासबारे बेखबर रहने कुरै आउँदैन। पठन मेरा लागि ज्ञान र सूचना आर्जनमात्रै नभएर मुड फ्रेस गर्ने माध्यम पनि हो। तीव्र व्यस्तताको बीचमा पनि नागरिक दैनिकले नयाँ वर्षको अवसरमा पस्केको साहित्य विशेषांक नपढी बस्न सकिनँ। गत शनिबार प्रकाशित बसन्त बस्नेतको आवरण कथा ‘दशक ६० को सौन्दर्य' मा केही महत्वपूर्ण सन्दर्भ उठाउन खोजिएको छ। उक्त आवरणकथासहित केही रचनाहरु मैले भोलिपल्ट आइतबार बिहान तीन बजे बिछ्यौनामा बसेर पढें। त्यसमा उठाइएका विषयवस्तु छलफलका लागि विचारणीय पाटाहरू हुन् भन्ने लाग्छ। साँस्कृतिक, आञ्चलिक लेखन र भन्नेगरिएको मूलधारबारे छलफल गर्नुपर्ने अरु पनि पाटाहरु छन्। ती सबैलाई केलाउन सकियो भने समग्र नेपाली साहित्यको चित्र आउन सक्छ। ‘नागरिक'को यो प्रयासले थप छलफलका लागि उत्साही बनाएको छ।

प्रकाशित: ५ वैशाख २०७१ २२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App