६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

वृषव बधको प्रसव

‘वृषभ बध' उपन्यासको पहिलो मस्यौदा समाप्त हुँदा १३ परिच्छेद र लगभग ६२ हजार शब्द थिए। तीन महिनाको पाताल प्रवासमा लगभग साढे दुई महिना लगाएर लेखिएको यो कृति अबचाहिँ केहीमात्रामा पाठकको बजारमा देखाउन मिल्ने भयो भन्ठानेर भित्रभित्रै खुसीले उन्मत्त थिएँ।दोस्रो संविधानसभा निर्वाचनताका पाताल प्रवासमा बसेर सृजना भएको यो कृतिको प्राप्तिले मलाई अगाध गौरवबोध भएको थियो। उपन्यासको पहिलो मस्यौदा तयार हुँदासाथ राम्रै काम सम्पन्न भएछ भन्ने आत्मबोध चुलिएको थियो। उता म उपन्यास लेखनमा लागेको बेला यता मेरो मित्र कवि श्यामल फेसबुकका भित्तामा चुनावी प्रतिक्रिया लेख्न सक्रिय थियो। ऊ आजको गतिरोध भत्काउन सक्रिय थियो तर मचाहिँ पञ्चायती तानाशाहीको पहिलो प्रहरको एउटा व्यंग्य कथामा हराइरहेको थिएँ। मैले उसलाई इनबक्समा लेखेँ– कवि र लेखकहरूले चाहिँ राजनीतिक कार्यनीतिको दैनन्दिन सतही व्यवहारबाट आफूलाई जोगाउने हो कि? यो प्रतिक्रिया मेरो ऊसितको आत्मीय प्रतिवादको उत्पादन थियो।
यसअघि म एउटा उपन्यास लेखेर असफल भएको थिएँ। त्यो पाण्डुलिपि च्यातेको शिक्षाले मलाई बढी आत्मविश्वास जगाइदियो। शहीद उत्तरकथा शीर्षकको त्यो उपन्यास कवि हरि अधिकारी, विमल निभा, शार्दूल भट्टराई र आत्माराम शर्माहरूले पढ्नुभएको थियो। सबैको एउटै मत आयो– उपन्यास धेरै कमजोर छ। 
मैले नबुझेको जनयुद्धको संसारमा प्रवेश गर्न खोजेका कारण विफल भएको थिएँ। अब यो कोर्रा खाएर पाएको तालिमले फेरि म आफूले बुझेको संसारतिर फर्किएको थिएँ। मलाई लाग्यो– अब यो कृति राम्रो भयो। तर यो आत्मरति धेरै दिन रहेन। गत पुसको कठोर जाडोमा काठमाडौं फर्केपछि फेरि मन अतालिन थाल्यो। काठमाडौं आएर यो रचनालाई पुनरावलोकन गरेपछि आफ्नो कमजोरीको पोल खुल्दै गयो।
उपन्यासका प्रायः समीक्षक भन्छन्– राम्रो उपन्यास लेख्नका निम्ति जीवनज्ञानको प्रचुर सामग्री, अग्रगामी दृष्टिबोध र त्यसको कलात्मक उपयोग आवश्यक हुन्छ। विशेष गरी उपन्यासको संरचनाको विषयका ज्ञाताले यो कोणबाट विश्वका महान उपन्यासकारलाई समेत सिस्नुपानी लगाएका छन्। यसमा लेव तोल्सतोयको महाउपन्यास युद्ध र शान्तिसमेत आलोचनाको निशाना बनेको छ। हिन्दी साहित्यका समालोचक गोपाल रायले यस विषयमा उठाएको प्रश्न मजस्तो सिकारु लेखकका निम्ति निकै उपयोगी भएको छ। उपन्यासको संरचनाबारे उनले प्रस्तुत गरेका विचारसँग म धेरैमात्रामा सहमत छु। यस विषयमा उनले दुईवटा महŒवपूर्ण पुस्तक लेखेका छन्। उनी भन्छन्– तोल्सतोयले युद्ध र शान्तिमा जीवनज्ञानका सामग्रीको चरम दुरूपयोग गरेका छन्। उपन्यासको संरचनागत कसीमा यो त्रुटिपूर्ण छ।
युद्ध र शान्ति उपन्यासमा दुई समानान्तर कथा र केन्द्र छन्। एउटा कथा फ्रान्सका सम्राट नेपोलियन र रुसका प्रधानसेनापति कुतुजोबलाई पात्र बनाएर बुनिएको छ। सन् १८१२ को युद्धको परिवेशमा वर्णन गरिएको यो इतिहासप्रधान कथा हो। अर्को कथा रोस्तोव परिवारको वरिपरि घुमेको छ। यसमा प्रेम, वियोग, आशा, निराशा एवं जीवनका कठोर संघर्षको आरोह–अवरोहको चित्रण छ। अघिल्लो कथामा तोल्सतोयले कल्पनाभन्दा बढी ऐतिहासिक सामग्रीको प्रयोग गरेका छन् भने रोस्तोव परिवारको केन्द्रमा बुनिएको अर्को कथामा चाहिँ इतिहास कम र कल्पनाको प्रचुरता बढी छ। यसरी एउटा उपन्यासको दराजभित्र अर्को उपन्यास राखेको स्पष्ट अनुभव हुन्छ।
यो सानो उदाहरण उद्धृत गरेर हामी हाम्रो उपन्यास जगतका समस्या र चुनौती बु‰न सक्छौं भन्ने म दाबी गर्दिनँ। तर यी सन्दर्भले यस विषयमा हुनुपर्ने विवाद र विमर्शलाई उत्साहित गर्नेछ।
बहुलकेन्द्र वा बहुल कथाको कारण कुनै कृति फितलो हुने होइन। कृति सबल वा फितलो हुन स्रष्टाले रचना गरेको संसार कति विश्वसनीय छ/छैन भन्ने प्रस्थानबिन्दुले निर्धारण गर्छ। सबै बहुकेन्द्र वा बहुकथा भएका कृतिको सारमा अन्ततः एउटा सार्वभौम केन्द्र रहेकै हुन्छ। उदाहरणको लागि महाभारत काव्यकथालाई लिन सकिन्छ। महाभारतमा धेरै केन्द्र र कथा छन् तर तिनको बीचमा एउटा मुख्य कथा र केन्द्र छ। महाभारतको केन्द्रीय विषय धर्मस्थापना हो। यही एउटा उद्देश्यमा यहाँ अवान्तर कथा, चरित्र र घटनाहरूको शृंखला एकआपसमा फूलको मालाझैं उनिएका छन्। यसबाट स्थापना भएको एकमात्र सत्य हो– बहुकेन्द्रको पक्षपोषण गर्दा ती सबै केन्द्रको नाभीमा निहित विशिष्ट केन्द्र बन्नु। यसलाई कुनै पनि हिसाबमा भुल्न हुँदैन। मूलतः सबै यस्ता केन्द्र एउटा साझा रसायनले आबद्ध हुन्छन् र अन्ततः उच्च कलाकृतिको पूर्वसर्त यही हो भन्नेमा म दीक्षित छु।
वृषभ बध उपन्यासको पहिलो मस्यौदा पढ्ने मित्रहरूले दुई विपरीत प्रकारका सुझाव दिए। एकथरीले भने– यो उपन्यास तपाईंका सबै उपन्यासको तुलनामा उम्दा छ। अरू केही साथीले प्रेतकल्पको उदाहरण दिँदै भने– अझै यो प्रेतकल्पको हाराहारीमा पुग्न सकेको छैन। विशेष गरी कवि मित्र विमल निभा वृषभ बधको विचार र कलात्मक स्तरबारे धेरै मूल्य तोक्नुहुन्छ। उहाँले भन्नुभयो– यो उपन्यासले तपाईंलाई धेरै माथ्लो ठाउँमा स्थापित गर्नेछ।
दुवै पक्षका सुझावलाई मनन गरेर मैले मस्यौदामाथि फेरि काम थालेँ। यसबीच अर्को तीन महिना काम गर्दा पहिलो मस्यौदाका १० हजार जति पुराना शब्द घटे र अरू ३८ हजार नयाँ शब्द थपिए। उपन्यास अब १३ परिच्छेदबाट १७ परिच्छेदमा पुग्यो।
पहिलो मस्यौदा पढेर मूल्यवान सुझाव दिनेमा राप्रउ पोखरेल, विमल निभा, शार्दूल भट्टराई, झलक सुवेदी, आत्माराम शर्मा र उषा तिमिल्सेना थिए। सबैले महŒवपूर्ण सल्लाह दिएका छन्। अविनाश श्रेष्ठ, घनश्याम भुसाल र सुरेश ढकालको सुझावचाहिँ पर्खेर बसेको छु। राप्रउ पोखरेलले दिनुभएको सुझाव अरू बढी मूल्यवान छ। मेरो कमजोरी के छ भने म धेरैजसो सानामसिना कुरामा पनि गल्ती गरिरहेको हुन्छु। केही दिनअघि एउटा लेखमा सर्बान्तेसलाई स्पेनी उपन्यासकार भन्नुपर्नेमा इटालियन लेख्न पुगेँछु। त्यो भूल उहाँले मात्र औंल्याइदिनुभयो। वृषभ बधमा पनि थुप्रै त्रुटि देखाउनुभयो, जसलाई मैले निसंकोच परिमार्जनको क्रममा सच्याएको छु।
केही वर्षयता नेपाली भाषामा उपन्यास लेखनको गति रफ्तारमा बढेको छ। पल्पसा क्याफे, कर्णाली ब्लुज, दमिनी भीरलगायत अरू केही उपन्यासको सर्वाधिक बिक्रीले पुराना तथा नवोदित स्रष्टा उपन्यास लेखनतिर आकृष्ट भएका छन्। धेरैले यो घटनालाई सकारात्मक ठानेका छन् भने कतिपयले नाक खुम्च्याएको पनि देखिँदैछ। कवि राजवले त बेकारीमा उपन्यास शीर्षकको उपन्यासै लेखेर उपन्यासको बाढी आएको कुरालाई व्यंग्य गर्ने जमर्को गरेका छन्। मेरो विचारमा यस किसिमको क्रिया–प्रतिक्रिया हुनु उपन्यासका लागि खुसीको विषय हो। वाद—विवाद—संवाद भनेको ज्ञान र विज्ञानको तह उकास्ने महŒवपूर्ण प्रक्रिया हो। कर्मकाण्डवादी परम्परामा ज्ञानमाथि शंका गर्नुपर्छ भन्ने मान्यतालाई ठाउँ हुँदैन। ज्ञान होइन भक्तिबाट मुक्ति मिल्छ भन्ने स्थापनाको सार पनि यही हो। यस्तो अवस्थालाई बदल्न वादविवाद चल्नु स्वागतयोग्य कुरा हो। यति हुँदाहुँदै पनि मेरो जिकिर छ– यस किसिमको विमर्शलाई उपन्यासको कला र सौन्दर्यशास्त्रको आलोकमा चलाउने हो भनेमात्र त्यो कुरा हाम्रो उपन्यास लेखनकर्मको लागि उपयोगी बन्न सक्नेछ।
हाम्रो समयका एक प्रखर जनबौद्धिक भनेर चिनिएका एडवर्ड सइदको उपन्याससम्बन्धी दृष्टिकोणलाई यसअघि पनि कतिपय सन्दर्भमा चर्चा गरेको छु। उपन्यासको सौन्दर्यशास्त्रीय पक्षधरताको कुरामा म उनका विचारको पिछलग्गु हुँ तर मैले आजसम्म पनि उनको जस्तो विचारलाई आफ्ना उपन्यासको विषय बनाउन सकिरहेको छैन। सन् १९७८ मा प्रकाशित उनको पुस्तक ओरियन्टलिज्मले मलाई प्रभाव पार्नुमा विचार नै मुख्य पक्ष हो। पश्चिमले पूर्वलाई सच्चा आँखाले हेरेन भनेर नै सइद अशान्त हुदै जुर्मुराएका थिए। पश्चिमी शक्तिशाली राष्ट्रले जहिले पनि पूर्वलाई ‘अन्य' दर्जामा राखेर अवमूल्यन गर्दै आएको छ। पूर्वको मानव सभ्यता र संस्कृतिको इतिहासलाई पश्चिमले अवहेलना गर्दै आएको कुरालाई सइदले सन् १९९३ मा प्रकाशित ‘कल्चर एन्ड इम्पियरियलिज्म' नामक पुस्तकमा मनग्य चर्चा गरेका छन्। उन्नाइसौं र बीसौं शताब्दीका बेलायती उपन्यासको उदाहरण झिक्दै उनी भन्छन्– यी उपन्यासहरूल्लेे संस्कृतिको स्तरमा छद्म तरिकाले साम्राज्यवादी शक्तिको पक्षपोषण र वैधता दिने कार्य गरिरहेका छन्। कतिसम्म भने जेन अस्टिन जस्ती राजनीतिमा रुचि नराख्ने लेखिकाको ‘मेन्सफिल्ड पार्क'जस्तो गैरराजनीतिक मानिने उपन्यासले समेत उपनिवेशवादको राजनीतिक मन्तव्यलाई मुख्य उपपाठ बनाएको छ भने इएम फोस्टर, रुडयार्ड किपलिङ, जोसेफ कोनराड आदि त हाकाहाकी उपनिवेशवादका सांस्कृतिक प्रवक्ता हुने नै भए।
नेपाली सन्दर्भमा उपनिवेशवाद कसरी प्रकट हुन्छ भन्ने विषयमा अझैसम्म खासै गम्भीर अध्ययन भएको छैन। विशेष गरी उत्तरऔपनिवेशिक समयमा साम्राज्यवादको स्वरूप पहिलेको जस्तो साकार देखिँदैन। एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा विगतमा साम्राज्यवाद युद्धद्वारा भूभाग कब्जा गदै स्रोत र साधनको दोहन गर्थ्यो तर अहिले उसको प्रक्रिया बदलिएको छ। आफ्नो नैतिक र सांस्कृतिक श्रेष्ठता कायम गर्दै ‘अन्य'माथि वर्चश्व कायम गर्नु साम्राज्यवादको सांस्कृतिक रणनीति हो। जोसेफ कोनराड आफ्नो उपन्यास हार्ट अफ डार्कनेसमा सगर्व लेख्छन्– पृथ्वीलाई जित्नुको खास अर्थ यही हो कि पृथ्वीलाई ती मानिसको हातबाट खोस्नुपर्छ, जो हाम्रो रङ, रूप र संस्कृतिभन्दा भिन्न छन्।' कोनराडको यो विचारले साम्राज्यवादको सांस्कृतिक अभीष्ट प्रकट गर्छ।
एडवर्ड सइदका यी सन्दर्भ उद्धरण गर्दैमा मात्र उपन्यासको सौन्दर्यशास्त्रसम्बन्धी हाम्रो जागरणको खाँचोलाई पूरा हुँदैन। हाम्रो उपन्यासका आफ्नै जन्म, विकास र परिष्कारका शृंखला छन्। करिब सय वर्षको हाम्रो उपन्यास इतिहासमा सामाजिक रूपान्तरणका निम्ति केही मूल्य रहने उपन्यास कति होलान् भन्ने प्रश्न गर्दा केही अपवादलाई छोडेर निराशामात्र हात पर्ने स्थिति छ। जबकि, हाम्रा छिमेकी भारत, चीन, पाकिस्तान, बंगालादेश, श्रीलंका आदि मुलुक हामीलाई उछिनेर धेरैअगाडि बढिसकेका छन्।
मैले अहिलेसम्म लेखेका सबै उपन्यास मूलतः राजनीतिक प्रकृतिका हुन्। राजनीतिइतरको समाज र इतिहास हुन्छ भनेर म कल्पना गर्नै सक्दिनँ। प्रेतकल्पमा सय वर्षअगाडिको राजनीति र इतिहासको जमिन थियो भने वृषभ बधमा ५० वर्षअघिको इतिहास र राजनीति छ। त्यसपछि यही चौकोसभित्र प्रेम, घृणा, सहयोग, असहयोग, छल, प्रपञ्च, संघर्ष, पलायनका अवान्तर विषय गाँसिएका छन्। अहिले म यिनै विषयको धुरीमा रहेर यो नयाँ उपन्यासको पुनरावलोकन र परिमार्जनको काम गरिरहेको छु।
हेरौं म अब कहाँ पुग्छु!

प्रकाशित: ५ वैशाख २०७१ २२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App