छोरी राजनीतिका नाममा बाहिर बरालिँदै हिँडेको परिवारले मन पराएन। त्यसमाथि उ बेलाको पञ्चायतविरोधी कम्युनिस्ट सक्रियता! छोरीलाई राजनीतिबाट छुटाउन परिवार बिहे गरिदिने योजनामा पुग्यो। उनले मानिनन्। बिहे नगर्ने घुर्कीको बदलामा घरमै थुनिइन् निकै दिन। एकचोटि बहिनीसँग मिलेर जुक्ति निकालिन्। बहिनीकै सहयोगमा २०३६ सालमा घरबाट बहाना बनाएर निस्केकी उनी त्यसपछि फर्किनन्। भित्रभित्रै नेकपा (माले)सँग आबद्ध भएर राजनीतिक काम सुरु गरिसकेकी थिइन्। महिलामुक्तिका लागि संघर्षको बाटो रोजेर घर छोड्दा उनको उमेर २० वर्ष थियो।
त्यसबखत अमृतकुमार बोहरा नेकपा (माले) का बागमती इन्चार्ज थिए। पार्टी अनुमतिमा २०३७ सालमा उनले बोहरासँग बिहे गरिन्। लगत्तै पार्टीकामका सिलसिलामा पिस्कर पुगिन्। त्यहाँ दुई वर्ष बसिन्। सहरको सयलमा हुर्केकी उनले थुप्रै दिन विकट गाउँका अप्ठ्यारामा बिताउनुपरेको थियो।
उनी लेख्नमा निकै सिपालु थिइन्। संघर्ष र लगावले पार्टीको ‘सक्रिय महिला'मा बढुवा गरायो। २०४० सालमा पार्टीको झापा जिल्ला सदस्य बनिन्। अनेम संघ मेची अञ्चल इन्चार्जको जिम्मा पाइन्। पञ्चायतकालमा पटकपटक पक्राउसमेत परेकी थिइन्।
२०५६ को आमचुनावमा काठमाडौंबाट विजयी भएपछि उनी महिला, बालबालिका तथा समाजकल्याण मन्त्री बनिन्। २०६४ सालमा उद्योगमन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेकी छिन्। हाल संविधानसभा सदस्य, नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा राज्यव्यवस्था विभागप्रमुख छिन्।
प्रकाशित: २४ फाल्गुन २०७० ०१:३० शनिबार





