१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

घर नै पाठशाला

देवेन्द्रप्रसाद उप्रेती

यतिखेर सबै बालबालिका घरभित्र थुनिएका छन् । यो अवस्था रहर नभएर बाध्यता हो । घर नै हाम्रा लागि संसार बनेको छ । आमाबुबा, हजुरबा, हजुरआमा सबैले बालबालिकालाई घरबाहिर जानबाट रोक्नुभएको छ । सबैको हित पनि यसैमा छ । संसारमा फैलिएको कोरोना भाइरस (कोभिड १९)ले शक्तिशाली देशहरूलाई समेत तहसनहस पारिरहेको छ । दिनहुँ समाचार आइरहेकै छन् । समाचारकै आधारमा बालबालिका डराउनु पनि स्वाभाविक नै हो । तर, हामी डराउनुको कुनै अर्थ छैन । डराउनु त त्यसले पर्छ, जो मनपरी गरेर हिँड्छ । बुबाआमाले भनेको मान्दैन अनि साथीसँग हूल बाँधेर हिँड्छ । हामी त घरभित्रै छौं । त्यसैले त सुरक्षित छौं । हामी समाचार बन्नुपरेको छैन, त्यसैले खुसी छौं ।

गएका वर्षहरूमा यतिबेला हामी धेरै जना बालबालिका रुघाखोकी, ज्वरो, निमोनिया, टाइफाइड, जन्डिस आदि धेरै रोगको शिकार भएका थियौं होला । यसपालि हामी त्यसबाट बचेका छौं । पक्कै पनि हामी सबै होसियार र चनाखो बनेका छौं । उमालेको तातो पानी पिउँछौं, ताजा खानेकुरा खान्छौं । जंकफुड, चटपटे, पानीपुरी जस्ता हानिकारक खानेकुरा हामीले खाएका छैनौं । बारम्बार साबुनपानीले हात धोइरहन्छौं अनि हरेक कुरा राम्रोसँग पखालेर, राम्रोसँग पकाएर मात्र खान्छौं । हामीले ठीक समयमा खाना, खाजा खाएका छौं । यसकारण त हामी स्वस्थ भई सुहाउँदिलो रूपपमा मोटाएका पनि छौं । 

घरमा टेलिभिजन हेर्ने, बालकथा, बालकविता, निबन्ध पढ्ने काम पनि गरेका छौं । बुबाआमा, दाजु, दिदीसँग कुरा गर्न पाएका छौं । उहाँहरूसँग खेल्न पाएका छौं । हामी विभिन्न उमेर समूहका बालबालिका आफ्नो रुचि र प्रतिभाअनुसारको काम गर्दै छौं । केही समयअघि सहज वातावरण भएको बेला हाम्रो अधिकांश समय विद्यालयमा नै बितेको हुन्थ्यो । अहिलेको पूरै समय घरमा बितेको छ । यो समय हाम्रा लागि ठूलो अवसर पनि हो । चुनौतीसँगै अवसर पनि साथमै हिँडेको हुन्छ । हामी कतिपयलाई साइकल चलाउन आउँदैन्थ्यो होला, कतिलाई खाना बनाउन, लुगा धुन, सरसफाइ गर्न, लुगाफाटो मिलाउन, करेसाबारीमा तरकारी लगाउन, गोडमेल गर्न, पानी लगाउन, गमलामा फूलहरू रोप्न, त्यसको हेरविचार गर्न आदि धेरै काम सिक्ने अवसर पनि पाएका छौं ।

नाच्नमा रुचि हुनेले नाच्ने, गाउनमा रुचि हुनेले गाउने, वाद्यवादनमा रुचि हुनेले बजाउने, लेख्नमा रुचि हुनेले लेख्ने, पढ्नमा रुचि हुनेले पढ्ने आदि कामहरू धेरै छन् । तर, हामी काम नै नभएजस्तो दिक्क मानेर बसिरहेका हुन्छौं । 

विद्यालय जान पाइएन भनेर चिन्ता गर्छौं । विद्यालय लागेको बेला एक दिन अचानक बिदा हुँदा हामी औधी रमाउँथ्यौं । विद्यालयमा पढ्ने, साथीहरू भेट्ने, आफ्नो ज्ञानको क्षितिज फराकिलो बनाउनु पक्कै पनि राम्रो पक्ष हो । के यस्ता कुरा गरेर हामी घरमा केही पनि नगरी बस्ने त ? अवश्य पनि यो ठीक होइन । हामीले केही न केही गरेर आफूलाई व्यस्त राख्नुपर्छ । हुनुपर्ने कुरा त भएरै छाड्छ नि । हामी हिँड्दाहिँड्दै लडेर घाइते हुन सक्छौं, दुर्घटनामा पर्न सक्छौं,  विभिन्न रोगले दुःख दिन सक्छ । यसकारण पनि पहिला हामी समस्यामा नै हुने गथ्र्यौं । अहिले अस्पतालमा बिरामीको चाप घटेको कुरा समाचारबाट प्राप्त हुन आएको छ । यसको मतलब हामी स्वस्थ बनेका छौं । सधैँभरि यसरी नै सचेत हुने हो भने हाम्रा धेरै समस्या हटेर जान्छन् ।

हामी बालबालिका विभिन्न स्थानमा छरिएर रहेका छौं । कोही शहरबजारमा बसोबास गर्छौं भने कोही गाउँघरमा । अहिले विद्यालयहरूले अनलाइन कक्षाको व्यवस्था गरेका छन् । हामी कतिपयसँग इन्टरनेटको सुविधा छ भने कतिपयसँग त्यो सुविधा छैन । सुविधा नभएकाले पनि डाटा किनेर चलाएको पाइन्छ । नेपालमा कतिपय स्थानमा डाटा पनि चल्दैन । यसका साथै सबैलाई प्रविधिको ज्ञान पनि छैन । विद्यार्थीसँग महँगो मोबाइल, ल्यापटप, ट्याब, डेस्कटप क्म्प्युटरको सुविधा नहुन सक्छ । यति हुँदाहुँदै पनि कतिपय स्थानमा अनलाइन कक्षा चलिरहेका छन् । पढाइलेखाइको स्रोत कक्षाकोठा मात्र नभएर त्यसलाई घरमै पनि सदुपयोग गर्न सकिने रहेछ भन्ने बलियो आधार पनि पाएका छौं । हामी फेसबुक म्यासेन्जर, भाइबर, गुगल क्लास,जुम क्लाउड आदि विभिन्न माध्यमबाट समूह बनाई जोडिन थालेका छौं । घरका अभिभावक समेत यो नयाँ सिकाइको प्रक्रियामा जोडिन थाल्नुभएको छ । आफ्ना साना बाबुनानीहरूलाई अनलाइन कक्षामा सहभागी गराउने, कक्षाकार्य तथा गृहकार्यमा सहयोग गर्ने कार्यमा उहाँहरूको सक्रियता बढ्न थालेको छ । आफ्ना बाबुनानीहरूको पढाइ, लेखाइ, सुनाइ, बोलाइको स्तर मापन गर्न पनि सहज भएको छ । लकडाउन, विद्यार्थीले आफ्नो स्तरमा सुधार ल्याउने सुवर्ण अवसर पनि हो ।

   देशमा लोडसेडिङ भएको अवस्थामा यो अनलाइन कक्षाको कल्पना समेत गर्न सकिँदैनथ्यो । तर, अहिले नेपालमा लोडसेडिङ छैन । कहिलेकाहीँ प्राविधिक समस्या भए मात्र बत्ती जान्छ । यसकारण बिजुली बत्तीले पनि हामीलाई साथ दिएको छ ।  

   हो, हाम्रो देशमा सबै बालबालिका एउटै स्तरका छैनन् । कसैले पढ्न पाउने र कसैले नपाउने वातावरण बन्नु राम्रो होइन । यसो भन्दैमा पहुँच हुनेहरू पनि चूपचाप बस्नुपर्छ भन्ने कुरा पनि त ठीक होइन । अनलाइन कक्षाले प्रविधिमा नयाँ खोजीको सम्भावनालाई बाटो देखाइदिएको छ । अहिले हामीले धेरै नयाँ कुरा सिक्न थालेका छौं । उपयोगी युटुब भिडियो खोज्ने, आफ्नो स्तरअनुकूलको सामग्री गुगलमा खोज्ने, विभिन्न सिर्जनात्मक सामग्री हेर्ने, पुस्तकहरू डाउनलोड गर्ने, अरूका लेखरचना पढेर लेख्न प्रोत्साहित हुने आदि सकारात्मक पक्ष रहेकै छ । विद्यार्थीहरू नेपाली, अंग्रेजी टाइप गर्ने कार्यमा पनि सिपालु बन्न थालेका छन् ।  

 प्रविधिको विरोध गर्ने होइन, त्यसलाई मित्र बनाई अघि बढ्नु एक्काइसौं शताब्दीको आवश्यकता पनि हो । अहिले विविध कारणले अनलाइन कक्षामा जोडिन नसक्नेले पछि कक्षाकोठामा पाठहरू सुरुदेखि नै पढ्नै पर्छ । शिक्षकले पनि सुरुदेखि नै पढाउनै पर्छ । हालको अनलाइन कक्षा भनेको समयको सदुपयोग, प्रविधिसँगको निकटताका साथै मन बहलाउने माध्यम समेत बनेको छ । यसका साथै ज्ञानको क्षितिज फराकिलो बनाउने माध्यम पनि हो । अनलाइन कक्षाले विभेद निम्त्याउँछ भनेर कतिपय व्यक्तिबाट आवाज उठेको पनि पाइन्छ । तर, मेरो दृष्टिकोणमा यो विभेद नभएर सिक्ने अवसर हो ।  

कोरोना भाइरसको संक्रमण कहिलेसम्म बढ्दै जान्छ भन्ने निश्चित छैन । जटिल अवस्थामा लकडाउन खुकुलो पार्दा पनि भयानक अवस्था आउन सक्छ । कतिपय विद्यालय सञ्चालकले ‘अब विद्यालय खोल्नुपर्छ’ भनेर आवाज उठाउन थालेका छन् । यस्तो अवस्थामा विद्यालय सञ्चालन गर्दा संक्रमण फैलियो भने त्यसको जिम्मा कसले लिन्छ ? संक्रमण नफैलिएका जिल्लामा भने सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सकिन्छ । तर, सबै ठाउँमा अहिलेकै अवस्थामा विद्यालय सञ्चालन गर्ने अवस्था देखिंदैन ।  

साना बालबालिका हिजोआज बिहानदेखि बेलुकासम्म मोबाइल, ल्यापटप, ट्याब, टेलिभिजन र कम्प्युटरमा झुम्मिन थालेका छन् । अभिभावकको निगरानी नभएको ठाउँमा अनलाइन कक्षाबाट पनि भाग्न थालेका छन् । पठनपाठनको गतिविधि शून्य भएको छ । यस्तो अवस्थामा अभिभावकवर्ग निकैसचेत बन्नु आवश्यक छ । आफ्ना नानीबाबुलाई व्यस्त राख्न अनेक योजना बनाउनु आवश्यक छ । बालबालिकालाई घरभित्रै खेल खेलाउने, आफू पनि उनीहरूसँगै खेल्ने, चित्र बनाउन, रङ भर्न लगाउने, साना साइकल कुदाउन दिने, क्यारम, चेस, बाघचाल खेल्ने, खेलाउने, कथा सुन्न, सुनाउन लगाउने, घरायसी कामकाजमा सघाउन लगाउने आदि कार्यले उनीहरू व्यस्त रहन्छन् ।  

बिहान, साँझ योग, ध्यान गरौं,  आफू नाचौ. अनि बालबालिकालाई पनि नचाऔं । कलिला बालबालिकाले हाम्रो क्रियाकलापलाई टपक्क टिप्ने भएकाले त्यसतर्फ सचेत बनौं । अहिलेको अवस्थामा बालबालिकामा नकारात्मक भावनाको विकास हुन सक्छ । प्रविधिको गलत प्रयोग हुन सक्छ । बालबालिकालाई कर्तव्यनिष्ठ बनाउन निकै समय लाग्छ तर बिग्रिन कत्ति पनि समय लाग्दैन । लकडाउनपश्चात् धेरैमा डिप्रेसन देखिन सक्ने कुरा कतिपय मनोविद्हरूले बताउन थालेका छन् । यसर्थ अभिभावक सचेत बनौं र बालबालिकालाई मायालु वातावरणमा सचेत बनाऔं ।आफू सुरक्षित रही बालबालिकालाई जोगाऔं । चुनौतीलाई अवसरमा बदलौं । घर नै पाठशाला बनाऔं ।

प्रकाशित: १९ जेष्ठ २०७७ २३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App