१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

सुनसान छ वातावरण

सम्राट पन्त,कक्षा : ९
त्रियोग माध्यामिक बिद्यालय,धापासी, काठमाडौं । 

चूनौति, कठिनाइ र प्रकोप संसारका सबै मानिसले भोग्नु नै पर्छ । कहिले भुकम्पले हल्लाउँछ त कहिले बाढिले बगाउँछ । कहिले हावाहुरीले उडाउँछ त कहिले महामारीले आतंक मच्चाउँछ । आज हामी सबै आफ्नै घरभित्र छौं । यसको मूख्य कारण कोरोना भाइरस हो । सारा संसार भाइरसको डरले त्रसित छ । कति मानिस रोगले छटपटाइरहेका छन् भने कतिपयको जीवन त्यही रोगले चुँडिसक्यो । 

भाइरसबाट बच्न लकडाउन घोषणा गरिएको हो । मैलै कहिल्यै पनि यसरी हामी घरभित्रै थुनिन्छौ भन्ने कल्पना गरेको थिइनँ । अचेल वरपर सबैतिर सुनसान छ । हरेक दिन घर अगाडिको बाटो सफा गरी पानी छर्कनेहरू घरभित्रै थुनिएका छन् । बाटोमा भौतारिने कुकुरलाई बिस्कुट खुवाउने शीतल दिदी पनि घरभित्रै हुनुहुन्छ । नजिकैको मन्दिरबाट जहिल्यै शंखको मधूर ध्वनी सुनिन्थ्यो तर आजकल शंख फुक्ने कोहि छैन । घर पछाडि मैदानमा खेल्न कोहि आउँदैन । कुनै घरको सिसामा क्रिकेटको बल ठोकिएको छैन । अस्तिनै फुटबल खेल्न इट्टाले बनाएको गोलपोस्ट जस्ताको तस्तै छ । त्यहाँ गाइ चराउन ल्याउने बाजेको अनुहार नदेखेको धेरै भैसक्यो । मैदानमा घाँस बाहेक केहि देखिँदैन । 

बाटोमा यताउता दौडने, चारपाग्रे साइकल चलाउने बालबालिका कहाँ छन् ? देखिँदैनन् । पहिला उनीहरू त्यसरी बाटोमा दौडेको फिटिक्कै मन पर्दैनथ्यो मलाई । हिजोआज भने उनीहरूको बालापनको चञ्चलताले धक्का हानिरहन्छ । सबेरै जगिङ निस्कने काकाहरू अचेल घरभित्रै सोफामा पल्टेर लुडो खेलिरहेका होलान् । बाटो खालि छैन, भरिएको छ तर केवल निस्पट्टताले । चोकमा गएर कसैले खेल्दैन अचेल । यसरी नै सबैको दिन वित्छ । 

साँझपख एक घण्टा जतिलाई पसल खुल्छन् । त्यतिबेला भने बल्ल कोहि अत्याबश्यक सामान किन्न घर बाहिर निस्कन्छन् । तरकारी छान्न घण्टौ लगाउने सूनिता काकी पाँच मिनेटमै सामान लिएर फर्कनुहुन्छ । साँझपख सबै छिमेकी आ–आफ्ना घरको छतमा देखिन्छन् । केही समय चिसो हावाको आनन्द लिएर फेरी सबैजना कोठामा गइहाल्छन् । र, फेसबुकमा अरूले हालेका पोस्टमा लाइक र कमेन्ट गर्न थाल्छन् । 

बिहानबिहानै ‘साग आयो’ भन्दै कोही आउँदैन । साधुहरू पनि ‘जय शम्भो’ भन्दै भिक्षा माग्न आएका छैनन् । फोहोर संकलन गर्न गाडी आउनु अगाडिको सिठ्ठी बल्ल बिहीबार सुनियो । त्यतिमात्र होइन, महेशको जर्मन सेफर्डले भुक्ने कोहि छैन, जताततै सुनसान छ ।

राम्ररी मोबाइल चलाउन नजान्ने हजुरआमाले यूट्युब चलाउन सिक्नु भयो । मैले पनि खाना पकाउन सिकें । भाईले जुत्ताको तुना बाँध्न सिक्यो । यो सबै लकडाउनले गर्दा हो । 

लकडाउनले गर्दा गाडीको चर्को आवाज सुन्नु परेको छैन । धुलोधुवाँले पनि बिश्राम लिएजस्तो लाग्छ । पहिला पहिला सडकभरी चकलेट र फ्रुटीका खोल देखिन्थ्यो, अचेल त्यसरी फ्याँकेको देखिँदैन । कुकुर धनीहरूले कुकुरलाई सडकमा आची गराएको पनि देखिँदैन ।

वातावरण सफा भएको छ । यस्तै छ यताको हालखबर । यसरी घरभित्र बस्नु परेमा हामी आफुलाई अभागी पनि भन्छौं । तर कति मानिससँग न बस्ने घर छ  न लगाउने लुगा, न त खानेकुरा नै । हामीसँग त केही दालचामलको जोहो छ, त्यसैले आफुलाई भाग्यमानी सम्झेर घरभित्रै बसौं । कोरोनाबाट बचौं ।

प्रकाशित: ५ वैशाख २०७७ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App