१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

राजकुमारलाई कमिला र माकुराको सहयोग

इमोनिका राई,कक्षा ७,
गोल्डेन पिकहाइ स्कुल,चावहिल, काठमाडौं 

लकडाउन भएको बीस दिनसम्म मैले हजुरबुबा, हजुरआमाका साथै ममी र बाबाबाट धेरै कथा सुनिसकें । मामाघरकी हजुरआमाले भिडियो च्याटबाटै एकताका नेपालमा कोरोनाजस्तै महामारी फैलिएको र गाउँघरमा खाने अन्न पनि नभएर जंगलमा जे पाइन्छ त्यही खाएको र, जसले सिस्नुको जरा खायो ऊ बाँचेको कथा सुनाउनु भयो । तर, ढुंगा, माटो र विषालु फल खाने जति मरेका थिए रे ।   

यस्ता संकट नेपालमा घरीघरी आएको बताउनुहुन्छ हजुरबुबा र हजुरआमा । कहिले खडेरी आउने, कहिले बाढी आउने, कहिले भुइँचालो आउने । मलाई कथा सुन्न मज्जा लाग्छ । 

ममीले सुनाएको एउटा कथाबारे लेख्छु है ! कथा पुरानो समयको हो जब मानिस पनि जनवारसँग बोल्न सक्थे । तिनताका एउटा देशका राजकुमार अर्को देशमा घुम्न गएछन् । बाटोमा हिँड्दाहिँड्दै वनको बाटो आएछ । बाटो भुलिएर उनले जंगलमा दुःख पाएछन् । उनी वनमा प्रवेश गरेको केहि समयपछि उनले एउटा कमिलो खोलामा बगेको देखेछन् । 
कमिलो चिच्याउँदै थियो, ‘बचाऊ ! बचाऊ !’ उनले त्यसलाई पात झारेर पानीबाट बाहिर निकालेछन् । कमिलाले धन्यवाद दिँदै भनेछ, ‘कुनै बेला सहयोग चाहिएमा मलाई सम्झनु ।’

अलिक अगाडि पुग्दा माकुरा असिनपसिन हुँदै मरेंमरें भन्दै बसेको रहेछ । के भयो भनेर राजकुमारले सोध्दा ‘यो मुसाले जति र जहाँ म जालो लगाउँछु त्यहिँ आएर भत्काइदिन्छ अनि मैले शिकार मार्न पाएको छैन, धेरै दिन भयो भोकै छु’ भनेछ ।  राजकुमारले मुसालाई भनेछन्, ‘तिमीले यस्तो गर्दा माकुरा भोकै हुन्छ ।’ मुसाले राजकुमारको कुरा मानेछ । माकुराले पनि भनेछ, ‘कुनै समय मेरो आवश्यकता भए यो ऋण चुक्ता गर्ने मौका दिनुस है ।’ 

अलिक पर पुगेपछि राजकुमारले एउटी सुन्दरी देखेछन् । कुरा गर्दै जाँदा त्यहाँकी राजकुमारी रहिछन् । दुवैले एकले अर्कालाई मन पराएछन् । त्यस देशका राजाले आफ्नी छोरीको बहादुर राजकुमारसँग बिहे गरिदिने प्रतिज्ञा गरेका रहेछन् । राजकुमारले डराइडराइ छोरी मन परेको बताएछन् । राजाले शर्त राखेछन्, ‘तिमीले भटमास, गहुँ, मकै मिसाएको मिश्रण फरकफरक बोरामा एक रातमा १० बोरा छुट्टयायौं भने मात्र छोरी दिन्छु ।’ 

परेन फसाद ! उनले प्रस्ताव स्वीकार गरे । उक्त मिश्रणलाई कोठामा राखेर धुरुधुरु रुन लागेछन् । कमिलाले राजकुमार रोएको देखेर सोधेछ, ‘किन रोएको ?’ राजकुमारका कुरा सुनेपछि फेरी कमिलाले भन्यो, ‘तिमी आनन्दले यहाँ छेउमा सुत म गरिहाल्छु ।’

कमिलाले साथीहरू बोलाएर काम गर्न थालेछ । बिहान राजकुमार उठ्दा राजाले भने बमोजिम भएको रहेछ । राजाका सैनिक  हेर्न आउँदा सबै छुट्टयाएर बेग्लाबेग्लै बोरामा राखेको देखेर चकित परेछन् ।  

राजा पनि छक्क परेछन् । राजाले फेरी अर्को काम दिए छन् । राजाले डोको दिँदै भनेछन्, ‘यसमा दूध दोहेर ल्याउ । तिमीसँग सैकिन पनि जान्छन् ।’ राजकुमार गाईको गोठमा पुगेर रुन लागेछन् । उनी रोएको सुनेर माकुराले सोधेछ, ‘के भयो तिमीलाई ?’

राजकुमारले सबै कुरा बताए पछि माकुराले भन्यो ‘किन चिन्ता गरेको, म डोकोमा जालो लगाउँछु, तिमी दूध दोऊ ।’ डोकोका प्वाल पुरिने गरी माकुराले जालो लगाइदिएछ । सैनिकले राजालाई गोठैमा लगेर देखाएछन् । राजा त छक्क परेछन् । राजाले यो केटा साधारण मान्छे होइन रहेछ भनेर परिचय मागेछन् । र धुमधामसँग राजकुमारीसँग विवाह गरिदिएछन् । 
यस कथाबाट एक अर्कालाई सहयोग गर्नु पर्छ भन्ने सिकें ।

प्रकाशित: १ वैशाख २०७७ ०४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App