१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सुध्रिँदै नयाँ बसपार्क

कविराज कार्की

‘पहिले  यात्रीहरू लाइनमा नबसेकाले टिकट काउन्टरमा भीडभाड हुन्थ्यो। अहिले यात्री लाइनमा हुन्छन्। सुरक्षाका लागि सीसीक्यामरा राखिएको रहेछ। माइकिङ गरेर यात्रुलाई सूचना दिइन्छ,’ बझाङका खड्कप्रसाद देवकोटाले भने, ‘म बझाङको टिकट काट्न आउँदा तीन–चार दिन बसपार्क धाउनुपथ्र्यो तर अहिले एकछिनमा टिकट खरिद गरेर यात्रा  गर्न पाइन्छ।’

देवकोटा बझाङ जाने तयारीमा थिए। उनका अनुसार नयाँ बसपार्क क्षेत्रमा चोरीको घटनासमेत कम भएको छ। नयाँ बसपार्क विगतमा भन्दा धेरै सुध्रिँदै गएको छ। लोत्से बहुउद्देश्यीय प्रालिले ठाउँठाउँमा सुरक्षाकर्मी, सिसीक्यामरा, ब्यानर, जनचेतनामूलक पम्प्लेट, माइकिङ तथा स्वयंसेवक राखेर बसपार्क  व्यवस्थित बनाउन खटिएसँगै बसपार्कको अवस्थामा सुधार आएको हो।

प्रालिका एचआर म्यानेजर पंकज मल्लले दुई वर्षअगाडि नयाँ बसपार्क अस्तव्यस्त रहेको जानकारी दिए। उनले भने, ‘तर अहिले व्यवस्थित हुँदै आएको छ। हामी दिनरात  यात्रुको सेवामा व्यस्त छौं।’ उनले बसपार्कमा प्रतीक्षालय, शौचालय र पार्किङ स्थलको व्यवस्था गर्न यातायात विभागको निर्देशिकाबमोजिम काम गर्दै आएको पनि जनकारी गराए।

प्रालिले सार्वजनिक सूचना निकालेरै  नयाँ बसपार्कभित्र घडी, गुट्खा, सुर्तीजन्य पदार्थ, पुष्टकारी, बदाम, सुन्तला, चियापानी, कस्मेटिकलगायत सामान बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। ‘यसैकारण, बसपार्क निकै सफा हुँदै गएको छ। होहल्ला र भीड पनि कम हुँदै गएको छ,’ मल्लले भने।

मल्लले टिकट काउन्टरका केही  कर्मचारीले सस्तोमा टिकट तथा सिट मिलाइदिने आश्वासन दिएर यात्रुलाई ठग्ने गरेको जानकारी गराउँदै भने, ‘पाकेटमारादेखि पनि सावधान रहनुहोला। कसैले टिकटमा ठग्न खोजे या सामान चोरी भए तुरुन्तै महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा सम्पर्क राख्न हामीले यात्रुलाई अनुरोध गरेका छौं।’

मल्लका अनुसार नयाँ बसपार्कबाटै विभिन्न जिल्लाका लागि सवारी छुट्छन्। सरकारले तोकेकै भाडादर लागू गर्न लोत्से बहुउद्देश्यीय प्रालिबाट कडा निगरानी पनि गरिन्छ। बसपार्कभित्र बुकिङ कर्मचारी, चालक र सहचालकले यात्रुलाई तान्ने–फकाउने जस्ता क्रियाकलाप बन्द गर्न लागिपरेको मल्लको भनाइ छ। गाडी चढ्दा–ओर्लंदा बढी भीडभाड र ठेलमठेल हुँदा चोरी नहोस् भनेर महानगरीय प्रहरी प्रभाग नयाँले निगरानी गर्दै आएको छ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात क्षेत्रमा कार्यरत कर्मचारीलाई बेलाबेलामा निःशुल्क स्वास्थ्य परीक्षण र औषधि विरतण गर्दै आएकाले  कर्मचारीको कार्यसम्पदान राम्रो देखिएको हो।

प्रकाशित: ४ माघ २०७६ ०४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App