७ वैशाख २०८१ शुक्रबार
अन्य

अव्यवस्थित जीवनशैलीले कुपोषणको जोखिम

व्यक्ति कुपोषित हुने विभिन्न कारण हुन्छन् । अव्यवस्थित जीवनशैली कुपोषणको कारक हो । खान नपाएर भन्दा पनि सन्तुलित रुपमा भोजन गर्न नजान्दा कुपोषणको जोखिम हुने पोषणविद्को तर्क छ । पोषणविद्का अनुसार नेपालमा सामान्यतः दुई किसिमका कुपोषणका समस्या देखिन्छ ।

पोषणविद् केपी लम्साल कुपोषणको एउटा समस्या पोषण तत्वको कमी र अर्को आवश्यकता भन्दा बढी खानाले व्यक्ति कुपोषित हुने देखिएको बताउँछन् । यो समस्या नेपालमा छ । ‘आवश्यक मात्रामा सन्तुलित खानपान गर्न नपाउँदा व्यक्ति कुपोषित भएको देखिन्छ,’ पोषणविद् लम्सालले भने, ‘अर्कोतर्फ धेरै क्यालोरीयुक्त खानपानको कारण मोटोपनाको समस्याले ल्याउने सुगर, रक्तचाप, मुटुका समस्या, रक्त अल्पताजस्ता समस्या निम्तिने जोखिम हुन्छ ।’

खानपान गर्दा खानपानमा विविधीकरण अपनाउनुपर्ने जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेतीको सुझाव छ । भातै–भात, मासु–मासु वा गेडागुडी नै–गेडागुडी खाने नेपाली चलन छ तर त्यसरी खानु हुन्न । जहिल्यै पनि खानपान गर्दा दाल, भात, सागसब्जी, अचार तथा चाटनी र फलफूललाई मात्रा र सन्तुलन मिलाएर खानुपर्ने डा. अरुणा उप्रेतीको सुझाव छ । ग्रामीण क्षेत्रमा खान नजानेर मात्रै हैन, खाद्यपदार्थको अभावका कारणसमेत कुपोषणको समस्या छ । सहरी क्षेत्रमा समेत यो समस्या भएको उप्रेती बताउँछिन् ।

कम तौल भएका व्यक्तिले पशुजन्य खाद्यपदार्थ खानुपर्ने पोषणविद्को सुझाव छ । माछामासु, दुध, दही, घिउ खानुपर्ने हुन्छ ।

मोटोपना धेरै भएका व्यक्तिले खाना कम र पातलो व्यक्तिले केही बढी भात खान सकिने पोषणविद् बताउँछन् । तौल बढी भएका व्यक्तिले फलफूल तथा सागपात खानुपर्ने लम्सालको सुझाव छ । पोषणतत्व तथा भिटामिनको अभावमा तौल कम भएका र पुड्कोपना भएका व्यक्तिले भिटामिन तथा खनिज पदार्थ खानुपर्ने हुन्छ ।
सहरी क्षेत्रमा पोषणयुक्त खानपानको अभाव त गाउँघरमा भएका खाद्यपदार्थलाई पनि  राम्रोसँग बनाएर खान नभ्याउने तथा ध्यान नजाँदा कुपोषणको समस्यामा पर्नु परेको उप्रेती बताउँछिन् । नेपालमा करिब ४० प्रतिशत घरमा कुनै न कुनै समयमा खानाको अभाव भएको देखिन्छ ।

शरीरलाई आवश्यक प्रोटिन, भिटामिनको कमी, कमजोरीपना जस्ता समस्या हुनु कुपोषण हो । उमेर अनुसारको उचाइ नबढेका बालबालिकालाई पोषणको परिपूर्ति गरी पुनः उचाई बढाउन निकै मुस्किल हुन्छ तर उमेर अनुसारको मोटाइ नभएका बालबालिकालाई भने पोषणयुक्त खानपान गराई मोटो बनाउन सकिने जनस्वास्थ्य तथा पोषण विशेषज्ञ इन्दु अधिकारी बताउँछिन् ।

जंक फुडको जोखिम
नेपालमा पछिल्लो समयको खानपानको वातावरण द्रुत गतिमा परिवर्तन भइरहेको पोषणविद् बताउँछन् । व्यावसायिक रुपमा उत्पादन गरिएका खाद्यपदार्थ गाउँगाउँमा छ्याप्छ्याप्ती पुग्न थालिसकेका छन् । यस्ता खाद्यपदार्थले स्वास्थ्यलाभ भन्दा हानि नै बढी गर्ने जोखिम हुन्छ । ‘व्यावसायिक रुपमा उत्पादन गरिएका यस्ता खाद्यपदार्थ बालबालिकाका लागि मात्रै भनेर उत्पादन नगरी आम व्यक्तिका लागि उत्पादन गरिएको हुन्छ’, पोषणविद् अधिकारीले भनिन्, ‘यस्ता खाद्यपदार्थ खानाले बालबालिकालाई आवश्यक पोषणको अभाव हुन्छ ।’

जंक फुड (पत्रु खाना)मा क्यालोरी पाइने भए पनि शरीरलाई आवश्यक अन्य पोषण तत्वको अभाव हुने भएकाले चाउचाउ, चाउमिन, ममजस्ता खान्की खाने वयस्क व्यक्तिले क्यालोरीयुक्त खानपान कम गर्नु उचित हुने लम्सालको सुझाव छ ।

एक अध्ययनअनुसार बालबालिकाले जम्मा खानुपर्ने क्यालोरीमध्ये २५ प्रतिशत क्यालोरी व्यावसायिक रुपमा उत्पादन गरिएका बजारमा पाइने जंक फुडबाट प्राप्त भएको पाइएको पोषण विशेषज्ञ अधिकारीले सुनाइन् । जंक फुड धेरै खाने बच्चामा होचोपनको समस्या देखिएको छ ।

यस्ता खानापानले सूक्ष्म पोषण तत्वको अभाव भई कुपोषणको समस्या निम्तिने जोखिम हुने अधिकारी बताउँछिन् । आइरन, भिटामिन ‘ए’ जस्ता पोषण तत्वको अभावमा बालबालिकाको मृत्यु हुने जोखिम हुन्छ । सूक्ष्म पोषण तत्वको अभावमा आइरनको कमी तथा जुकाको समस्या समेत देखिन्छ ।

व्यक्तिलाई आइरन, भिटामिन ‘ए’, क्याल्सियम, आयोडिन लगायतका सूक्ष्म पोषण तत्व आवश्यक हुन्छ, जुन शरीरलाई आवश्यक भिटामिन तत्व जंक फुड तथा प्याकिङ फुडमा नहुने पोषणविद् बताउँछन् । एक अध्ययनअनुसार त यस्ता जंक फुडको बाहिरी खोलमा लेखिए अनुसारका सूक्ष्म पोषक तत्वसमेत नपाइने अधिकारीले सुनाइन् । यसरी नेपालमा ढाँटेर पनि जंक फुड बेच्ने गरिन्छ ।

चिनी, नुन र खराब चिल्लो पदार्थलाई समस्या पोषण (प्रब्लम न्युट्रियन) भनिन्छ । अध्ययनअनुसार नेपालमा आवश्कयकता भन्दा दुई सय प्रतिशत बढी नुनको मात्रा भएका नुडल्स पाइने पोषणविद् बताउँछन् । यसरी नुडल्समा अनावश्यक रुपमा नुनको प्रयोग गरिँदा हृदयाघात लगायतको जोखिम हुन्छ ।

नेपालमा खानाको अभाव भएरमात्रै हैन खानपानको व्यवस्थापन गर्न नसक्दा कुपोषणको समस्या छ । खानाको अभाव नहुने तराईका जिल्लामा समेत सन्तुलित रुपमा खानपान गर्न नजान्दा बालबालिका तथा महिला कुपोषणको शिकार बन्ने गरेका छन् ।

समस्या उस्तै
गाउँघरमा बसोबास गर्ने महिलाले खेतबारीको काम गर्नाले व्यायाम पुगेको हुन्छ । यता शहरी क्षेत्रका महिलामा कम परिश्रमका कारण बढी तौलको समस्या देखिन थालेको छ । सहरी क्षेत्रमा व्यक्तिको उचाईअनुसार तौल कम हुने समस्या छ भने गाउँघरमा महिलामा कुपोषणका कारण उचाईअनुसार तौल कम हुने समस्या देखिएको छ । यो समस्या बढ्दो क्रममा छ ।

डा. अरुणा उप्रेती सहरी क्षेत्रमा खानपानको उपलब्धता भए पनि पोषणयुक्त खानपान नहुँदा कुपोषणको समस्या भएको बताउँछिन् ।

पोषणविद्का अनुसार गाउँ र सहर दुवै क्षेत्रमा कुपोषणको समस्या उस्तै छ । आइरनको कमी दुवै क्षेत्रमा देखिन्छ । सहरी क्षेत्रमा बसोबास गर्ने व्यक्तिमा मोटोपनाको समस्या देखिन्छ । गाउँमा कम तौलको समस्या बढी देखिन्छ ।

अर्को वंशमा समस्या
कुपोषित आमाले जन्माउने शिशुमा समेत कुपोषणको जोखिम हुने पोषणविद् बताउँछन् । कुपोषित शिशुका कारण त्यस्ता व्यक्तिबाट जन्मिएका शिशुले अर्को पुस्ता पनि कुपोषित हुने जोखिम हुन्छ । डा. उप्रेती पनि कुपोषणले एक वंशमा मात्रै हैन, अर्को वंशमा समेत समस्या ल्याउने भएकाले यसमा सावधानी अपनाउनुपर्ने बताउँछिन् ।

साफसफाइमा जोड
नेपालको तराई क्षेत्रमा हेर्ने हो भने खाद्यपदार्थ हुने भए पनि फलफूलको समस्या हुन्छ । तराई क्षेत्रमा जुकाको समस्याका कारण व्यक्ति कुपोषित हुने जोखिम त्यत्ति नै रहेको पोषणविद् औँल्याउँछन् । फोहोर पानी तथा साफसफाइको अभावमा बालबालिकामा जुका परी त्यसले निम्त्याउने स्वास्थ्य समस्याको कारण कुपोषण हुने गरेको छ । जुकाको औषधी गर्नाले व्यक्तिलाई पोषण पुग्न सक्छ ।

पटक–पटक खाना
बालबालिका तथा पाको उमेर समूहका व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्ने पोषणविद्को सल्लाह छ । ६ महिनासम्मका शिशुले आमाको दुध खानु पोषणयुक्त तथा स्वस्थकर हुन्छ । ६ महिनाभन्दा कम उमेरका शिशुलाई ल्याक्टोजिन, गाईको दुधजस्ता बाह्य खाद्य पदार्थ खुवाउनु उचित नहुने पोषणविद् लम्साल बताउँछन् । त्यसैगरी ६ महिनादेखि ९ महिनासम्मका शिशुलाई दैनिक तीन पटक खानसक्ने किसिमका खाना खुवाउनु उपयुक्त हुन्छ । ९ देखि १२ महिनासम्मका शिशुलाई दैनिक तीन पटक खाना र एक पटक खाजा खुवाउनु उपयुक्त हुन्छ । त्यसैगरी १२ देखि २४ महिनासम्मका शिशुलाई दैनिक तीन पटक खाना र दुई पटक खाजा खुवाउनु पर्ने पोषणविद्को सुझाव छ । खाना र खाजाका साथै स्तनपान गराउनु त छँदैछ ।

त्यसैगरी वयस्क व्यक्तिले दैनिक चार पटक सन्तुलित भोजन गर्नुपर्ने हुन्छ । पाको उमेरका व्यक्तिले खानपान र पोषणमा खुब ध्यान दिनुपर्छ । कब्जियत लगायतका समस्या हुने भएकाले फाइबरयुक्त सागसब्जी तथा फलफूल खानु आवश्यक हुन्छ । दैनिक थोरै–थोरै तर धेरैपटक खानु पर्छ ।

यसरी हेर्दा नेपालमा एक त खाद्यपदार्थको कमी तथा अभावका कारण व्यक्ति कुपोषित हुनु परेको अवस्था छ । अकोतर्फ खाना नजान्नु पनि समस्या बन्न पुगेको छ । धर्म–संस्कार तथा बालबालिकाकै लागि भनेर बजारमा पाइने खाद्य सामग्रीको अभाव हुनु पनि कुपोषणको अर्को कारण हो ।

यस्तो छ अवस्था
कुपोषणका कारण उमेर अनुसारको उचाइ र उचाइ अनुसारको मोटोइको समस्या छ । लम्सालका अनुसार १५ देखि ४९ वर्ष प्रजनन् उमेर समूहका ४१ प्रतिशत महिलामा रक्त अल्पताको समस्या छ । १० देखि १९ वर्ष उमेर समूहका ४३ प्रतिशत किशोरीमा रक्त अल्पताको समस्या देखिन्छ । प्रजनन उमेर समूहका महिलामा रगतको कमी हुने समस्या बढेको डा. उप्रेती बताउँछिन् ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा ९९ प्रतिशत बालबालिकालाई कुनै न कुनै समयमा स्तनपान गराइएको थियो । ५५ प्रतिशत बालबालिकालाई जन्मेको एक घण्टाभित्र नै स्तनपान गराइन्छ । दश बालबालिकामध्ये तीन जनालाई आमाको दूध मात्रै खुवाउनु पर्ने अवधिमा अन्य खाद्य पदार्थ खुवाइन्छ ।

विश्व स्वस्थ्य संगठनको सुझावअनुसार ६ महिनासम्मका शिशुलाई स्तनपान मात्र गराउनु पर्छ । नेपालमा ६ देखि ८ महिनाका बालबालिकहरुमा ८३ प्रतिशत बालबालिकालाई स्तनपानका साथै पूरक आहारा पनि खुवाइन्छ ।

रिपोर्ट अनुसार नेपालमा ९५ प्रतिशत घरपरिवारले आयुडिनयुक्त नुनको प्रयोग भएको पाइन्छ । आयोडिनयुक्त नुनमा शारीरिक तथा मानसिक विकासका लागि सूक्ष्म पोषणतत्व पाइन्छ । भिटामिन र खनिज हाम्रो स्वास्थ्यका लागि आवश्यक हुन्छ । भिटामिन ‘ए’ ले संक्रमण हुनबाट बचाउँछ । नेपालमा ६ देखि २३ महिनाका ६३ प्रतिशत बालबालिकाले भिटामिन ‘ए’ युक्त खानपान गर्छन् । त्यसैगरी ६ देखि ५९ महिना उमेर समूहका ८६ प्रतिशत बालबालिकाले भिटामिन ‘ए’ सप्लिमेन्ट पाउँछन् । बालबालिकालाई मस्तिस्कको विकासका लागि आइरनयुक्त खानपान गर्नुपर्छ । आइरनयुक्त खानपानले रक्तअल्पताको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

गर्भवती महिलाले रक्तअल्पता तथा अन्य जटिलताबाट बच्न गर्भावस्थामा कम्तिमा १८० दिन आइरन चक्की खानुपर्छ । जसमा दश महिलामध्ये करिब चार महिलाले गर्भावस्थामा कम्तिमा १८० दिनसम्म आइरन चक्की खाएको देखियो । डा. अरुणा उप्रेति आइरन चक्कीमा मात्रै भर नपरी प्राकृतिक खानपानमा जोड दिनुपर्ने बताउँछिन् ।

नेपालमा पाँच वर्ष मुनिका एक तिहाइभन्दा बढी (३६ प्रतिशत) बालबालिकामा पुड्को पनको समस्या रहेको अध्ययनले देखाएको छ । जसलाई चिकित्सकीय भाषामा ‘स्टन्टिङ’ भनिन्छ । पुड्कोपनले दीर्घकालीन पुड्कोपनलाई इंगित गर्छ । सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रका बालबालिकामा पुड्कोपनको समस्या बढी पाइन्छ । यो समस्या सहरमा ३२ प्रतिशत र ग्रामीण क्षेत्रमा ४० प्रतिशत छ ।

सर्वेक्षण अनुसार नेपालमा सन् १९९६ पछि बालबालिकाको पोषणको अवस्थामा सुधार आएको देखिन्छ । सन् १९९६ मा ५७ प्रतिशत बालबालिका ख्याउटेपनको समस्यामा भए पनि २०१६ सम्ममा आइपुग्दा ३६ प्रतिशतमा झरेको छ ।
१५ देखि ४९ वर्ष उमेर समूहका महिलामा गरिएको अध्ययनअनुसार १७ प्रतिशत महिला अति दुब्ला र २२ मा अति मोटोपना भएको पाइयो ।

सम्पन्न घरपरिवारका ४५ प्रतिशतमा अति मोटोपनाको समस्या देखियो । प्रदेश ३ का ३५ प्रतिशत महिलामा अति मोटोपनको समस्या देखियो । महिलामा मोटोपनाको समस्या बढिरहेको पोषणविद् बताउँछन् ।

त्यसैगरी १७ प्रतिशत पुरुषमा अति दुब्लोपना र १७ प्रतिशतमा अति मोटोपनाका समस्या छ । नेपालमा ३० देखि ३९ वर्ष उमेर समूहका २८ प्रतिशत पुरुषमा मोटोपनको समस्या भएको पाइन्छ । जसमा सम्पन्न घर परिवारका पुरुषमा बढी मोटोपनको समस्या देखिन्छ ।

यस्तो छ सरकारी कार्यक्रम
कुपोषणको समस्यालाई सम्बोधन गर्न राष्ट्रिय योजना आयोगले बहुक्षेत्रीय पोषण योजना कार्यक्रम लागु गरेको छ । सन् २०१३ मा यो योजना लागु भएको हो । अहिले दोस्रो चरणको योजना कार्यान्वयनको चरणमा छ ।

सरकारले पोषणका करिब २१ वटा विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम, गलगाँड नियन्त्रण तथा रोकथाम कार्यक्रम, रक्त अल्पता नियन्त्रण कार्यक्रम तीमध्ये केही हुन् ।

त्यसैगरी परजीवी नियन्त्रण कार्यक्रममा एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए खुवाइन्छ । कुपोषण उपचार तथा व्यवस्थापन कार्यक्रममा विभिन्न स्वास्थ्य संस्थाका उपचार केन्द्रमार्फत कुपोषित बालबालिकालाई उपचार गरिने परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखाका प्रमुख केदार पराजुली बताउँछन् ।
स्वास्थ्य उपचार केन्द्रमा ठीक नभएका बालबालिकालाई अस्पतालमा लगी उपचार गरिन्छ । विभिन्न जिल्लामा रहेका पोषण पुनस्र्थापना केन्द्रमार्फत कुपोषित शिशुलाई उपचार मात्रै हैन, खानपानको समेत व्यवस्था गरिन्छ । शिशुसँग आउने आमा लगायतलाई समेत खानाको व्यवस्थापन गरिन्छ । जुन उपचार करिब ६ महिना लाग्न सक्छ ।

यस्तै फुड फ्रोटिफिकेसन नामक कार्यक्रम पनि छ । जसमा सूक्ष्म पोषणतत्वलाई खाना तथा पिठोमा हाली खुवाइन्छ । स्थानीय स्तरमा ६ महिनादेखि २ वर्षसम्मका बालबालिकालाई ‘बाल भिटा’ खुवाउने कार्यक्रम छ । यसमा सूक्ष्म पोषण तत्व, आइरन, क्याल्सिम, भिटामिनजस्ता पोषण तत्व हुने पराजुली बताउँछन् । यसले रक्त अल्पताजस्ता समस्याबाट बच्न सहयोग पुग्ने उनी बताउँछन् ।

संस्कृति बाधक
इन्दु अधिकारी
जनस्वास्थ्य तथा पोषण विशेषज्ञ
नेपालमा खाद्यपदार्थको अभाव र अनावश्यक रुपमा बढी खानाका कारण कुपोषणको समस्या देखिएको छ । त्यति मात्रै नभएर कतिपय समाजमा त धर्म–संस्कृतिका कारण समेत व्यक्ति कुपोषणको समस्यामा परेको देखिन्छ । हाम्रो कतिपय समाजमा माछामासु खान हुन्न भन्ने संस्कृति छ । विशेषगरी बालबालिका तथा महिलाले पोषणको लागि माछामासु खानुपर्ने हुन्छ ।

अण्डा तथा माछामासुको अभावका कारण व्यक्ति कुपोषित हुन पुग्छ । बालबालिकाकाका लागि अण्डा आवश्यक हुन्छ । अण्डाको लागि विशेषगरि गाउँघरमा बसोबास गर्नेले सहजरुपमा कुखुरा पाल्न सकिन्छ । महिलाले सबै भन्दा पछि खानेजस्ता कारण समेत महिला कुपोषणको जोखिममा पर्छन् । परिवारका सबै सदस्यले एकैचोटि बसेर सन्तुलितरुपमा खाना खाँदा परिवारका सदस्यमा पोषणको उचित व्यवस्थापन हुन सहयोग पुग्छ । महिलाले अन्तिममा खाना खाँदा कहिले खानै नरहन सक्छ त कहिले मीठो र पोषिलो खाना नरहन सक्छ । महिलाले घरका सबैले खाइसकेपछि खाना खानाले पछि खाने महिलामा कुपोषणको समस्या हुन सक्छ । नेपालका कयौँ समाजका महिलामा कुपोषणको समस्या हुनुको एउटा कारण यही हो ।

सित्तैमा पाइने औषधी
डा. अरुणाउप्रेती
हामीले बिहान बिहान उठेर सूर्यलाई ‘भगवान्’ ठानेर नमस्कार गर्छौं किनभने सूर्यले हामीलाई स्वस्थ राख्छन् । स्वस्थ राख्छौँ भन्दैमा हामीले सूर्यको तेजलाई प्रयोग धेरै गर्दैनौँ ।

जति काम आवश्यक छ, उति नै घाममा सुस्ताउनु÷बस्नु पर्छ र स्वास्थ्य राम्रो रहन्छ । तर अझै पनि कतिपय महिलाले ‘घाममा बस्ने फुर्सत छैन’ भन्छन् । यस्तो धारणाले उनीहरू आफ्नो स्वास्थ्यप्रति रत्ति चिन्ता छैन भन्ने बुझिन्छ । अहिले दिनमा १५ मिनेट घाममा बस्ने फुर्सत नभए पछि त धेरै ढाड दुखेर समस्या पर्छ ।
‘छठ’मा सूर्यको पूजा गरिन्छ, व्रत बसिन्छ तर सूर्यको उपयोग गरिँदैन । नेपालमा वर्षैभरि सजिलैसँग पाइने सूर्यको स्रोतलाई बेवास्ता गर्दा बिरामी परिन्छ । एक छिन घाममा बस्न फुर्सत निकाल्नै पर्छ । नत्र भिटामिन ‘डि’ को कमी भएर अनेक शारीरिक र मानसिक समस्या पर्छ ।

८०% भिटामिन सूर्यको किरणबाट पाइन्छ । त्यसैले आफ्नो स्वास्थ्य ठीक गरौं, घाममा बसौँ, भिटामिन ‘डी’को चक्की नकिनौँ । भिटामिन ‘डि’ को चक्की किनेर खाँदा खासै फाइदा गर्दैन भन्ने सिद्ध भइसकेको छ ।

अहिले धेरै औषधी कम्पनीहरुले सकेसम्म बढी मानिसहरुले क्याल्सियम र भिटामिन ‘डि’ प्रयोग गर्नुपर्छ भन्ने भ्रम बाँडिरहेका छन् र त्यो भ्रम धेरैले किनिरहेका पनि छन् । विदेशमा पनि स्वास्थ्यकर्मीले महिलालाई २०–२५ वर्षको उमेरदेखि नै क्याल्सियम र भिटामिन डीका चक्की दिन शुरु गर्छन् । म त यसको विरोध नै गर्छु । जुनसुकै समस्यालाई औषधीले मात्र समाधान गर्ने हाम्रो बानी ठीक होइन । हामीले प्राकृतिक कुरा नै उपयोग  गर्न बिर्सेका छौँ । म व्यक्तिगत रुपमा त भिटामिन डी र क्याल्सियम दुबै खान्नँ तर पौष्टिकताले भरिपूर्ण खाना खाान्छु र घाममा बस्छु ।

अहिले त स्वास्थ्य मन्त्रालयले सबै गर्भवती महिलालाई भिटामीन ‘डी’ दिनुपर्छ भनेर वकालत गरिरहेको छ तर के वास्तवमा त्यो सही तरिका हो ? हामीले खाने खानामा जति नै मात्रामा क्याल्सियम तथा फस्फोरस भए पनि हाम्रो शरीरमा भिटामिन डीको मात्रा नभए वा कमी भएमा खानामा निहित ती तत्व शरीरले ग्रहण गर्न सक्दैन ।
घाममा बच्चालाई तेल लगाउँदा बच्चा कालो हुन्छ भन्ने डर मान्ने अभिभावकले बुझ्नुपर्छ– भिटमिन ‘डी’ले नै बालबालिकामा दम र श्वास–प्रश्वासको समस्या घटाउने पनि गर्छ । हड्डी बलियो बनाउँछ । शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । रोगसँग लड्ने क्षमतालाई वृद्धि गर्छ । बच्चाको रोगसँग लड्ने क्षमता वृद्धि गर्ने सूर्यको सित्तैमा पाउने चक्कीलाई हामीले किन बेवास्ता गरेको हो ?

यसले महिलामा हुने सक्ने बाथरोग जोखिम कम गर्छ । चिसो ठाउँमा बसेर काम गर्ने व्यक्तिलाई हुने दुःखलाई घामले कम गर्छ । घाममा बसेर मालिस गर्नु शरीर स्वस्थ राख्ने एक उत्तम उपाय हो भन्ने परम्परागत चलन नै छ । भिटामिन ‘डी’सँगै क्याल्सियम पनि दिने चलन छ । क्याल्सियम पाउन हामीले किन्नै पर्दैन । ज्वानो, आलस, मोही, चिज, भटमास, तिल, पालुंगोका साथै कोदो, फापर, मागुनो, चिनो आदिमा पनि क्याल्सियम पाइन्छ । त्यस्ता खानेकुराको प्रयोग गर्नुपर्छ भनेर सिकाउनुको साटो स्वास्थ्य चौकीमा केवल क्याल्सियम चक्की बाँडिन्छ, यो उपाय ठीक होइन । अहिले त कति जना स्वास्थ्यकर्मीले त एक महिनाको शिशुलाई पनि झोल क्याल्सियम दिनुपर्छ, हड्डी बलियो बनाउन भनेर लेखिदिन्छन् । बच्चालाई घाममा राखेर मालिस गर्नु नै उसको शरीरमा भिटामिन डी पु¥याएरै हड्डी बलियो हुन्छ । आमाको दूधमा भएको क्याल्सियमले शिशुलाई पुग्छ ।

त्यसैले महिला स्वास्थ्यलाई राम्रो पार्न घाममा मजासँग बसौं । छाला कालो हुन्छ भन्ने पीर नगरौँ । किशोरीहरुले छाला कालो हुन्छ भनेर घाममा बसेनन् भने उनीहरुको शरीरमा भिटामिन ‘डी’ को कमी हुन्छ र प्रजनन् स्वास्थ्यमा पनि असर पर्छ । घाममा बस्दा पुठ्ठाका हड्डी बलियो हुन्छ । किशोरीहरुको हड्डी बलियो भयो भने गर्भावस्था र प्रसूतिको बेलामा पनि स्वास्थ्य राम्रो रहन्छ । उमेर ढल्कदै गएपछि रजोनिवृत्ति भएपछि पनि हड्डी दुख्ने समस्या कम हुन्छ । यति धेरै जानकारी पाएपछि त महिलाहरु पक्कै पनि प्रत्येक दिन घाममा बस्नु हुन्छ नै होला । हड्डी कमजोर हुँदै नजाओस् भनेर खाना, घाम र हिँडाइ तीनै वटा कार्य गर्नु जरुरी छ ।

घामको के महत्व छ भनेर मैले नेदरल्यान्ड बस्दा बुझेकी थिएँ । २० वर्षअगाडि सन् १९९८ मंसिर महिनामा म १६ महिनाका लागि त्यहाँ पढ्न गएकी थिएँ । जाडो महिनामा त्यहाँ प्रायः घाम नै लाग्दैन । दुई तीन हप्तापछि मलाई त मनमा यस्तो उदासी छायो कि त्यस्तो त कहिल्यै भएको थिएन । पछि विज्ञहरुसँगको कुराकानीपछि मात्र मलाई घामको कमीले यस्तो उदासी भएको रहेछ भन्ने बुझेँ ।

त्यसैले रविलाई पूजा मात्र गर्ने होइन कि उसबाट फाइदा लिन घाममा बसौँ । बस्दा छालाले घाम सिधैं छोएको हुनुपर्छ । जाडोमा घाममा बसेर सुन्तला र बदाम खाँदा आनन्द आउँछ, शरीरमा पौष्टिक तत्व जस्ता भिटामिन ‘डी’, प्रोटीन, क्याल्सियम, भिटामीन ‘सी’ पनि पुग्छ । यस्तो सहज तरिकाले पाइने पौष्टिक तत्व छोडेर औषधी किन किन्ने ?

प्रकाशित: १७ मंसिर २०७६ ०७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App