coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

अब्बल चित्रकार

प्राचीन इतिहास र संस्कृतिका विषयमा गहिरो अध्ययन गरी यथार्थपरक ढंगमा त्यतिबेलाको दृश्य क्यानभासमा उतार्नु सजिलो काम होइन। वर्षौंको साधनाबाट त्यही कठिन काम गरेका छन् कलाकार हरिप्रसाद शर्माले।

उनले कलामार्फत् इतिहास संरक्षणमा टेवा पु¥याएका त छन् नै, नेवार जीवनशैलीलाई पनि क्यानभासमा उतारेर वाहवाही कमाउँदै छन्। काठमाडौंको नेवार वस्ती लगनमा जन्मे÷हुर्केका शर्माका चित्रमा नेवार संस्कृतिको सुवास पाइन्छ। उनले गुभाजूको झारफुक, बाँडाको ज्यासल, व्यापारीको तिब्बत यात्रा, नङिनी, बहाको सामुदायिक दिनचर्या, साँढे जुधाई, शव यात्रा, पञ्चेबाजा, मूर्तिकारको परिवारलगायत चित्रमा पुरानो समाज उतारेका छन्।  

त्यतिबेलाका मान्छेको पहिरन, भावभंगी, गहना आदिको मिहिन ढंगले अध्ययन गरेर क्यानभासमा दुरुस्तै उतार्नु चानचुने काम होइन। ८२ वर्षको बुढ्यौलीमा पनि युवा जोश निकालेर काम गर्दैछन् उनी।   

कलाकार हरिप्रसाद शर्माले बनाएका प्राचीन इतिहास र नेवार संस्कृति झल्काउने चित्रहरूको प्रदर्शनी काठमाडौंको आर्ट काउन्सिलमा चलिरहेको छ।

उनले इतिहासका महŒवपूर्ण घटनाको पनि चित्रण गरेका छन्। राजा पृथ्वीनारायण शाहको कान्तिपुर माथिको आक्रमण, सम्राट अशोकको लुम्बिनी तीर्थयात्रा, अरनिकोको चीन प्रस्थानको क्षण, रानीपोखरी उद्घाटनको दृश्य आदि सबैमा उनले अथक मेहनत गरेको देखिन्छ। त्यसैगरी राजा प्रताप मल्लको रंगीन साँझ, जयप्रकाश मल्ल र तलेजु भवानीको वार्तालाप, पृथ्वीनारायण शाहले कुमारीका हातबाट टीका थाप्दै गरेको दृश्य, राजा मानदेवले चाँगुनारायणमा गुरुड स्तम्भ स्थापना गरेको क्षण, तिब्बतमा भृकुटीको स्वागत गरेको दृश्य र राणाकालीन चाकरी प्रथा हेर्दा लाग्छ– शर्माका कला इतिहास दर्पण हुन्।  

उनका ती इतिहास र संस्कृति झल्काउने कलाकृतिको प्रदर्शनी यतिबेला काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ। भदौ २० देखि चलेको प्रदर्शनीमा उनले विसं २०५९ देखि केही ०७५ सालसम्म बनाएका ४५ चित्र राखिएका छन्। प्रदर्शनी असोज ९ गतेसम्म चल्ने छ।  

शुक्रबार दिउँसो काउन्सिलमा भेटिएका शर्मा उत्साहित देखिन्थे। ‘सबै कलाप्रेमीले सकारात्मक रूपमा लिएर दीर्घायूको कामना गरिरहनुभएको छ,’ उनले सुनाए, ‘म इतिहासका महŒवपूर्ण घटना झल्काउने थप चित्र बनाउन चाहन्छु।’

शर्माले चित्रमा प्राचीन र मल्लकालीन काठमाडौंको संस्कृति, इतिहास, वास्तुकला र जनजीवनको अभिलेख उतारेका छन्। उनले पचासको दशकदेखि इतिहास विषयका कलाकृति बनाउन थालेका। पुराना घटनाक्रम, पात्र, परिवेश र वातावरण बुझ्न पुस्तक अध्ययन, इतिहासकारसँगको अन्तरक्रिया लगायतका काम गर्नुपर्छ। यसमा उनलाई छोरा विष्णुप्रसादले मद्दत गर्दै आएका छन्।    

बुढ्यौलीका दिनहरू चाबहिलको मैजुबहालमा बिताउँदैछन् उनी। तन र मन इतिहास अध्ययनमा लगाएका छन्। ‘हामीले हाम्रो इतिहास बुझेर त्यसप्रति गौरब गर्नु पर्छ,’ उनी भन्छन्, ‘इतिहास भुलेर अघि बढ्न सकिँदैन।’

समयसँगै अब्बल कलाकार बनेका शर्मा सानैदेखि चित्रकारितामा होमिएका थिए। उनले मास्टर जीवरत्न शाक्य, कालीदास श्रेष्ठ र चन्द्रमान मास्केसँग अनौपचारिक शिक्षा लिए। उनका चित्रमा जीवनको यथार्थ चित्रण पाइन्छ।
शर्माको पहिलो एकल चित्र प्रदर्शनी विसं २०३० मा भएको थियो। त्यसपछि ०५९, ०७६ र ०७२ मा एकल प्रदर्शनी गरियो। विगतमा उनका पुराना चित्रहरूको संग्रह पुस्तक निक्लेको थियो। आउँदो दुई वर्षभित्र त्यस्तै अर्को पुस्तक प्रकाशन गर्ने सोचमा छन्। त्यसमा नेपाल भाषा, नेपाली भाषा र अँग्रेजी भाषामा जानकारी समेटिनेछ।

विगतमा उनले घरेलु कार्यालय, राष्ट्रिय संग्रहालय र नेपाल वायुसेवा निगममा काम गरेका थिए। विसं ०२२ सालमा निगम प्रवेश गरेका शर्माले ०४८ सालमा स्वेच्छिक अवकाश लिए। त्यसपछि उनको समय कलाको उन्नयनमै बितिरहेको छ।
अहिलेको प्रदर्शनीमा दर्शकबाट तारिफ पाउँदा उनी हौसिएका छन्। ‘मनमा उत्साह छ। केही गर्नु पर्छ भन्ने भावना छ,’ उनी भन्छन्, ‘तन बूढो भए पनि मन योंग नै छ।’ इतिहासको उत्खनन् गरेर आफ्नो इतिहासप्रति गौरबबोध गर्न सिकाउने कलाकार हरिप्रसाद शर्माको कर्म अनुकरणीय छ। उनको सुस्वास्थ्यको कामना !  
 

प्रकाशित: ४ आश्विन २०७६ ०५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App