२५ श्रावण २०७७ आइतबार
अन्य

तीन महादेव दर्शन

हरियो डाँडा। डाँडामाथि खुला चौर। थुम्का जस्तो देखिने भएकाले नामै थुम्काडाँडा। चौरमा सल्लाका रुख। सिरसिरे चिसो बतास। काभ्रेको थुम्का डाडाँबाट राम्रो दृष्य देखिन्छ। चारैतिर थुम्कैथुम्का। तलतल गाउँबस्ती। सबैभन्दा माथि नीलो आकाश। कति मिठो सौन्दर्य !
प्रकृतिभन्दा सुन्दर अरू केही छैन। प्रकृतिको सुन्दरतामा नरम्ने को होला र ! हरियाली बिछ्यौना ओढेकी प्रकृतिको सुन्दरतालाई पृष्ठभूमि बनाएर पदयात्रीहरू फोटो खिच्न मस्त भए।

हाम्रो देशलाई प्राकृतिक सुन्दरताले भरिदिएको छ। सबै ठाउँका आआफ्नै विशेषता छन्। ती विशेषता चिनेर त्यहीअनुसार काम गर्दै जान हो भने हाम्रा सबै युवा देशमै रमाउन सक्छन्। तर कस्तो अचम्म ! हामी यसलाई नचिनी भौतारिएका छौं।

यस्तै सोच्दै प्रकृतिलाई नियाल्दै थिएँ, पछाडिबाट ‘म्याम, एउटा फोटो खिचौं न’ भन्ने शब्दले झसङ्ग भएँ। फोटा खिच्नमा सबै व्यस्त। मैले पनि खिचें। क्यामेरामा मात्र प्रकृतिलाई कैद गरेर कहाँ पुग्दो रहेछ र, आँखा र मनको लेन्सले पनि खिचें त्यसलाई।

एउटै पदमार्गमा कैलाशनाथ, आशापुरेश्वर र डोलेश्वर महादेव दर्शन गर्न सकिन्छ। १९ किमि लामो पदमार्गमा प्रकृतिको सौन्दर्य र मन्दिरहरूको पवित्रतामा डुबुल्की मार्न पाइन्छ।  

काठमाडौंबाट केही पर पुग्नेबित्तिकै यस्ता सुन्दर गन्तव्य भेटिन्छन् जहाँ प्रकृतिको सुन्दर अँगालोमा परिने छ।

साउन महिनालाई हरियाली महिना भनेर चिनिन्छ। यही साउनको चौथो शनिबार २५ गते हामी प्रकृतिप्रेमी समूहको १४५ औं पदयात्रामा पुगेका थियौं साँगा भन्ज्याङमा। हाम्रो हाइकिङ गन्तव्य थियो–तीन महादेव दर्शन। एउटै रुटमा तीन महादेव कैलाशनाथ, आशापुरेश्वर र डोलेश्वर महादेव। हाम्रो रुट थियो साँगा भन्ज्याङबाट नमुना गाउँ, मगर बस्ती, खालचोक भन्ज्याङ, थुम्कीडाँडा, चतुरे हुँदै  आशापुरेश्वर र त्यहाँबाट माथिल्लो बाटो नैचाल गाउँ, पाटी भन्ज्याङ, डोलेश्वर मन्दिर हँुदै चन्द्रविनायकसम्म।

कैलाश महादेव
संसारकै अग्लो महादेव मूर्ति (१४३ फिट) मानिन्छ साँगाको मूर्ति। यसलाई कैलाश महादेव भनिन्छ। ०६७ असार ७ गते मूर्तिको उद्घाटन गरिएको थियो। उद्यमी कमल जैनको लगानीमा र्मूिर्त बनेको। मन्दिर जाने प्रवेशद्वारदेखि नै पसल छन्। मन्दिर  क्षेत्रमा प्राकृतिक उपचार केन्द्र र चिल्डे«न पार्क पनि छन्। खाजा पसल, रिसोर्ट र लजहरू छन्।

कैलाशपुरी क्षेत्र ७५ रोपनीमा फैलेको छ। महादेव मूर्तिको देब्रेपट्टि कुमार, पार्वती र गणेशका मूर्ति छन्। त्यस्तै दाहिनेपट्टि महादेवको वहान साँढे। मन्दिर नजिकै सेतो झरना बनाइएको छ।

मन्दिर क्षेत्रबाट मौसम खुलेका बेला काठमाडौं उपत्यका र हिमालको लस्कर देखिन्छ  भने तलतल हरिया खेत। हरेक दिन मन्दिरमा घुमन्तेको भीड लाग्छ। मन्दिरको फेदमा रहेको फन पार्कमा पनि पौडी खेल्नेहरू उत्तिकै देखिन्छन्।
 साउनको सेमबार भक्तजनहरूको मेला लाग्छ। मन्दिर बनेपछि साँगा भन्ज्याङ राम्रो पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ। हामी भने कैलाशनाथ गएनौं। साँगा भन्ज्याङबाटै महादेव दर्शन गरेर आशापुरी लाग्यौं।

थुम्कीडाँडा
काभ्रेमा पर्छ थुम्कीडाँडा (१६५० मिटर)। पहिलापहिला यहीँ बाटो भएर पनौती, कुशादेवी हिँडिन्थ्यो। चारैतिर सुन्दर दृष्य देखिन्छ डाडाँबाट। यसको पूर्वमा  काभ्रेका बनेपा, पनौतीका साथै गाउँबस्ती र हरिया थुम्का देखिन्छ भने उत्तरमा काठमाडौं उपत्यकाको दृष्य।
त्यहाँका चौरमा बसेर खाजा खान सकिन्छ। यस ठाउँमा पिकनिक स्पट बनाउन सके पिकनिकेहरू आउँथे। थुम्कीडाँडाबाट करिब ६ किमि जंगलबाटो हिँडे पुगिन्छ आशापुरेश्वर।

आशापुरी महादेव
भक्तपुर र काभ्रेको संगममा पर्छ आशापुरी। आशापुरी महादेव दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास। मन्दिर छेउमा त्रिवेणी छ। नैचाल खोला, काँक्राबारी खोलाको दोभान छ। दोभान नजिकै धारा छन्। मन्दिरमा शिवलिंग पनि बनाइएका छन्। हरिया खेतबालीको बीचमा छ आशापुरी (१६०० मिटर)। मन्दिरको नाम आशापुरी रहनुमा किंवदन्ती छ। किवदन्तीअनुसार उहिल्यै ऋषिमुनिले आफ्नो आशा पूरा होस् भनेर महादेवको तपस्या गरेछन्।

महादेवले ऋषिलाई सुकेको मयल दिएर ‘यो जहाँ पलाउँछ र फुल्छ त्यहाँ तिम्रो आशा पूरा हुन्छ’ भनेछन्। ऋषिले धेरै ठाउँमा मयल रोप्दा नपलाएको र हाल जहाँ आशापुरी छ त्यस ठाउँमा मयल रोप्दा भोलिपल्टै पलाएर उनको आशा पूरा भएछ।
मनको आशा पूरा भएकाले यिनलाई आशापुरेश्वर भनिएको जनजागृति स्कूलका प्राध्यापक राजु बस्नेतले सुनाए।

आशापुरीमा तामाङ बस्ती छ। सबै कृिष कर्म गर्छन्। आशापुरी महादेव वरपर पिकनिक स्पट बनाएमा वनभोज खान आउनेको मेला लाग्न सक्छ। यसबाट गाउँलेका आयस्रोत बढ्छ। त्यसैगरी हरियाली डाँडामा हाइकिङ रुट बनाउन सकिन्छ। यसका लागि गाउँलेले सरोकारवालासँग समन्वय गरेर काम गर्नु पर्छ।  

पाटीभन्ज्याङ
आशापुरीबाट माथिल्लो बाटो हिँडेमा करिब ५.५ किमिमा पुगिन्छ पाटी भञ्ज्याङ। आशापुरीबाट भन्ज्याङ पुग्ने तीन बाटा छन्। पहिलो गाडी चल्ने बाटो, दोस्रो बीचको बाटो र तेस्रो माथिल्लो बाटो। माथिल्लो बाटो अलिक लामो छ। पाटीभन्ज्याङ (१८०० मिटर)मा तामाङ जातिको बसोबास छ जहाँ खाजा खाने पसल छन्। खुला ठाउँमा रहेकाले वातावरण सफा छ। यहाँबाट डोलेश्वर जाने गाडी चल्छन्। यहाँबाट ३ किमि दूरीमा डोलेश्वर महादेव र करिब डेढ किमि दक्षिणमा ऐतिहासिक गढीको पदयात्रा गर्न सकिन्छ।

डोलेश्वर महादेव
डोलमा बसेका महादेव हुनाले डोलेश्वर महादेव भनिएको। यसलाई केदारनाथको शीर पनि भनिन्छ। डोलेश्वरबारे किंवदन्ती छ। किंवदन्ती अनुुुसार महाभारत युद्धपछि पाण्डव स्वर्ग जान लाग्दा केदारनाथ दर्शन गर्न गए। केदारनाथले आफ्ना सन्तान नाश गरेर आएका पाण्डवलाई दर्शन दिएनन्। उनी  साँढेको रूप धारण गरी त्यहाँबाट भागे। यो कुरा थाहा पाएर भागेका साँढेको पुच्छर भिमसेनले समातेर ताने। तान्दा साँढेको शिर उछिट्टियो। त्यही उछिट्टिएको शिर डोलेश्वर महादेव हुन् भन्ने मानिन्छ। यसलाई भारत, उत्तराखण्डस्थित केदानाथको शिर भाग मानिएको छ। केदारनाथधामका पिठाधिशले ०६६ भदौ ६ मा डोलेश्वर नै केदारनाथको शिर भएको घोषणा गरेका थिए। ०६७ भदौ १८ देखि त्यहाँ नियमित चण्डी पाठ हुँदै आएको छ।

मन्दिरभित्र कालो पत्थरको शीला छ जसलाई चाँदीको नागले बेरिएको छ। मन्दिर बाहिर महादेवका बहान नन्दीको मूर्ति छ। वरपर त्रिशुल, नाग, डमरु, पित्तलका बज्र  र अन्य देवीदेवताका मूर्ति छन्। मन्दिरको चारैतिर ढोका छन्। त्यहाँ वर्षको तीन पटक–वैशाख÷जेठमा पर्ने अक्षय तृतीया, केदारनाथको शिर घोषणाको वार्षिक उत्सव भदौ ६ गते र शिवरात्रिका दिन मात्र भक्तजनले शिवलिंग छोएर पूजा गर्न पाउँछन्। अरू बेला पूजारीमार्फत् पूजा सामान चढाइन्छ।

मन्दिर पुर्ननिर्माण हुँदै छ। ‘दुई तले प्यागोडा शैलीको मन्दिर बनाउँदै छौं’, स्थानीय कन्चन थापा भन्नुहुन्छ, ‘हामीले मन्दिर अगाडि धर्मशाला र गणेश मन्दिर बनाइसकेका छौं।’ ५ वर्षभित्र मन्दिर निर्माण सकिनेछ।

स्वच्छ वातावरण भएको महादेवस्थान बाटोघाटोको राम्रो व्यवस्था र प्रचार हुन सके प्रख्यात बन्न सक्छ। हामी साउनको अन्तिम शनिबार पुगेका बेला मन्दिरमा मेला लागेको थियो।

डोलेश्वरसम्मै सार्बजनिक गाडी चल्छन्। सूर्यविनायकबाट डोलेश्वर मुन्तिरसम्म बस चल्छन्। बसपार्कबाट १० मिनेट हिँडेमा मन्दिर पुगिन्छ।

चन्द्रविनायक
डोलेश्वरबाट करिब १ किमि मुन्तिर छ चन्द्रविनायक मन्दिर। ठूलो ढुङ्गाको शिलामा गणेश आकारको कालो पत्थर छ। किंवदन्तीअनुसार पाण्डवहरू शिव दर्शन गर्न आउने क्रममा यहाँ पुग्दा पहिला गणेशको दर्शन गरेर गएका थिए। गणेशको दर्शन गरेको ठाउँमा रहेका गणेशलाई नै चन्द्रविनायक भनिन्छ। यहाँ मन्दिर बनाइएको छ। चन्द्र विनायकबाट सूर्यविनायक करिब ३ किमि दूरीमा छ।

हामी बसबाटै अग्लो महादेवको दर्शन गर्दै साँगा भन्ज्याङ पुगेका थियौं। भञ्ज्याङमा केहीबेर पदयात्रा गन्तव्य र पदयात्रा नियमको जानकारी गराएर अघि बढ्यौं। छेउछाउमा मकैबारी। बाटैमा नमुना बस्तीका पुरानो शैलीमा बनेका घर। १२ वैशाखको भुइँचालोले यसलाई पनि क्षति पु¥याएको रहेछ।

यहाँबाट साँगा महादेव र काठमाडौंको पूरा दृष्य देखिन्छ। हामी त्यहाँबाट मगर बस्ती हुँदै खालचोक भन्ज्याङ पुग्यौं। साँगा भन्ज्याङबाट करिब ३ किमि दुरीमा छ खालचोक।

हाम्रो पूर्व निर्धारित योजनाअनुसार खालचोकबाट सिधा आशापुरी जाने थियो तर हामीले बाटो परिवर्तन ग¥यौं। हामी खालचोक भन्ज्याङबाट पूर्व बाटो लाग्यौं। बाटोबाटै देख्यौं पहाडी सुन्दरता। चर्को घाममा हरियाली र सुन्दर दृष्यले गर्मी बिर्साइदियो।

हामी खालचोक भन्ज्याङबाट खालचोक गाउँ, थुम्का डाँडा, चतुरे हुँदै  आशापुरेश्वर पुग्यौं। आशापुरीको जनजागृति स्कूलमा स्वस्थवद्र्धक खाजा खायौं। खाजा पछि १ घण्टा अन्तरक्रिया गरेर डोलेश्वर हुँदै चन्द्रविनायकसम्म पदयात्रा ग¥यौं।

हामी त पुग्यौं तीन महादेव पदयात्रामा। हामी सबैले सके हप्तैपिच्छे नसके महिनाको एक पटक मात्र यसरी पदयात्रा गर्दा देशलाई बुझ्न सकिन्छ। आन्तरिक पर्यटन पनि विकास हुन्छ। हाम्रो घुम्ने बानीले नेपाल भ्रमण वर्ष २०२० लाई पनि टेवा पुग्छ। तपाई पनि यात्रामा निस्कने कि !

कसरी पुग्ने
काठमाडौंबाट साँगा भन्ज्याङ २० किमि, गाडीमा। त्यहाँबाट नमुना बस्ती, मगर गाउँ, खालचोक भन्ज्याङ, थुम्कीडाँडा, चतुरे गाउँ हुँदै आशापुरेश्वर र त्यहाँबाट पाटीभन्ज्याङ डोलेश्वर हुँदै चन्द्रविनायकसम्म पदयात्रा। चन्द्रविनायकबाट सूर्यविनायकसम्म पदयात्रा गर्न पनि सकिन्छ। साँगा भन्ज्याङ– खालचोक भन्ज्याङ ३ किमि, खालचोक– आशापुरेश्वर ७ किमि जंगल र बस्तीको बाटो, आशापुरी– पाटीभन्ज्याङ ५.५ किमि माथिल्लो बाटो, पाटीभन्ज्याङ– डोलेश्वरबाट ३.५ किमि र डोलेश्वर– चन्द्रविनायक १ किमि। जम्मा पदयात्रा दूरी २० किमि। समय ६ घण्टा।

प्रकाशित: २१ भाद्र २०७६ ११:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App