उदयपुरको कटारी ६ का गंगबहादुर दयाल परियारका लागि वैदेशिक रोजगारी जीवन बदल्ने सपना थियो । दुई सन्तानको उज्ज्वल भविष्य र शिक्षाका लागि उनले युएई जाने निर्णय गरेका थिए । तर त्यो सपना भारतको नयाँ दिल्लीबाट अघि बढ्न सकेन । पूर्णविराम लाग्यो ।
गत असोज २९ गते परिवारसँग बिदा भएर बिहान १०:५० को उडानमार्फत युएई जाने तयारीसहित उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरे । प्याराडाइज म्यानपावरमार्फत इन्डिगो एयरलाइन्सको फ्लाइटमा भारत ट्रान्जिट हुँदै युएई पुग्ने योजना उनको थियो । सोही अनुसार उनी भारतको नयाँ दिल्लीमा दिउँसो १२:३० बजे अवतरण गरे । तर त्यसपछि उनको जीवनले अकल्पनीय मोड लियो ।
नयाँ दिल्ली पुगेका उनको युएई पुग्ने सपना अपुरै रह्यो । बिदाईमा लगाएको फूल ओलाएकै थिएन तर उनी परिवारको सम्पर्कबाट एकाएक हराए । परिवारसँग उनको अन्तिम संवाद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै भएको थियो ।
त्यसपछि गंगबहादुर सम्पर्कविहीन भएपछि परिवार चिन्तित हुँदै खोजतलासमा जुट्यो । तर, परिवारले उनको अवस्थाबारे सुइकोसम्म पाएन । उनकी पत्नी, आफन्त र सरोकारवाला निकायले भारतस्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालय, प्रहरी र विभिन्न निकायमा खोजतलास गरे । तर उनी कहाँ छन् भन्ने कुनै जानकारी प्राप्त भएन ।
तीन महिनाको निरन्तर प्रयासपछि गंगबहादुर अन्ततः भारतका एक भ्लगरको सहयोगमा बेवारिसे अवस्थामा फेला परे । उनको अवस्था अत्यन्तै नाजुक थियो । शरीर दुब्लाएर नचिन्ने भइसकेको थियो । खुट्टाहरू कुहिएको थियो । दुवै खुट्टाका बुढी औलाहरू काटिएको थियो । चार महिनापछि भेटिएको उनी आफूलाई समेत चिन्न नसक्ने जस्तो अवस्थामा भेटिए ।
वैदेशिक रोजगार उद्धार नेपालले उनको उद्धार गरी नेपाल ल्यायो । नेपाल ल्याएपछि उपचारका लागि वीर अस्पताल लगिए पनि उपचार गर्न अस्वीकार गरिएको वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेले बताए ।
‘रेस्क्यु गरेर ल्याइएको बिरामी भनेर वीर अस्पतालले उपचार गर्न मानेन,’ अध्यक्ष गोलेले भने, ‘त्यसपछि हामीले टिचिङ अस्पताल पुर्यायौँ । सुरुमा त्यहाँ पनि उपचार गर्न आनाकानी गरेका थिए । चिनजानको नर्सको पहलमा उपचार सुरु गरियो ।’
चार दिनदेखि टिचिङ अस्पतालमा गङ्गबहादुरको उपचार भइरहेको छ । अवस्था सहज छैन । टिठलाग्दो अवस्थामा भेटिएका उनको अवस्था निकै नाजुक छ । उपचारमा संलग्न चिकित्सकहरु ठिक हुन केही समय लाग्ने बताउँछन् ।
अहिले गंगबहादुर अर्धचेत अवस्थामा छन् । उनले पत्नी, दुई बालबच्चा र आफ्ना बाबुआमा चिन्छन् । तर, उनी भावुक हुँदै अध्यक्ष गोलेलाई भन्छन्, ‘मेरो के हुन्छ थाहा छैन, तर मेरा बालबच्चालाई जसरी भए पनि पढाइदिनुस् है । यिनीहरूकै मुख हेरेर म बिदेसिएको थिएँ । आज के भयो थाहा छैन ।’ त्यो कुरा सुन्दा गंगबहादुरको पत्नीको आँसु थामिन नसकेको गोलेले बताए ।
जेजस्तो अवस्थामा बाबु भेटेपछि गंगबहादुरका बालबच्चा खुसी छन् । गंगबहादुरकी पत्नीले माया मारेको पति भेट्दा पीडासँगै पुनः आशाको श्वास फेरेकी छिन् । तर, परिवारको अवस्था दयनीय छ । गंगबहादुरकी पत्नी आफैँ मजदुरी गरेर बच्चाहरूको पढाइ धानिरहेकी छिन् ।
अध्यक्ष गोले यस घटनाप्रति आक्रोशित छन् । ‘गंगबहादुर किन युएई पुगेनन्, उनलाई भारतमा यो अवस्थासम्म कसले पुर्यायो भन्ने कुरा आश्चर्यजनक छ । वैदेशिक रोजगारीको नाममा मानिसलाई यसरी बेवारिसे बनाइन्छ । उनको दुवै खुट्टाका औलाहरू काटिएका छन् । अब यसको जिम्मा कसले लिने? सरकार कहिलेसम्म मौन बस्ने?’ उनले प्रश्न गरे ।
वैदेशिक रोजगारी सपना बोकेर निस्किएका गंगबहादुरको कथा केवल एक व्यक्तिको पीडा मात्र होइन । यो वैदेशिक रोजगारीमा जाने घरघरको असफलताको ज्वलन्त उदाहरण हो । आज उनी परिवारको काखमा फर्किएका छन्, तर अपांग शरीर र अनिश्चित भविष्य बोकेर ।
प्रकाशित: २७ पुस २०८२ २२:०१ आइतबार





