महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन सुरु भएपछि नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीलाई फुटको बाटोमा लगेको धारणा बनाएको छ।
संस्थापन पक्षका अधिकांश नेताहरूले महामन्त्रीहरूले पार्टीलाई फुटतर्फ अग्रसर गरेको समीक्षा गरेका छन्।
‘महामन्त्रीहरूले पार्टीलाई फुटको भड्खालोमा हालिसके,’ सहमहामन्त्री किशोरसिंह राठौरले भने, ‘तैपनि हेरौं, कार्यवाहक सभापति (पूर्णबहादुर खड्का) ज्यु लगातार उहाँ (महामन्त्री) हरूसँग संवादमै हुनुहुन्छ। भोलि (सोमबार) सम्म केही निकास निस्किन्छ कि !’
सहमहामन्त्री राठौरजस्तै केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले पनि पार्टी फुटको दिशामा अघि बढाइएको टिप्पणी गरे। उनले भने, ‘नियमित महाधिवेशनको बाटोमा पार्टी अघि बढिसकेको अवस्थामा यति हतार गरिहाल्नुपर्ने थिएन। नीतिगत छलफल गर्न पार्टी तयार नै थियो। यस्तोमा पार्टी फुटको दिशा लगियो।’
संस्थापन पक्षका तर्फबाट कार्यवाहक सभापति खड्का र केन्द्रीय सदस्य रमेश लेखकले महामन्त्रीद्वय थापा–शर्मासँग बारम्बारमा समानान्तर छलफल गरिरहेका छन्। ती छलफलबाट सकारात्मक निष्कर्ष भने निस्किन सकेको छैन।
‘हालसम्म त्यस्तो उल्लेख्य कुनै उपलब्धि हुन सकेको छैन। छलफलहरू जारी नै छन्,’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘सभापति (शेरबहादुर देउवा) ज्युको पनि पार्टी नफुटोस् भन्न सकेसम्म लचक हुन भन्नुभएको छ। तर महामन्त्रीहरूका गतिविधि सहज देखिएका छैनन्।’
पार्टीले आधिकारिक निर्णय गरेरै विशेष महाधिवेशनको औचित्य छैन भनिसकेकाले पार्टी निर्णय विपरीतको गतिविधिले पार्टीलाई फुटउन्मुख नै पारेको उनको पनि निष्कर्ष छ।
‘भोलिसम्म एकता जोगाइराख्न हर सम्भव प्रयास त हुन्छ नै। तर जे गतिविधि भयो यो राम्रो भएन,’ उनले भने।
उता नेता डा. शेखर कोइराला पक्षका नेताहरूले महामन्त्री द्वयको अनावश्यक अडानले पार्टी एकताबद्ध हुन नसकेको जनाएका छन्।
‘महामन्त्रीहरूले चाहे यो पार्टी एकता सहजै सम्भव छ,’ कोइराला समूहका एक केन्द्रीय सदस्यले भने, ‘यसलाई नीति महाधिवेशन वा सङ्कल्प सम्मेलन भनेर जाने हो एकताको सन्देश पनि दिन सकिन्छ। सभापति जी पनि उपस्थित हुने सम्भावना छ।’
त्यसरी जान संस्थापन पक्ष तयारै रहेको उनले ती केन्द्रीय सदस्य बताउँछन्। ‘तर, आज महामन्त्री ज्युका कुरा सुन्दा त्यो सम्भावना पनि कम हुँदै गएको हो कि भन्ने देखिन्छ। उहाँहरू नेतृत्व बदलेरै जाने कुरामा अडिग देखिनुहुन्छ। त्यसो भए पार्टी त फुटिहाल्छ नि,’ ती नेताले भने।
उद्घाटनमा महामन्त्री द्वय थापा र शर्मा दुवैले विशेष महाधिवेशनले चाहे नीति र नेतृत्व दुवै परिवर्तन गर्न सक्ने कुरा औँल्याएका थिए। त्यसले संस्थापन र कोइराला पक्षका नेताहरूले पार्टी एकता जोगिनेमा आशंका गरेका छन्।
कोइरालाकै समूहमा रहेका सहमहामन्त्री बद्री पाण्डे भने अन्तिम समयसम्म चमत्कारिक रूपमा एकता जोगिनेमा विश्वस्त छन्।
‘डाक्टर शेखरसहित हामीहरू प्रयासरत छौँ। पार्टी एकता जोगाउन अहिले नीति मात्रै गरेर नेतृत्व वैशाखसम्म परिवर्तन गरौँ भन्ने हाम्रो प्रयास छ,’ उनले भने, ‘यत्ति भए अहिले पार्टी पनि फुट्दैन। पार्टीको नीतिमा सबै पक्ष बसेर छलफल हुँदा पार्टीलाई राम्रो पनि बनाउँछ भन्ने हो।’
‘सहमति नजुटे हलको निर्णय पर्खने’
संस्थापन पक्षका नेताहरूले अन्तिम समयसम्म पार्टीको एकता जोगाउन प्रयत्न गर्ने निष्कर्ष पनि निकालेका छन्। सभापति देउवाले पनि सकभर पार्टीभित्र सुलह होस् भन्ने चाहेका छन्। त्यसका लागि तत्कालै विशेष महाधिवेशनको पक्षमा लागेका नेताहरूलाई कारबाहीको रणनीति नलिने देउवाको मनसाय रहेको एक नेताले बताए।
‘सकेसम्म सहमतिको प्रयास हुन्छ। नभए उहाँहरूले गर्ने बन्द सत्रको निर्णय पनि पर्खिने काम हुन्छ,’ संस्थापन पक्षका एक पदाधिकारीले भने, ‘यदि पार्टी फुट्ने नै अवस्थामा पुर्याए त्यसको मुख्य जिम्मेवारहरूलाई कारबाही हुन्छ।’
संस्थापन पक्षले उद्घाटन सत्रमा गएका सबै नेता कार्यकर्ता र प्रतिनिधि पार्टी फुटाउनकै लागि नगएको पनि अनुमान गरेको छ।
‘कांग्रेस विविध विचार राख्ने र सबै विचारको सम्मान गर्ने पार्टी हो। कतिपय साथीहरू एकता जोगाउन पनि त्यहाँ गएका छन्। कतिपय भ्रममा परेर पनि गएका हुन सक्छन्,’ एक पदाधिकारीले भने, ‘भोलि पार्टी फुट्ने अवस्था भए उहाँहरू मूल घरमै फर्किनुहुन्छ।’
विशेष महाधिवेशनलाई अवैध करार गरेको संस्थापन पक्षले पार्टी फुटेको अवस्थामा संस्थापन पार्टीकै आधिकारिकता रहनेमा भने कुनै सन्देश राखेको छैन।
प्रकाशित: २७ पुस २०८२ २२:०४ आइतबार





