ताप्लेजुङ, फुङलिङको गलेश्वर शिवालय मन्दिरमा आयोजित ‘विश्व शान्ति श्रीमद्भागवत ज्ञान महायज्ञ’मा फागुन १४ गते धार्मिक प्रवचनको संयोग मिल्यो। प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङको प्रमुख आतिथ्यमा प्यूठान, स्वर्गद्वारीका फलहारी बाबा लोकनाथ कश्यप, मेरी श्रीमती रत्नमाया, कान्छा सुपुत्र नोबाहाङ समेत थियौं कार्यक्रममा।
धार्मिक अनुष्ठानपश्चात् गलेश्वर आश्रम, देवघाट धामका संस्थापक गलेश्वर बाबाको जन्मभूमि दर्शन ग-यौं। त्यहाँको माटो, ढुंगा, फोटो लिँदा र ल्याउँदा अनौंठो लाग्यो। गलेश्वर बाबाका नाति टेकनाथ निरौला र अन्य परिवारजनसँग पनि भेटवार्ता भयो। त्यसपछि हामी ‘मुकुम्लुङमा पाथीभरा देवी माता’ तीर्थस्थलतर्फ केन्द्रित भयौं।
आत्मा र परमात्मा मान्ने विधिलाई अध्यात्म भनिन्छ। अध्यात्म अनुयायी संसारका सबै आध्यात्मिक हौं। उकालो बाटोमा विगतको सम्झना भयो। ०७३ कात्तिक २५ गते प्रधानमन्त्री केपी शर्मा ओली, नेता सुवासचन्द्र नेम्वाङ, कानुन मन्त्री अग्निप्रसाद खरेल, प्रधान सेनापति राजेन्द्र क्षत्री र म सेनाको हेलिकप्टरबाट उडेर फर्कंदा प्रधानमन्त्रीको जन्मभूमि आठराई ईवा गाउँघर दृष्यावलोकन ग-यौं। र, पाँचथरको रविमा महागुरु फाल्गुनन्दको १३२ औं जयन्ती मनाएर राजधानी फर्केका थियौं।
हामीले पूजा सकेर यज्ञमण्डप छिर्न लाग्दा एउटा हेलिकप्टर आयो र छिनभरमै ल्याण्ड भयो । अनि एकैछिनमा पाथीभरा शिला परिसरमा पर्यटन मन्त्री रविन्द्र अधिकारी जस्तो अग्रपंक्तिमा देखें । सरासर गएँ र हेराहेरपछि वार्ता भयो । तर, उहाँको अनुहारमा ज्योति थिएन, शून्यता र वैराग्य मात्रै थियो । उहाँको पछिल्लो पंक्तिका उपसचिव युवराज दाहालको मुहार पनि उस्तै देखियो । दुवैको आत्मा ज्योति हंस,अंस नदेख्दा म एक्कासि झल्याँसिएँ ।
हुन¬ हार दैव नटार, यस पटक प्रवचनको भोलिपल्ट १५ गते बिहानै पाथीभरा दर्शन गर्न उकालो लाग्यौं, फलाहारी बाबा, मेरी श्रीमती, छोरा, फुङलिङका पुजारी टीका साम्बा र मसहित ५ जना ठाडो जंगल, वन, तमोर खोला, मेवा खोला थुम, चेंया गाउँ, मानाभरा, काबेली खोला, श्रीङचोक र कुम्भकर्ण हिमालयको दर्शन गर्दै उकालियौं। दृष्यावलोकनमा स्वर्गको अनुभूति भएको थियो। हामीलाई आकाशबाट सेतामसिना हिउँका बाछिटा झरेर स्वागत गरिरहेको थियोे। मनमा खुसीले थैं थैं, आनन्द, परमानन्द सच्चिदानन्द छ। म ०५१ र ०५८ मा २ पटक कुम्भकर्ण महातीर्थ जाँदा अर्की श्रीमती नन्दकुमारी र जेठी छोरी खुविनलाई हिउँले पुरेको सम्झनाले घरीघरी मलाई झस्काइरहेछ।
माङ, ईश्वर, गड, परमात्मा परमेश्वर छ भन्ने दृढ विश्वास पात्र हामी अध्यात्मवादी चिन्तकहरू तागेरानिङवाभूमाङ आशा र भरोसामा अडिग रहन्छौं। मनमनमा जप, तप, ध्यान, प्रार्थना गर्दै घरीघरी उकालो चढ्दा हिउँको थुप्रोले वनजंगल, बाटोघाटो र डाँडाकाँडा सेताम्मे छन्। हामी पनि हिउँले सेताम्मे भएका छौं। फेदीमा गाडी छाडेर नौ सय फिट उकालो ठाडो पाथीभारासम्म ढुंगा बिछयााइएको ढुंगे मार्ग हिम मार्ग भएको छ। हामी सबै स्वर्ग मन पराउँछौं तर स्वर्गीय हुन भने मन नपराउने मानव जातीय स्वार्थ अनौंठो लाग्छ। यद्यपि मुकुम्लुङ मामाङ दर्शनमा प्राण जिम्मा भयो भने परमात्मामा जिउँदै पुग्ने पो हो कि झैं वैराग छ। श्वासप्रश्वास गतिहीन छ। आकाशमा पटकपटक हेलिकप्टर आउने र जाने क्रम जारी छ। आज राप्रपा नेता कमल थापाको मेची महाकाली यात्रा सन्दर्भमा पाथीभरा आउनु भयो कि भनी चौकीमा सोधें। कुनै भिआइपी आउने जानकारी छैन भन्ने फेदीका प्रहरीले उत्तर दिए।
हिउँमाथि हिउँ नै हिउँ टेक्दै, चिप्लिँदै, चिसिँदै अत्याचार भइरहेको स्थितिमा माङसेवासाबा टीका साम्बाले धुप बालेर मलाई दिदैं भन्नुभयो, ‘गुरु ! ईश्वर माङमा माङसेवा गर्नुस् हावा र हिउँ अन्त होस् भन्दै।’ मैले त्यो धुप थपक्क समातेर केही बेरमै फलहारी बाबालाई दिएँ, ‘लु..फलहारी बाबा हिउँ रोक्न पाथीभरा मातामा माग गर्नुस्।’
धुप समातेर बाबाले ‘हिउँको गतिविधि थामियोस्’ भन्ने प्रार्थना गर्दा मैले पनि साथ दिएँ। यसरी प्रार्थना गरेको करिब १० मिनेटमा हिउँ रोकियो। माता देवीले ग्रहण गर्नु भएछ भनी खुसी हुँदा अचानक फलहारी बाबाका आँखाबाट आँसु चुहियो। ‘डाक्टर साहेब ! अब मैले कसरी ऋणमुक्त हुनु, पाथीभरा माताले मात्र होइन, स्वयं परमेश्वरलाई माताले पनि जाहेर गरीवरी हिउँ रोकिएको देववाणी आयो’, बाबा सुँक्कसुँक्क गर्न थाल्नु भयो। मेरो मनोभाव पनि रोकिएन, गहभरि आँसु पार्दै रुनु न नरुनु भएर अरअरिएँ।
हामी अगाडि बढ्यौं। छयाङ्ङ उज्यालो छायो। चारैतिर देखियो। चारैतिर सेताम्मे हिउँ, हिमालय डाँडैडाँडामा हिँडेजस्तो लाग्यो। हिउँमा आँसुको थोपा बगाउँदै हिँड्दा मलार्ई त्यसको महत्व बुझ्न गाह्रो भए पनि यो वेदना अघिकै प्रार्थनाको अंश होला भन्ठानेको त रहस्य अर्कै घटनाको पो रहेछ। हामीले हिउँ पर्न छोडेपछि देवीस्थलमा पुगेर देवस्थलमको परिक्रमा र सेवा ग¥यौं। अलिअलि हिउँ परिरहेकै थियो। हामीले पूजा सकेर यज्ञमण्डपमा छिर्न लाग्दा एउटा हेलिकोप्टर उडेर आयो र छिनभरमै ल्यान्ड भयो। पाथीभरा शिला परिसरमा पर्यटन मन्त्री रविन्द्र अधिकारी अग्रपंक्तिमा देखिन¬ भयो। म सरासर गएर हेराहेरपछि भेटवार्ता भयो। तर, उहाँको अनुहारमा ज्योति थिएन। शून्यता, वैराग्य मात्रै देखियो। चेहेरा फुङ उडेको थियो। पछिल्लो पंक्तिका उपसचिव युवराज दाहालको मुहार पनि उस्तै देखियो। दुवैको आत्मा ज्योति हंस, अंस नदेख्दा म एक्कासि झल्याँस्स भएँ। म छक्क परें, ‘आज तपाईंहरूलाई के भयो’ भनेर प्रश्न नगरी मनको आशंका मनमै लुकाएँ। र, भनें, ‘मन्त्रीज्यू तपाईंलाई वाइडबडीको आरोप छ। त्यो आरोपप्रत्यारोप पाथीभरा देवीले पुरा गरी शुद्ध हुनु र क्रमशः रोलक्रममा प्रधानमन्त्रीसम्म हुनु है’ भनी शुभ आशीर्वाद दिएँ। क्रमशः त्यो लहरमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रवदास भोछिभय, चालक प्रभाकर केसी र मन्त्री अंगरक्षक जमदार अर्जुनकुमार घिमिरे हुनुहुन्थ्यो। पाथीभराको दर्शन सकिएपछि बाहिरी खुला भागमा फलहारी बाबासँग भेट गराउँदा मन्त्री रविन्द्र र उहाँ दुवै कश्यप गोत्रका परेछन्। त्यहाँ आन्तरिक दुःखसुःख र भ्रष्टाचारको दोषबाट मोक्ष हुनु, हामी पहिले काठमाडौंमा पनि भेटघाट भइसकेको एउटै सगोत्री हौं भन्ने आत्मीयपूर्ण वार्ता भयो। त्यही बेला हामीले सामूहिक तस्बिर पनि खिच्यौं।
त्यो भ्रमण दलका सदस्यहरू मन्त्रीज्यूलाई हतार गराउँदै थिए। फलहारी बाबाले हतार नगर्नुस्, प्रतीक्षा गर्नुस् भनी हात समातेर प्रेमिल सद्भाव दर्साएर रोक्न खोज्दा पनि रोकिनु भएन उहाँ। खुला परिसर हिउँ बाटोबाट झिलिकमिलिकमै बिदा ग¥यौं। यज्ञकुण्ड प्रवेश नगरी, किरातेश्वर युमा माङहिम र किरात शिला मुजोःलुङ माङलुङ नै दर्शन नगरी फटाफट हिँड्नु भयो। उहाँहरू हेलिकप्टर चेढेको केहीबेरमै फलहारी बाबाले भन्नुभयो, ‘डा.साहेब नर्मस छायो चिन्ताले छोप्यो।’
त्यही बेला पूजारी डिल्लीरमण आचार्यको मोबाइलमा खबर आयो–पाथीभराबाट उडेको हेलिकोप्टर क्षतिग्रस्त भयो।’ हामी दुःखी भयौं, ‘लौ मन्त्री टोली ७ जना बाँचेनन् भन्ने विश्वासपूर्ण संकटको शंका ठहरायौँ। विदाइपछि यज्ञमण्डपमा सेवा, किरात युमामाङहिम र किरातेश्वर शिला सावायेत्हाङ मुजोःलुङ दर्शन गरी पुजारी कक्षमा चियापानी पिई, आगो तापी, जीउ तताई मनमा चिन्ता गर्दै ओरालो झर्दा विचराहरू बीच बाटोको ढुङ्गेभिरमा धुवाँ फुसफ¬साइरहेको दृष्य देखियो। आँखामा तपतप आँसु झरेर आत्मा थाम्न गारो भयो। हामी ५ जनाले ७ जनालाई बिदा दिएको काठमाडौंसम्मलाई मात्र थियो तर उहाँहरू हतारमा कतार मात्र होइन स्वर्ग लोकमा पुग्नु भएछ।
त्यस पुण्य सात मोक्ष मुक्ति ठाउँ साविक फुरुम्बो गाविस–३, हाल फुङलिङ नपा–१० माङयुङ गाउँको सिरान पहराभीर जंगलमा पर्दछ। त्यसलाई माङयुङ भीर–रविन्द्र स्वर्गारोहण पहरा भने हुन्छ। डाँडामा बसेकी पाथीभरा देवी साक्षात, शक्तिशाली, जेठी माता र जेठी माताझैं २ तहगत कान्छी फेदी, अन्तिम जेठी टुप्पोमा विराजमान किरात हाङसाममाङको काखमा सप्तम ऋषिझैं ७ जना देशभक्ति र देवीभक्तिभक्तिहरू देहावसान हुँदा माथि स्वर्गमा संख्या बढे पनि मत्र्यलोकमा संख्या घट्नुले अपुरणीय क्षति भएको छ। यसमा पनि ५० वर्षे रविन्द्र अधिकारीसँग पोखरेली नागरिक र सारा नेपाली जनताले अनगिन्ती अपेक्षा राखेका थिए। तर राष्ट्रले होनहार राष्ट्रभक्त युवाहरू गुमाएको छ। राष्ट्र शोकमा डुबिरहेका बेला शोक सन्तप्त परिवारप्रति सम्वेदना र मृतात्माहरूको चीर शान्तिको कामना परमात्मा परमेश्वर तागेरा निङवाभूमाङसँग प्रार्थना गर्दछु।
जीवन पानीको फोका हो, पलपलमा फुट्न सक्छ ,
जीवन दुई दिने चोला हो, छिनछिनमा टुट्न सक्छ।
जन्मने, हुर्कने, जाने, सृष्टि–विकास–संहार यी ३ त्रितत्व, त्रिगुण, त्रिवतार, त्रिलोक, सदासर्वदा सर्वेसर्वा भइ रहने विधिको विधान प्रकृतिको अकाट्य नियम हो। जो जन्मिन्छ, ऊ मर्छ, जो जन्मदैन त्यो मर्दैन। पाथीभराको चिसो हिउँले कक्रिएको हेली, तताउँदा भ्रष्ट हुनु ज्ञान, विज्ञान, अज्ञान र अनजानलाई मनमा अनेक खालका बहानामा घुमाउनुभन्दा वा मद, मंस, मासुसँग जोड्नुभन्दा दैव इच्छा दैविक क्रन्दनको अनुदान, भगवान्को वरदान दया मायाले चाँडो स्वर्ग हुनु भएको विश्वासका साथ ‘जन्मपछि मरण–भेटपछि विछोड हो’ भन्दै पत्रान्तमा लेखनाथ पौडेलको काल महिमा स्मरण गर्न गराउँछु।
भाका, भूल दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो
इन्द्रै विन्ति गरून् झुकेर पदमा, त्यो विन्ति मान्दैन त्यो।
थुप्रोमा उधिनी मिठो र नमिठो छुट्याई छान्दैन त्यो
खाता जाँचि सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो।।
प्रकाशित: २५ फाल्गुन २०७५ ०५:१५ शनिबार