२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

उर्फ नेपालगन्ज... अनियमित विद्युत् आपूर्तिले थप सास्ती

बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढिरहेका बेला अनियमित विद्युत् आपूर्तिले सर्वसाधारण थप सास्तीमा परेका छन्। नेपालगन्जको तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको अवस्थामा दिनहुँजसो विद्युत् आउने–जाने समस्या बढेपछि नागरिकस्तरबाट दबाब सुरु भएको छ।

नेपालगन्ज देशकै सबैभन्दा बढी गर्मी हुने क्षेत्रमध्ये पर्छ। यहाँ हरेक वर्ष जेठ सुरु भएसँगै तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथिसम्म पुग्ने गरेको छ। यस्तो अवस्थामा पंखा, कुलर, फ्रिज, पानी तान्ने मोटरलगायतका उपकरणको प्रयोग अत्यधिक बढ्ने भएकाले विद्युत् खपत पनि बढ्छ। तर, हरेक वर्ष दोहोरिने यही अवस्थालाई ध्यानमा राखेर समयमै पूर्वतयारी नगरिएको भन्दै स्थानीयले प्राधिकरणप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

स्थानीयवासीका अनुसार केही दिनयता दिनभरि पटक–पटक विद्युत् जाने समस्या बढेको छ। कतिपय स्थानमा रातिको समयमा लामो समयसम्म विद्युत् अवरुद्ध हुँदा सुत्नसमेत समस्या भइरहेको उनीहरूको गुनासो छ। अत्यधिक गर्मीका कारण बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरू सबैभन्दा बढी प्रभावित बनेका छन्।

नेपालगन्ज–१० का स्थानीय व्यवसायी रमेश गुप्ताले गर्मीका बेला नियमित विद्युत् नहुँदा व्यवसाय नै प्रभावित भएको बताए। “पसलमा ग्राहक बस्नै सक्दैनन्। इन्टरनेट चल्दैन, कम्प्युटर बन्द हुन्छ। दिनहुँ काम प्रभावित भइरहेको छ,” उनले भने।

त्यस्तै, नेपालगन्ज–१८ की गृहिणी सुष्मा थापाले रातिको समयमा पटक–पटक लाइन जाँदा परिवारका सदस्य सुत्न नसक्ने अवस्था रहेको बताइन्। “पानी तान्ने मोटर चल्दैन। गर्मीले बच्चाहरू रातभर छटपटाउँछन्,” उनले भनिन्।

नागरिक अगुवाहरूले समस्या हरेक वर्ष दोहोरिने भए पनि दीर्घकालीन समाधानतर्फ प्राधिकरण गम्भीर नदेखिएको आरोप लगाएका छन्। उनीहरूले ट्रान्सफर्मरको क्षमता विस्तार, पुराना लाइनको मर्मत, वैकल्पिक आपूर्ति व्यवस्था तथा व्यवस्थित लोड व्यवस्थापनको योजना समयमै कार्यान्वयन हुनुपर्ने बताएका छन्।

बुधबार नागरिक सरोकार मञ्च बाँकेको नेतृत्वमा नागरिक अगुवाहरूले नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्र पुगेर विद्युत् सेवा नियमित गर्न मागसमेत गरेका छन्। मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठ नेतृत्वको टोलीले वितरण केन्द्र प्रमुख संजयकुमार मिश्रलाई भेटेर अत्यधिक गर्मीका बेला भइरहेको अनियमित कटौतीले नागरिकको दैनिक जीवन प्रभावित भएको गुनासो गरेको हो।

नागरिक अगुवाहरूले गर्मीको समयमा नेपालगन्जमा विद्युत् आपूर्ति नियमित हुनु अत्यावश्यक भए पनि पटक–पटक विद्युत् अवरुद्ध हुँदा सर्वसाधारण रातभर जाग्राम बस्न बाध्य भएको बताएका छन्। उनीहरूले विद्युत् अवरोधका कारण खानेपानी, इन्टरनेट, व्यवसाय, अध्ययन–अध्यापन तथा स्वास्थ्य सेवासमेत प्रभावित भइरहेको उल्लेख गरेका छन्।

वितरण केन्द्र प्रमुख मिश्रले भने अत्यधिक गर्मीका कारण विद्युत् माग ह्वात्तै बढेकाले आपूर्तिमा समस्या देखिएको बताएका छन्।

“अहिले विद्युत् खपत अत्यधिक बढेको छ। त्यसैले केही स्थानमा लाइन ट्रिप हुने तथा विद्युत् आउने–जाने समस्या भइरहेको छ,” उनले भने, “कार्यालयको जनतालाई दुःख दिने कुनै नियत छैन। समस्या समाधानका लागि प्राविधिक टोली निरन्तर खटिएको छ।”

स्थानीयले यदि कुनै प्राविधिक समस्या वा मर्मतका कारण विद्युत् कटौती गर्नुपरे त्यसबारे उपभोक्तालाई स्पष्ट जानकारी दिनुपर्ने मागसमेत गरेका छन्।

“घण्टौँसम्म ‘प्राविधिक समस्या’ भनेर लाइन काट्ने तर कहिले आउने भन्ने जानकारी नदिने प्रवृत्ति अन्त्य हुनुपर्छ,” नागरिक सरोकार मञ्चका प्रतिनिधिहरूले बताएका छन्।

स्थानीयका अनुसार अहिले विद्युत् बत्ती बाल्ने सुविधा मात्र नभई आधारभूत आवश्यकता बनिसकेको छ। अस्पतालका सेवा, अनलाइन कक्षा, बैंकिङ कारोबार, सञ्चार सेवा तथा खानेपानी आपूर्ति सबै विद्युत्मै निर्भर भएकाले अनियमित आपूर्तिले जनजीवन अस्तव्यस्त बनाइरहेको छ।

विशेषगरी नेपालगन्जजस्तो अत्यधिक गर्मी हुने क्षेत्रमा विद्युत् व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीयको माग छ। उनीहरूले हरेक वर्ष नागरिकले उही समस्या भोगिरहनु र समाधानका लागि आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन्।

नागरिक अगुवाहरूले सम्बन्धित निकायलाई अब अस्थायी व्यवस्थापनभन्दा दीर्घकालीन समाधानतर्फ ध्यान दिन आग्रह गरेका छन्।

“समस्या हरेक वर्ष दोहोरिन्छ भने त्यसको समाधानका लागि समयमै तयारी हुनुपर्छ। अत्यधिक गर्मीमा घण्टौँसम्म बिजुली काटिनु केवल व्यवस्थापन कमजोरी मात्र होइन, यो जनताको स्वास्थ्य, सुरक्षा र सम्मानसँग जोडिएको विषय हो,” उनीहरूको भनाइ छ।

प्रकाशित: ७ जेष्ठ २०८३ १४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App