केन्द्रीय चलचित्र जाँच पास समितिबाट ‘युनिभर्सल सर्टिफिकेट’ पाएसँगै आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘मितज्यू’ को देशव्यापी अग्रिम टिकट बुकिङ खुल्ला भएको छ।
सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी सेन्सर पास भएको यस चलचित्रले बुधबार बिहानसम्म देशभरका ११ हलमा २८ शो प्राप्त गर्दै आक्रामक सुरुवात गरेको हो।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा जनक घर्ती मगरद्वारा निर्मित तथा अनिल बुढामगर निर्देशित यस चलचित्रले हलहरूमा सुखद सो पाएको छ। एफक्युब चाबहिल, आइएनआईका बुटवल, नयाँ बानेश्वर, सिमरा, लोत्से मल र विश्वज्योतिसहित दाङ, बनेपा र कपिलवस्तुका सिनेमा हलहरूले बुकिङ खुलाइसकेका छन्।
आफ्नो अघिल्लो चलचित्र ‘घरज्वाइँ’को सेन्सर ताका झन्झट बेहोर्नुपरेको स्मरण गर्दै निर्देशक बुढामगरले यस पटक सहजै युनिभर्सल सर्टिफिकेट पाउँदा सम्पूर्ण निर्माण टिम हर्षित भएको बताएका छन्।
ग्रामीण परिवेशको सामाजिक कथावस्तुमा आधारित यस चलचित्रमा अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य अभिनय छ भने चर्चित डान्सर तेरिया फौज मगरले यसै चलचित्रबाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी छन्। चलचित्रमा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा लगायतका कलाकारहरूको समेत सशक्त अभिनय छ।
शिशिर विशंखेको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको ‘मितज्यू’ मा श्रीकृष्ण बम मल्लको संगीत तथा मेलिना राई र लक्ष्मी मल्लको स्वर छ।
हाल चलचित्रमा समावेश ‘गैराघरे काँइली’ र ‘भुनभुन माहुरी’ बोलका गीतहरू टिकटक र युट्युबमा निकै चर्चामा छन्। आरआर फिल्म्सले वितरणको जिम्मा लिएको यस चलचित्रको डिजिटल अधिकार भने ओएसआर डिजिटलले खरिद गरेको छ।
प्रकाशित: ६ जेष्ठ २०८३ १३:०८ बुधबार





